महेन्द्रनगर । भदौ ७ गते नमनाएका ठाउँमा सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदै छ । हिजो गौरा घरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् ।
पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।
बिरुडा पञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान् गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् । व्रतालु महिलाहरूले दिनभरि गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ ।
व्रतालु महिलाहरूले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रूपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरूको टाउको पुज्ने चलन रही आएको छ । यस्तै गौरा पर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ ।
गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। गौरा पर्व पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ।
.gif)