शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कोपिला शर्मा कल्पको सन्दुसभित्र एक नजर


शुक्रबार, असोज १९ २०८०
  • 839
    Shares

  • images
    images
    कोपिला शर्मा कल्पको सन्दुसभित्र एक नजर

    सन्दुस सुरक्षाका लागि योग्य वस्तु राखिने एक प्रकारको बाकस हो । जुन वस्तु सुरक्षाका लागि राखिन्छ उक्त वस्तुको गुण त्यत्रिकै महत्वको हुन्छ । त्यसैले होला हाम्री आमा हजुरआमाहरुले धनपैसा, गहना तथा मिष्ठानहरु सन्दुसभित्र सुरक्षित राख्नुहुन्थ्यो । सन्दुस खोलेर आमाले चाँहे एक रुपैयाँको सिक्का होस या एक मिस्री त्यसैमा हामी रामाउँथ्यौँ । हाम्रा लागि सन्दुस आनन्दको पर्यायवाची बन्दथ्यो । त्यही सन्दुसरुपी सुन्दर पेटारभित्रको महत्वपूर्ण खजाना जस्तै साहित्यका क्षेत्रमा हृदय पखाल्ने ओखतीका रुपमा एउटा अर्को सन्दुस सिर्जना गरेकी छन् बागलुङको सुन्दर प्रकृतिमा जन्मिएर सुन्दर सुदूरपश्चिमलाई कर्मभूमि बनाइ साहित्यको सधनामा लागेकी गजलकार कोपिला शर्मा कल्पले । 
    सन्दुस रित्तो पेटार होइन, बरु अतीतको सम्झना, वर्तमानको यथार्थ र भविष्यको परिकल्पनामा सजिएको त्रिवेणी हो, जसमा गजलका पारखीहरुले एक पटक स्नान गरेमा मनको मैलो अवश्य पखालिएला । अतीतले आफ्नोपन सम्झाउला, वर्तमानले संघर्ष सिकाउला र भविष्यले परिवर्तनको इच्छा जगाउला, समग्रमा भन्नुपर्दा सन्दुसभित्रका गजलहरुले वर्तमान समाजका विकृति, विसङ्गतिहरु विरुद्ध खरो उत्रिएर सुन्दर भविष्यका लागि सकारात्मक परिवर्तनको मार्ग खोजेका छन् । 
    समय परिवर्तनशील छ, हिजोको संघर्ष आजका लागि प्रयाप्त छैन्, यसकारण हामीले समयको मागसँगै अझ धेरै संघर्ष गर्न सकेमा मात्र हाम्रा सपना पुरा हुन सक्छन् भन्ने भाव सन्दुसभित्रको पहिलो गजलबाट यसरी प्रस्तुत भएको छ ः 
    भोलि जस्तै हिजो फर्केर आज आएन
    सन्दुस बेचेको पूरै पैसाले आज दराज आएन  
    गजल कुनै एउटा विषयमा कविता, निबन्ध, कथा लेखिएजस्तो विधा होइन, यसमा हरेक सेर आफैमा पूर्ण हुन्छ । यसकारण एउटै गजलमा थुप्रै विषयसन्दर्भका कुराहरु जोड्न सकिन्छ । जगलकार कोपिलाले पनि हरेक सेरलाई आफैमा पूर्ण बनाउन सफल भएकी छिन् । जीवनमा नाता, सम्बन्ध, हाँसो खुसी, माया, प्रेम, धन, सम्पत्ती, शिक्षा सबैथोक आवश्यक छ तर विडम्बना मान्छे पूर्ण कतैबाट पनि छैन । मान्छेको जीवन विसङ्गतिपूर्ण छ र पनि संघर्षका साथ भोलिको सुन्दर सपनामा जीवन जिउनुपर्छ । यिनै विविध विषयवस्तुमध्ये प्रेम पनि जीवनको एक महत्वपूर्ण पक्ष हो तर श्वार्थले मान्छेलाई यतिसम्म डुबाएको छ कि आफूलाई आवश्यक हुँदा मान्छेले मर्न तयार भएजस्तो देखाउने तर श्वार्थपूरा गरेपछि टेडो आँखाले पनि नहेर्ने, झुटा बाँचाकसम गर्ने प्रवृत्तिको चित्रण गजलमा यसरी भएको छ ः 
