होइन मेरो देश कहाँ हरायो?
हिजो अस्ति सम्म त खुब चर्चा गर्थ्यो आफ्नो बहादुरीको
खुब गुणगान गाउन्थ्यो आफ्नो स्वाभिमानी को
तर
आज त उ कतै देखिन्न
न उसले बोलेको नै सुन्छु
एका बिहानै खै उ कहाँ पो हरायो...
हैन हैन म गलत छु
मेरो देश हराएको होइन
बल्कि उसको त अपहरण पो भएको
हराएको मात्रै भए त मिलीहाल्थ्यो नी यतै कतै तल माथि
मेरो देशको अपहरण भयो
त्यही जालोमा फसेर जुन रावणले सीताको लागि बिछ्याएको थियो
त्यही जालोमा फसेर जुन कौरवले पाण्डवको लागि विछाएका थिए
छल कपटको जालो,
त्यही छल कपट को जालो जुन भ्रष्टले मेरो देशका लागि बिछाएका थिए
हो त्यही छल कपटको जालोमा फसेर
अपहरणमा पर्यो मेरो देश
अनि कालकोठीमा बन्दी बन्यो
र अब
कागती निचोडे जस्तै निचोडीरहेका छन् मेरो देशको रस अपहरणकारीले
धमिराले काठ खोक्लो पारे झैं खोक्लाे पारीरहेका छन् मेरो देशको मुटु अपहरणकारीले...
त्यो देश जहाँ देशको निम्ति आफूलाई त्याग्ने महान सहिद थिए
आज त्यो देशमा आफ्ना निम्ति देशलाई बेच्न खोज्ने भ्रष्टहरुको कब्जा छ
त्यो देश जो न्याय र शान्तिको प्रतीक थियो
आज त्यो देशमा अन्याय र अशान्तिले हक जमाएको छ...
त्रेता युगमा सीतालाई बचाउन राम राम बनेका थिए
द्वापर युगमा पाण्डवलाई बाटो देखाउन कृष्ण सारथी बनेका थिए
तर यो कलियुगमा
मेरो देशलाई बचाउन
न कोई राम बन्न चाहन्छ न कोई सारथी
केवल भाग्नु छ सुरुङ बनाएर अली धेरै टाढा
विडम्बना कस्तो, सुरुङमा छिर्नेहरुको घुँइचो पनि बढिरहेको छ
तर मेरो देश भने त्यो सुरुङमा छिर्न चाहन्न
ऊ केवल प्रतीक्षा गरिरहेको छ आशा राखी
की उनीहरू फर्केलान् त एक दिन अवश्य
अनि यो जालो काट्लान् ,
बेडी तोड्लान्
र यो कालकोठीबाट बाहिर निस्कन पाउँला
हो यहि आशा राखी मेरो देश कसैको प्रतिक्षा गरिरहेको छ...
.gif)