शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

विश्वव्यापीकरण र डोटेली भाषा


बिहीबार , फागुन ५ २०७८
  • 1.8K
    Shares

  • images
    images
    विश्वव्यापीकरण र डोटेली भाषा



    वर्तमान शताब्दीमा विश्व्वापीकरण 
     पुनर्जागरण पश्चात युरोपमा देखिएको साम्राज्य विस्तारको उत्कट आकांक्षाले युरोपीयहरूलाई एसिया र अफ्रिकाका समृद्ध राज्यहरू कब्जा गर्न मात्र अभिप्रेरित गरेन बरु युरेसियाको मानव संज्ञानमैं नआएका अमेरिका र ओसिनिया जस्ता नयाँ र अक्षत भूखण्डहरूको खोज एवं त्यहाँ पनि आफ्नो औपनिवेशिक वर्चश्व विस्तार गर्न घच्घच्याई रह्यो । धेरैको मतमा विश्वव्यापीकरण या भूमण्डलीकरणका जराहरू खोतल्दैं जाँदा त्यहाँ सम्म पुग्न सकिन्छ । तर कतिपयका मत अनुसार यी परिघटनाहरू भन्दा सहस्राब्दियौं पहिले जब मानव जातिले उचित एवं सुरक्षित वासस्थानको र सहज खानाको खोजीमा यायावर जीवन व्यतित गर्ने कबिलाई संस्कृति भएका पितृ मानवहरूकै समयमा यसको आधारशिला रहिसकेको पाइन्छ । तर वर्तमान शताब्दीको भूमण्डलीकरण ठोस आधारशिला द्वितीय विश्वयुद्ध पछिको दुइ ध्रुवमा विभाजित विश्वमा अमेरिकी निकट विश्वशक्ति राष्ट्रहरूको मन्त्रणा पश्चात राखिएको पाइन्छ भने नब्बेको दशकमा भएको सोभियत संघको पतन र विश्व समाजवादी आन्दोलनमा आएको प्रतिरक्षात्मक शिथिलताले यसलाई तेस्रो विश्वका देशहरुसम्म सहजै पुर्याएको पाइन्छ । जे सुकै भए पनि भूमण्डलीकरण आजको यथार्थ हो र यसका सकारात्मक र नकारात्मक असरहरूबाट अछुतो रहनु सहज छैन । आदि कालदेखि नै मानव सभ्यताको इतिहासको सौन्दर्य नै कुनै सभ्यता माथि बाहिरियाहरूको आक्रमण या आगमन, र बाह्य संस्कृति र संस्थापन संस्कृतिको अन्तरक्रियात्मक सम्बंधबाट उत्पन्न नवीनतम संस्कृतिहरूको जन्म रहेको छ ।  यदि अठारौं र उन्नैसौं शताब्दीको ब्रिटिश साम्राज्यको बिस्तार र सो सँगै विश्वका कतिपय देशहरुमा देखिएको संस्कृतिक र भाषिक परिवर्तनले यस कुरालाई धेरै हदसम्म पुष्टि समेत गर्दछ । 


     वर्तमान शताब्दीमा सूचना प्रविधिमा भएको क्रान्तिकारी विकासका कारण विश्वव्यापीकरणले पनि त्वरित गति लिएको पाइन्छ । स्याटेलाइट टेलिभिजन र इन्टरनेट प्रविधिले आम जनतालाई वैश्विक सूचना संजालसँग सहजै पुर्याईदिएको मात्र हैन यसले बहुराष्ट्रिय कम्पनीहरूलाई आक्रामक बजार विस्तार गर्न समेत सहायता गरिरहेको छ । सार्वभौम राष्ट्रहरूलाई बजारको मध्यमबाट एक ठाउँमा ल्याउने र पुँजीको निर्बाध संचरण वर्तमान विश्व्यापीकरणको अन्तर्य मानिने गरिएको छ । संस्कृतिक अध्येताहरूले भने यसलाई चुनौती र अवसर दुबैका रूपमा हेर्ने गरेका छन् । कतिपयले विश्व्यापीकरणलाई पश्चिमाकरण वा अमेरिकीकरणको छद्म रुप समेत मान्ने गरेका छन् । उनीहरूको मतमा यसले वैश्विक उपभोक्ताको निर्माण र संस्कृतिक विविधताहरूको न्यूनीकरण गर्ने गर्दछ । जहाँसम्म संस्कृति र भाषाको प्रश्न छ विश्वव्यापीकरणले सूचना र मनोरंजनका वृहद परियोजनाहरू निर्माण गरेर संस्कृतिक वर्चश्व स्थापित गर्न अभियान संचालन गरेको हुन्छ । जसले गर्दा विश्वका विविध भाषा बोल्ने तत्तत साँस्कृतिक पृष्ठभूमिका मानिसहरूमाथि वर्चश्वशाली भाषा र संस्कृतिको परोक्ष शोषण रहेको हुन्छ ।


