शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

कैलालीमा आँखा पाक्ने रोगको समस्या बढ्दो


पश्चिम प्रेस
शुक्रबार, साउन १२ २०८०
  • 624
    Shares

  • images
    images
    कैलालीमा आँखा पाक्ने रोगको समस्या बढ्दो

    कैलाली । कैलालीमा बालबालिकादेखि अन्य उमेर समूहका व्यक्तिहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विद्यालय अध्ययनरत विद्यार्थी आँखा पाक्ने रोगबाट बढी ग्रसित भइरहेका छन् । 

    विद्यालयमा विद्यार्थी आँखा पाक्ने रोगबाट बढी नै ग्रसित हुन थालेपछि आफ्नो बच्चालाई विद्यालय पठाउन पनि डर लाग्न थालेको स्थानीयको भनाई छ । मौसमका कारण भाइरल इन्फेक्सनको रुपमा आँखा पाक्ने समस्या धेरैमा देखापरिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । धेरै समय चर्को गर्मीपछि पानी पर्दा यस्तो समस्या बालबालिकादेखि वृद्धवृद्धामा पनि देखापरिरहेको स्वास्थ्यकर्मीहरु बताउछन्। आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि उपचार गराउनका लागि स्वास्थ्य संस्थामा पुग्ने पनि बढिरहेका छन् । 

    सहरी क्षेत्रमामात्रै नभई गाउँघरमा पनि यस्तो समस्या बढेको पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताइन् । आँखाको समस्या भएका १०—११ जना सेवाग्राही दैनिक उपचारका लागि पुग्ने गरेको उहाँले उल्लेख गरिन्। आँखा पाक्ने समस्या भएका बिरामीमा आँखा दुख्ने, आँखा रातो हुने, कचेरा आउने, आँखा टाँसिएको हुने, उज्यालोमा आँखा बिझाउने जस्ता समस्या देखिने गरेको जनाइएको छ । भाइरल कन्जङटिभिटिज भाइरसको कारण आँखा पाक्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

    भाइरलको रुपमा यो रोग विभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । आँखा पाक्ने समस्याबाट छुट्कारा पाउनका लागि दुई दुई घण्टामा चिसो पानीले आँखा धुने र औषधि हाल्नु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह छ । यसैगरी, सकेसम्म चश्माको प्रयोग गर्ने बताइएको छ । 

    एक हप्तामा आँखा पाक्ने रोग निको हुने गरेको स्वास्थ्यकर्मीले उल्लेख गरेका छन्। 

     


  • सम्बन्धित विषय:

  • # आँखा पाक्ने रोग
  • प्रतिक्रिया दिनुहोस