सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द


पश्चिम प्रेस
आइतबार, भदौ ३१ २०८०
  • 699
    Shares

  • images
    images
    आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

    महेन्द्रनगर ।  हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाही नगरिएको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गराएको छ। 

    संघले जारी गरेको विज्ञप्तिअनुसार आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ। 

     गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

    कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

    सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । 

    दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताए । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।


  • सम्बन्धित विषय:

  • # सेवा बन्द
  • प्रतिक्रिया दिनुहोस