    विश्वव्यापीकरण र भाषा
     भाषामा विश्वव्यापीकरणले ल्याउने प्रभावलाई फिलिप्सनले भाषिक साम्राज्यवादको संज्ञा दिएका छन् । यो यस्तो परिघटना हो जसमा एउटा शक्तिशाली भाषाले अन्य बहुसंख्यक भाषाहरुमा बाल्ट अधिपत्य जमाउनु नै भाषिक साम्राज्यवाद हो र यो सम्राज्यवादका अन्य प्रारूपहरूका लागि आधारभूमि तयार पार्ने आरम्भिक प्रक्रिया हो । अन्तोनियो ग्राम्चीको वर्च्वश्ववादी अवधारणामा आधृत प्रतीत हुने यसविश्लेषण अनुसार यस्ता परिघटनाले भाषिक परिवर्तन र भाषिक मृत्यु जस्ता परिणाम ल्याउन सक्ने भएकाले यसप्रति सजग रहन अध्येताहरू भन्ने गर्दछन । विश्वमा हाल अंग्रेजी, स्पेनिस र फ्रेन्च जस्ता शक्तिशाली विश्व भाषाहरूको दबंग उपस्थितिले सीमान्तीकृत अवस्थामा रहेका भाषाहरूलाई झनै कुनामा ठेल्ने आशंका व्यक्त गरिंदै आएको छ । नेपाल भौगोलिक दृष्टिले सानो भए पनि भाषिक, संस्कृतिक रूपले समृद्ध राष्ट्रहरूको सूचीमा पर्दछ । एथ्नोलग २००५ को तथ्यांक अनुसार देशमा विभिन्न भाषा परिवारका १२६ भाषाहरूको उपस्थिति रहेको छ जस मध्ये बहुसंख्यक भाषाहरू लोप हुने अवस्थामा पुगिसकेका छन् । प्रसिद्ध भाषाशास्त्री डेभिड क्रिस्टलले यसरी जनमानसमा प्रचलित भाषा लोप हुने स्थितिमा पुग्नु अथवा भाषिक मृत्युको अवस्थालाई पुरापुर सभ्यता नै हराउनु भनेका छन् र यस प्रति सबैको चासो हुनु पर्ने र यसले सबैको घाटा हुने उनको मत रहेको छ ।


