कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल भित्रको ‘क्यान्टिन’ मै बासी तथा अखाद्य खानेकुरा बिक्री हुने गरेको पाइएको छ।
हिजो (सोमबार) गरिएको अनुगमनमा अस्पताल भित्रै रहेको क्यान्टिनमा बासी र अखाद्य खानेकुरा फेला पारिएको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए।
अखाद्य खानेकुरा बिक्री गरेर बिरामी, बिरामी कुरुवा लगायत सर्व(साधारणलाई ठगिरहेको जनगुनासो पछि धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले अस्पताल भित्र र परिसरमा रहेका तीन होटेलबाट बासी तथा अखाद्य खानेकुरा बरामद गरेको हो।
सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसलबाट बिग्रिएको ४० थान मःम, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरिएको कुखुराको मासु तीन केजी बरामद गरिएको समितिका संयोजक भट्टले बताए ।
क्यान्टिन संचालकलाई ७ दिनभित्र सुधार गर्न चेतावनी दिएर पहिलो पटक कानुनी कारबाही भने नगरिएको उनको भनाई छ।सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग(अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिजरडिप फ्रिज छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
यसैगरी भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात, कुखुराको बासी मासु ५०० ग्राम, बासी रोस्ट ५०० ग्राम र डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको उनले बताए।
सेती प्रादेशिक अस्पताल लगायत धनगढीका निजी अस्पताल परिसर र नजिकका विभिन्न होटेलहरुमा बासी खाना र अखाद्य खानेकुरा बिक्री हुने गरेको स्थानीयहरूको गुनासो छ।
अस्पताल परिसर र छेउछाउका अन्य होटेलमा पनि अनुगम गरिने अनुगमन समितिका संयोजक भट्टले जानकारी दिए। अनुगमनलाई निरन्तरता दिएर बासी तथा अखाद्य खानेकुरा बिक्री गर्ने जोकोहिलाई पनि कारबाही गरिने उनले जनाए।
.gif)