महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्ने ढिलाइ गरेको छ । आयोगले २०७८ साउनमै कर्मचारी छनोटको प्रतिस्पर्धा सुरु गर्ने लक्ष्य राखेको भएपनि हालसम्म पनि छनोट प्रक्रिया अघि बढाउन सकेको छैन ।
आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहहरूले कर्मचारी माग नगरेकाले कर्मचारी छनौट प्रक्रिया सुरु गर्न नसकिएको जनाएको छ । प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त विष्टले प्रदेश मन्त्रालय र स्थानीय तहहरूले विवरण नपठाएका कारण प्रक्रिया सुरु गर्न नसकिएको बताए ।
उनले परीक्षा सञ्चालनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन । आयोगलाई चाहिने कानून र पाँचौं तहको लागि पाठ्यक्रमसमेत तयार गरिसकेको उनले बताए ।
कर्मचारी समायोजन ऐनको दफा १२ अनुसार कर्मचारीको माग आकृति फारम भरी पठाइदिन प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहहरूलाई पत्राचार गरिएको भएपनि स्थानीय तहहरुले विवरण उपलब्ध गराएका छैनन ।
स्थानीयतहहरुले विवरण आइसकेपछि त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढ्ने सचिव विष्टको भनाइ छ । आयोगले पहिलो चरणमा राजपत्र अनंकितका लागि विज्ञापन गर्ने तयारी गरिरहेको छ । तर कहिलेसम्म विज्ञापन हुन्छ भन्नेमा आयोगनै अलमलमा छ ।
.gif)