    नेपालमा भाषिक वर्चस्वको अवस्था
     नेपालको परिप्रेक्षमा दुइटा भाषिक वर्चश्वका प्रवृत्तिहरू भेट्टाउन सकिन्छ, पहिलो राज्यको अधिकारिक भाषाका रूपमा रहेको नेपाली भाषा र अन्य रैथाने भाषा बिचको अन्तर्सम्बन्ध हो भने दोस्रो दोस्रो आम जनमानसमा लोकप्रिय भैसकेका अंग्रेजी र अन्य विदेशी भाषा र नेपाली बिचको सम्बन्ध । यी दुवै प्रवृत्तिहरूमा औपचारिक प्रयोगका कम अवसरहरू प्राप्त भाषा बलियो भाषाको पेलानमा पर्ने र लोप हुने अवस्थासम्म धकेलिन पुग्ने आशंकाहरू गरिंदै आएका छन् । हालका वर्षहरूमा नेपालको भाषिक संकथनको प्रमुख विषयवस्तुका रूपमा ’नेपाली भाषाको कारणले गर्दा अन्य कम वक्ताहरू भएका भाषाहरूको मृत्युको आशंका’ रहने गरेको पाइएको छ । यस्तो अवस्थामा नेपालीले आफ्नो थाप्लोमा भाषिक हत्याको दोष थाप्नु पर्ने मतहरू सार्वजनिक हुदै आइरहेका छन् । विगत हेर्दा नेपाली राज्य संरक्षित भाषा भएकोले यसको ज्ञान र सीपको अनिवार्य आवश्यकताले अन्य भाषाका वक्ताहरुमा आफ्नो मातृभाषाप्रति उदासीनता देखिनु र राज्य समेतले अन्य भाषाको विकासप्रति उपेक्षाभाव दर्शाएका कारण यस्ता तर्कहरूले बल पाएका हुन् । हाल देशमा कतिपय अल्पसंख्यक भाषाहरूको अवस्था लोप हुनुको संघारमा हुनुको पछाडी ति भाषाहरू राज्यबाट सीमान्तीकृत अवस्थामा राखिनु र तिनका वक्ता या ज्ञाता मात्रै हुनुले कुनै अवसरको द्वार खोल्न नसक्नु प्रमुख कारणको रूपमा रहेको छ । फेरी विगतको एक भाषिक नीति र अन्य भाषाहरू प्रतिको हेपाहा दृष्टिकोणले गैर नेपाली भाषी आमजनमा एक प्रकारको भाषिक सन्त्रास रहेको तथ्य वर्तमानका कैयन आन्दोलनहरूको अन्तरवस्तु केलाउंदा समेत पुष्टि हुन्छ ।  तर हेक्का राख्नु पर्ने अवस्था के छ भने भाषिक साम्राज्यवाद र भाषिक मृत्युका परिघटनाहरू नितान्त नेपाली हैनन् । विश्वमा बोलिने भनिएका लगभग साढे छ हजार भाषाहरू मध्ये अधिकांश एक्काइसौं शताब्दीको अन्त्यसम्म लोप हुने युनेस्कोको भविष्यवाणीले भाषिक बहुलताको अवधारणालाई ठुलो खतरा पैदा गरिदिएको छ । एउटा भाषा लोप हुनु भनेको त्यससँग अन्योन्यास्रित रूपमा जोडिएको साँस्कृतिक विरासत लोप हुनु हो । र साथै मानव सभ्यताले परापूर्व कालदेखि आर्जित गरेको व्यवहारिक ज्ञानको सम्पती लोप हुनु हो । नभन्दै यस्ता परिघटना मानव सभ्यताकालागि अपूरणीय क्षति हुन् किन भने ती विलुप्त भाषा या संस्कृतिसँग कुनै मानव समाजोपयोगी यस्तो ज्ञान हुनसक्छ जो भविष्यमा कुनै न कुनै रूपमा कामलाग्न सक्छ ।


     नेपालको सन्दर्भमा पनि देशमा हाल बोलिने गरेका सय बढी भाषा लोप हुनुको संघारमा रहेका छन् । सामान्य अर्थमा हेर्दा यो एउटा सामान्य घटना नै हो या यसलाई प्राकृतिक न्यायको स्वाभाविकताको रूपमा पनि हेर्न सकिएला तर भाषावैज्ञानिक दृष्टिले कुनै देशको भाषिक सम्पदा मसिनुले दूरगामी प्रभाव राख्दछ । यसले समाजको मनोविज्ञानमा पुरÞ्याउने नकारात्मक असरले भाषा र संस्कृति गुमाएको समुदायलाई युगौं लामो अवसाद र क्षोभ दिन सक्छ । 


     फिलिप्सनले भाषिक साम्राज्यवादका केही असरहरू औंल्याएका छन् । यसका कारण मौलिक भाषाहरू उपेक्षाका शिकार हुन्छन् र  बिस्तारै लोप भएर जान्छन्, स्थानीय धर्म संस्कृति लोप हुने खतरा त आउँछ नै यसभन्दा पनि ठुलो जोखिम भनेको यसले ल्याउने सामाजिक स्तरीकरणको समस्या हो । वर्चश्वशाली भाषा राम्ररी बोल्न सक्ने र यस भाषामा भनेजस्तो पकड नभएकाहरूले समाजमा विभिन्न प्रकारका वर्गहरू निर्माण गर्ने र यसले समाजको बहुसंख्यक तप्का शक्तिशाली भाषामा पकड भएका सीमित मान्छेहरुको शोषणमा पर्ने जोखिम समेत यस घटनाले निम्त्याउन सक्छ । वर्चश्वशाली भाषा शोषणको हतियार बन्न सक्ने समेत फिलिप्सनको मत रहेको छ । 