    हार ल्याउँछु भन्दै मङ्गलसुत्र लगेको थियो
    उतै नाता जोडेछ धोकेबाज फर्केर आएन
    सम्पत्तीमा सबैको हाइहाइ विपत्तीमा कोइ छैन दाजुभाइ भनेजस्तै जीवन सहजताका साथ चलिरहेको बेला सबैले हेर्छन्, ओराली लगोको मृगलाई बाच्छीले लखेटेझैँ आफू असहज परिस्थितिमा रहँदा मानिसहरुले मलहम लगाउनुको साँटो झन् अफ्ठ्यारोमा पार्न खोज्ने मानवीय प्रवित्ति गजलका सेरमा यसरी प्रस्तुत भएको छ ः 
    हजुर सधैँ यस्तै यस्तै मौका पारेर किन आउनुहुन्छ
    मैले श्वास फेर्न नसकेको बेलामै घाँटी समाउनु हुन्छ 
    साहित्य समाजको ऐना हो । कुनै पनि लेखकले आफ्नो जीवन मात्र होइन, आफूसँगै समाजलाई पनि बोकेको हुन्छ । समाज कुन अवस्थामा छ ? उक्त अवस्थामा समाज किन पुगेको हो ? र यसलाई कसरी सद्मार्ग र उन्नतिको बाटोमा लगाउन सकिन्छ भन्ने कुरा साहित्यले बोक्न सक्नुपर्दछ । जगलकार कोपिला शर्मा कल्पले पनि आफ्नो लेखकीय धर्म निभाएर वर्तमान समाजको चित्रण गर्नुका साथै आँखा अगाडिका विकृति, विसङ्गतिहरुलाई हटाउनका लागि व्यक्ति, समाज र राज्यलाई गजलका सेरहरु मार्फत् घचघच्याएकी छन् । वर्तमान समयका युवाहरुको पलायन देशको सबैभन्दा ठूलो समस्या हो । युवाहरुलाई देशमा रोक्न नसकिए विकास र समृद्धिका कोरा गफ दिनु बेकार हो भन्ने कुरालाई गजलका सेरहरुमा यसरी प्रस्तुत गरेकी छन् ः
    हो समृद्धि नाराभन्दा पहिला भोक सोच्नुपर्छ
    र त युवाले देश बोक्ने बेला पासपोर्ट बोक्नुपर्छ
    समय अनुसार समाज र संस्कृति पनि परिवर्तनशील छ । संस्कृति भन्दैमा सबै कुरा राम्रा नै हुन्छन् भन्ने हुँदैन । विगतका दिनमा केही जानेर, केही नजानेर हाम्रा पुर्खाहरुले गरेका गल्तिहरुलाई हामीले सच्याउँदै जानुपर्छ । पितृसत्तात्मक सोचमा चल्दै आइरहेको समाजमा नारीहरुले थुप्रै पीडाहरु भोग्दै आइरहेका छन् । जसका लागि आजका नारीले त्रान्ति गरेर अघि बढ्नुपर्दछ । हाम्रो समाजमा रहेका बोक्सी, छाउपडी, दाइजोप्रथा जस्ता अत्याचारहरु हटाउन नारीले कमजोर भएर होइन बरु एउटा अस्त्रका रुपमा अगाडि बढेर सुन्दर समाज निर्माणमा पुरुषसँगै सहयात्रीका रुपमा अघि बढ्नुपर्छ भन्ने सन्देश कोपिलाका गजलमा देखिन्छन् । हिन्दु समाजभित्र रहेको छाउपडी प्रथालाई हटाउनका लागि नारीहरु आफैले क्रान्ति गर्नुपर्छ भन्ने भाव सन्दुसभित्रका गजलका सेरहरुमा यसरी प्रस्तुत भएको छ m