     यदि नेपालको परिप्रेक्षमा कुरा गर्ने हो भने देशको एकीकरण पश्चात् एक नेपाली भाषा स्वतःस्फूर्त रूपमा वर्चश्वशाली भएर आयो । यसका दुई कारण थिए, एक त यो शासक वर्गको भाषा थियो भने अर्को कानुनी रूपमै नेपाली भाषाको विशेषाधिकार सुनिश्चित गरिएको थियो । विशेषगरि जनजातीय भाषाहरूप्रति तत्कालीन राज्यको विभेधात्मक व्यवहारका पर्याप्त उदाहरण पाइन्छन् । लिम्बु अधिकृतले आफ्नो भाषामा किपट प्रतिवेदन बुझाउँदा आइन्दा लिम्बु भाषा लेखे मार्ने आदेश रणबहादुरले दिएका थिए (राजालिम, २०१४) । त्यस्तै राजालिमले विभिन्न स्रोतहरू उद्धृत गर्दै सन् १९५८ मा नेपाली बाहेक अरु भाषा प्रयोग गर्न नपाउने श्री ३ जंगबहादुरले घोषणा गरेको, सन् १८५३ को मुलुकी ऐनले भोट हिमाली भाषाहरूलाई मतवाली र गँवारहरूको भाषा भनेर कानुनी रुपमै अवहेलना गरिएको र चन्द्रशमशेरले सन १९२१ मा गैर नेपाली भाषालाई अदालतमा मान्यता नदिने घोषणा गरेको उल्लेख गरेका छन् । 


    डोटेली भाषा 
     वि.सं. २०६८ पछि उल्लेख्य रूपमा देखा परेको डोटेली भाषालाई नेपालका भाषा वैज्ञानिक अध्ययनहरूमा लामो समय नेपाली भाषाका विभिन्न पश्चिमी भाषिक भेदहरूका रूपमा पहिचान गरिँदै आयो । विशेष गरेर २०४६ मा प्रजातन्त्रको पुनर्प्राप्तिपछि विशेष गरेर सुदुरपश्चिमको सहरी क्षेत्रहरूमा देखा परेको भाषिक जागरण पश्चात डोटेलीले भाषाको मान्यता प्राप्त गर्यो । स्थानीय स्तरमा चलेका विमर्श र तिनले जन्माएको भाषा आन्दोलनकै परिणामस्वरूप तत्कालीन सरकारले २०५७ असार ७ गते डोटेलीलाई राष्ट्रिय भाषाको मान्यता दियो र त्यसको केही समयपछि रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रले डोटेली भाषामा समाचार प्रसारण गर्न थाल्यो । 


     तर सरकारले गरेको उक्त फैसलाको असर भाषिक शोध सम्बन्धी काम गर्ने आधिकारिक संस्थानहरू हुने भाषावैज्ञानिक विमर्शहरूमा भने परेन र लामो समय यसको अध्ययन केन्द्रीय नेपाली भाषाकै अधीनस्थ बोलीको रूपमा भइरह्यो । वि.सं. २०६८ को जनगणनामा पहिलोपल्ट सुदूरपश्चिममा उल्लेख्य सङ्ख्यामा डोटेली भाषीहरूको तथ्यांक देखा परेको छ र २०५८ को जनगणना अनुसार प्रतिशतमा सर्वा्धिक नेपाली भाषी रहेको जिल्ला डडेल्धुरामा नेपाली भाषीको संख्या स्थानीय भाषा बोल्नेको तुलनामा निकै कम देखिएको छ । यो हालका दिनहरूमा आएको भाषिक जागरणको परिणाम हो ।


     केन्द्रीय तथ्यांक विभागका आँकडाहरूले डोटेली भाषा अचानक थपिएर आएको भाषाको रूपमा हेरिरहेको छ । यसलाई धेरैले पहिचानको आन्दोलन चलिरहको पृष्ठभूमिमा आफ्नो पनि फरक पहिचान खोज्ने सुदूरपश्चिमको मिथ्या प्रयासका रूपमा समेत अर्थयाएका छन् । नेपाली भाषाको विकासक्रमबारे विद्यमान यावत धारणाहरू नेपाली भाषा पश्चिमबाट पूर्वतिर सर्दै गएका खस र आर्यहरूले विकसित गरेकोमा मोटामोटी सहमत रहेका छन् । चाहे ग्रियर्सनले भने जस्तै शौरसेनी प्राकृत र शौरसेनी अपभ्रंसबाट यसको उत्पत्ति भएको मत होस् या बालकृष्ण पोखरेल, चुडामणि बन्धु या प्रबोधकुमार पण्डितहरूले भने जस्तै संस्कृतको उदीच्य भेद अर्थात खस अपभ्रंसबाट यसको विकास भएको हो भन्ने अवधारणा होस् सबैले नेपाली भाषा पश्चिमबाट पूर्वतिर सर्दै गएको भन्ने कुरामा भने मतैक्य जनाएका छन् । यस्तै विकासक्रम नेपालको पश्चिमी सिमासँग जोडिने भारतको उत्तराखण्ड राज्यका पर्वतीय क्षेत्रमा बोलिने कुमाउँनी र गढवाली भाषाहरूको पनि रहेकाले धेरै अध्ययनहरूले नेपालीलाई कुमाउँनी र गढवालीको भगिनी भाषाका रूपमा हेर्ने गरेको पाइन्छ ।  


     बोधगम्यताका दृष्टिले भन्ने हो भने डोटेलीका कतिपय भेदहरू केन्द्रीय नेपालीको तुलनामा सीमा पारी बोलिने कुमाउँनीसँग बढी समीप लाग्दछन् । यसो अर्थमा डोटेलीले आफ्नो पृथक पहिचान खोज्नुलाई लहडको मात्र संज्ञा दिन मिल्दैन र यसको पनि नेपालीसँग भगिनी सम्बन्ध रहेको प्रष्ट्याउन सकिन्छ । अंग्रेजी जस्तो शक्तिशाली विश्वभाषा, हिन्दी जस्तो व्यापक साँस्कृतिक हतियारहरूले सुसज्जित भाषा अथवा नेपाली जस्तो सरकारी कामकाज, संचार र लेखपढको भाषाको प्रभावबीच डोटेलीको भाषिक विरासतलाई विलय हुनबाट कसरी जोगाउने भन्ने अबको चुनौती हो ।


     आरामदायी जीवनको खोजीमा बढ्दो जनसांख्यकीय संचरणले र शक्तिशाली भाषाहरूको छायाँमा परेर यसको भविष्य अनिश्चित हुँदै गइरहेको छ । मातृभाषामा कुरा गर्न सक्नुका कुनै दृश्य लाभ नहुनु र यो भाषा समाजमा वर्चश्वशाली भाषाका रूपमा नहुनु, सरकारी कामकाज, संचार या शिक्षाको भाषा नहुनुले यसका सीमाहरू संकुचित रहेका छन् । बाहिरबाट यस भेगमा बसाइ सर्नेहरूले यस भाषालाई किन सिक्ने र यहाँबाट बाहिर सरेर जानेले आफ्ना भावी पुस्तालाई यो भाषा किन सिकाइराख्ने भन्ने कुनै ठोस कारण समेत नरहेका अवस्थामा समेत यस भाषामा बिस्तारै लोप हुने खतरा मडराइरहेको छ । 


     भाषा जड हुन सक्दैन र त्यसैले भाषामा आउने समयानुकूल परिवर्तनलाई रोक्न सकिंदैन । हाम्रा पुर्खाहरूले यसरी बोल्थे र हामीले पनि यसको त्यही रुप जोगाउनु पर्छ भन्ने धारणा भावनात्मक रूपले राम्रो लाग्छ तर व्यवहारमा लागू हुन गाह्रो छ । सुचना प्रविधि, उपभोक्ता बजार, पूँजी आजको समयको यथार्थ हो । यसलाई पुरै रोकेर राख्नु आजको समयमा असम्भवप्रायः भइसकेको छ । डोटेली भाषामा पनि समयसँगै व्यापक परिवर्तन आइराखेका छन् र यस्ता परिवर्तन प्रमुखतया अन्तर्भाषिक अन्तरक्रियाका कारण आइराखेका छन् । यस्ता परिवर्तनहरूले भाषामा नवीनता ल्याउने मात्रै हैन निरन्तर सम्पर्कमा आइरहेको अर्को भाषासँग विद्यमान रहेका बोधगम्यता जस्ता कुराहरूमा निकटता आउँदै बिस्तारै भाषिक सम्मिलन हुने अवस्थाको सिर्जना हुनसक्छ । यसले हाल अलग अलग रहेका भाषाहरू भविष्यमा एक हुन जाने र भाषिक विविधता सिद्धिदैं जानसक्छ । तर यदि जनस्तरबाट यसो हुने हो भने यसलाई अन्यथा मान्न सकिंदैन तर यस प्रक्रियामा भाषिक मृत्यु भन्दा पनि भाषिक विलयनको परिघटना भएको भन्नु पर्ने हुछ ।