    फूल होइन घन बनेर लड्नु छ कोपिला
    तँ फुल्दा छाउगोठ राख्ने चलनसँग
    त्यसैगरी समाजमा रहेको जातीय, लैङ्गिक तथा वर्गीय विभेदका कारण मानिसहरुले कसरी पीडा भोग्दै आएका छन् र त्यसबाट मुक्त हुनका लागि व्यक्ति, समाज र राज्य जिम्मेवार हुनपर्ने कुरालाई गजलहरुमा सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ । हाम्रो समाजको कलंकको रुपमा रहेको छुवाछुत प्रथाका कारण मानिसले बस्नका लागि बास सम्म नपाउने स्थितिको चित्रण सन्दुसभित्रका गजलमा यसरी भएको पाइन्छ ः 
    कोठा खाली थियो जानी जानी दिएन
    नामसँगै थर सोध्यो र पानी दिएन
    सत्तामा नपुगुन्जेल मिठामिठा भाषण गर्ने तर सत्ता र शक्तिमा पुगेपछि आफैले मत दिएर माथि पुगाएमा जनप्रतिनिधिहरु श्वार्थपूर्तीमा लाग्ने वर्तमान राजनैतिक विकृतिहरु यसभित्रका गजलमा प्रस्तुत भएका छन् । जनताको कर पसिनाबाट आफू मोजमस्ती गर्ने र जनताको दुःख पीडाहर नहेर्ने तथा मत माग्दा घरघर पुग्ने सत्तामा पुगेपछि गाउँ नफर्किने नेताहरुप्रति गजलका सेरबाट यसरी व्यङ्ग्य गरिएको छ ः
    अमेरिका चीन कहाँ कहाँ पुग्छ सरकार
    तर पुग्दैन मुगु हुम्ला र अछाम म के भनौँ 
    यसरी समग्रमा भन्दा प्रेम, राजनीति, समाज, धर्म, संस्कृति लगायतका विविध विषयक्षेत्रका विकृति विसङ्गतिहरुको चित्रण गरी सुन्दर समाज निर्माणको अग्रहभाव बोकेका गजलहरु सय गजलसंग्रहमा प्रस्तुत गरिएका छन् । प्रगतिवादी चिन्तन, राष्ट्रियता, मानवता तथा भवनात्मक गहनता बोकेका गजलहरुले यस संग्रहलाई साँच्चिकै गुणग्रही कृतिका रुपमा ओझपूर्ण बनाएको पाइन्छ।  
    गजलका आधारभूत मान्यताहरुभित्र रही सुन्दर गजल सिर्जना गर्ने क्षमता यसमा रहेका गजलबाट प्रष्ट देखिन्छ । काफीया, रदीफ तथा तखल्लुसको सुन्दर संयोजन र लयको मधुरताले यसमा रहेका गजलहरु उत्कृष्ट र मिठासपूर्ण बनेका छन् । त्यसैगरी विम्ब, प्रतीकको प्रयोग, साहित्यका तिनओटै शव्दशक्तिको प्रयोगले हरेक गजलहरु पाठकको मन छुनेछन् भन्ने कुरामा दुईमत छैन । यसत्रिका गजलहरु पढ्दा  विषयवस्तु, सिद्धान्त तथा कलात्मकताले भरिपूर्ण गजलहरुले यस कृतिलाई नेपाली साहित्यको गजल विधामा संख्यात्मक मात्र नभएर गुणात्मक रुपमा पनि एक इटा थपेको महशुष हुन्छ । समग्रमा नेपाली गजल साहित्यमा एक महत्वपूर्ण कृतिका रुपमा सन्दुस गजल संग्रह पाठकहरुका लागि खुराक बनेको छ। नेपाली साहितयमा सन्दुसले महत्वपूर्ण खजाना आफूभित्र संग्रहित गरेको छ ।  




    प्रतिक्रिया दिनुहोस