    भाषिक प्रतिरोध कतिको जायज ?
     हाल शक्तिशाली हैसियत भएका भाषाहरूको विरासत इतिहासमा कुनै न कुनै साम्राज्यवादी शक्तिसँग जोडिएको पाइन्छ । किन भने राज्यशक्तिको आडबिना भाषालाई स्तरीय रुप प्राप्त गर्न गाह्रो हुने गर्दछ र यो धेरथोर लोकभाषाकै रूपमा रहिराख्छ । अर्थात भाषामा विद्यमान विविध भाषिक भेहरूमध्ये एउटा सर्वस्वीकार्य भेद निक्र्यौल गर्ने क्रममा राज्यशक्तिको प्रयोग गरिने काम नेपालमा पहिलो पल्ट भएको होइन । यसको अर्थ भाषिक प्रतिरोधको नाममा वर्चश्वशाली भाषालाई निषेध गर्ने नीति लिंदा त्यसको दुष्परिणामस्वरूप भावी पिंढीले अझै थुप्रै अवसरहरूबाट वंचित हुनुपर्ने हुनसक्छ । त्यसको विपरित यदि वर्चश्वशाली भाषालाई स्थानीय भाषासँग हातेमालो गरेर पारस्परिक विकास हुने गरेर जाने वातावरण बनाउनु बरु उपयुक्त विकल्प हुनसक्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने केन्द्रीय नेपाली लवजबाहेकका अन्य भेदहरूलाई अझै औपचारिक स्वीकृति मिलेको देखिंदैन । यस्तो अवस्थामा मानकभन्दा केही फरक लवजले नेपाली भाषा बोल्ने मानिस एक किसिमको मनोवैज्ञानिक त्रास र लघुताभासमा रहेको हुन्छ । र उसका लागि अवसरहरू प्राप्त गर्न तुलनात्मक रूपमा बढी चुनैतीहरू रहेका हुनसक्छन् । यसको एउटा विकल्प अंग्रेजीमा देखिएको छ । भारतीय मूलका प्राध्यापक ब्रज काचरुले अंग्रेजी भाषामा स्वीकृत ब्रिटिश उच्चारण र सामान्य अमेरिकी अंग्रेजीको ठाउँमा ’अंग्रेजीहरू’को विकल्प रहेको बताएका छन् । उनले अंग्रेजीका अन्य स्थानीय भेदहरू पनि समयसँगै शक्तिशाली हुँदै गएका र यसले अंग्रेजीको ’शुद्ध या अभिजात्य’ रुप प्रयोग गर्नेहरू अल्पसंख्यक हुँदै गएको र अन्य रूपहरूलाई स्वीकार गर्न बाध्य भएको बताएका छन् । धेर थोर त्यो प्रयोग नेपालको हकमा समेत लागू हुनसक्छ । नेपाली भाषाका ती प्रारूपहरू जुन स्थानीय भाषासँग अन्तरक्रियाका कारण उत्पन्न भएकाछन् तिनले स्वीकृति पाउने बितिक्कै नेपाली शक्तिशाली हुने मात्र होइन यसप्रति मानिसहरूको अपनत्व त बढ्छ नै धेरथोर रूपमा यसले वहन गर्नुपर्ने भय रहेको भाषिक हत्याको बोझबाट समेत सहज मुक्त हुनसक्छ । त्यसका साथै डोटेली भाषालाई जीवन्त राखिराख्न यसले नयाँ चुनौतीहरूबाट भाग्ने होइन बरु हातेमालो गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । यसका लागि संचार, आधुनिक शिक्षा र मनोरंजनका क्षेत्रमा यस भाषामा नवीन सम्भावनाहरू खोजिनुपर्ने हुन्छ ।




    प्रतिक्रिया दिनुहोस