बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :
बैतडीमा अवस्थित मेलौली भगवतीको प्राचीन इतिहास

लोककथनमा मेलौलीका केही सन्दर्भ


आइतबार, फागुन ८ २०७८
  • 2.0K
    Shares

  • images
    images
    लोककथनमा मेलौलीका केही सन्दर्भ

     
     सुदूरपश्चिमका प्रमुख देवस्थलहरुमा बैतडी तल्लो स्वराडको मेलौली भगवति मन्दिर पनि प्रसिद्ध छ, लोक कथन अनुसार दशौं/एघारौ सताब्दि तिर मेलौली स्थापना भएको मानिन्छ, तत्क्षेत्रमा मेलको लठ्ठी औलिएको या पलाएको सन्दर्भ जोडी मेलौली नामकरण भएको   कुरा स्वीकारिन्छ । खलिगाडमा वस्ने तत्कालिन कत्युर वंशीहरुका गाईले ग्वाल्लेक (सिरोडा) मा चर्न जादा सिलामा दुध चढाउने गरेको र गाईको दुध र खाने सिला कालिनदीमा बगाएर आउछु भनि हिडेका गाई मालिक लाई सौच लाग्दा भारी विसाएको ठाउमा टेक्ने गरेको लठ्ठी पलाएको देखेको घटनाबाट मेलौली नामाकरण गरिएको भनिन्छ । 


    केही विज्ञहरुको मत अनुसार सतीदेवीको अंग पतन भएको सिलारुप उक्त ढुङ्गा हो र ग्वालाले सौच निवृत भइ फर्कदा आकाश वाणाी भइ देवी रुप भएको जानकारी प्राप्त भई पुजा आजा सुरु गरिएको लोकोक्ति मन्दिर परिसर मै अभिलेखिकरण गरिएको पाइन्छ । मेला जात्राका अवसरमा गाइने गितमा यस्तो विवरण पाइन्छ। 
    ‘‘ को थरि होलो खामको मुख्या को थरि होलो भणारी 
    कत्युरो होलो खामको मुख्या कार्को होलो भणारी
    को थरि हुन्ना पण्णा पुजारी को थरि होलो धामी
    बुढा पुजारा पुजारी पण्णा पूणिलो होलो धामी
    असाडि पन्यौ साउन चतुर्दशी होलि माता कि जाँत
    नौदुरगाा पुजा चैत असौज तब होलि दुरगा कि जाँत
    भाइर बजन्ना देवीका बाजा भित्तर बजन्ना ठोल
    चौरठ्या जति खौल बसन्ना चौखाम लागलो खेल’’


    कत्युर वंशि नरसिंह, विरसिंहले देवी स्थापना गर्दा ‘रोडा’ ब्राहणले सघाएको उक्ति सुन्निछ भने तत्कालिन अवस्थमा हतरङ्गा पोखरिमा वस्ने कार्की जाति भण्डारो र          गाँजरीमा बस्ने पुजरा नै पुजारी थिए भनिन्छ, भण्डार ‘गाँजरी’ मा रहेको भनिन्छ । तत्कालिन अवस्थामा ‘लख्वा’ कत्युरा मुखिया, बुढपुजारी पुजारी, कार्की भण्डारी, सहयोगी डौडिका क्षेत्री ‘देउका’ थिए  भनिन्छ । जुने पुणिले धामी रहेको जनश्रुति छ । मन्दिरमा पूजा गर्न देन्वालाको पानी र देउत्यानीको माटो प्रयोग गरिन्थ्यो, दे न्वालो मन्दिर को उत्तर तिर सौडानीमा रहेको छ भने माटो खानी मन्दिरबाट दक्षिण तिर आगर नजिक रहेको छ । मन्दिरमा जाँतका बेला खेलिने चौखामको खेलमा गाइने गितको केही अंश यस्तो छ ।


    चार रोकन्ना चौरठ्या खाम तन त लुवाहका खाम
    नरसिह विरसिह खाम रोकन्ना तन त लुवाहका खाम
    कार्की कत्युरा धुनि जगौन्ना चोखाम लागलो खेल
    चौरठ्या सपै खौल वसन्ना पत्ता लौनान वेल
    कैतिर होलो देवी को मण्णल कैतिर होलो भणार 
    दाइन तिर होलो देवीको मण्णल वाउ तिर होलो भणार
    कति रैण्या कि पूजा लागलि कति धान्निको हुम 
    छत्तिस रैण्याकी पूजा लगालि वत्तिस धान्निको हुम 
    बजा बजन्ना इन देवीका निसान लागलि धाइ
    छत्तिस बाजा बजन लाग्या जग्यकि धुनि रमाइ


     भनिन्छ, अजयमेरु राज्य र चन्दहरुको द्वन्द्वका विचमा परि कत्युरालाई विस्थापित गरियो, तत्पश्चात नायक जातिका कनडे नायक ले मुख्खेलि समालेको भनिन्छ, कार्कीको विस्तापन पछि लखु भाटले भणारी, बुढ         पुजराको पुजारी विर्ता ओझाले प्राप्त गरेको भनिन्छ,     रोडा ब्राह्मणको जिम्मेवारी सम्दुराठ चन्द, खलिगाड़को जिम्मेवारी हरिचन्द (वाघराठ)ले लिएको भनिन्छ, पुजारा, जोशी, विष्ट(भूल) साउद, भट्ट, चन्द, दयाल, पोखरेल, दमाइ लगायत विविध जात जातिको वसोवास सँगै मेलोलीलाइ इष्ट देवीका रुपमा एघारौं सताब्दि देखि मानिदै आएको छ । घटना र विविध कारण सँगै देही, कारण र पोखरीमा तिन वटा भण्डार गृह स्थापित भएका छन् । मन्दिर स्थापना कालमा काठ र कुश काँस बाटै निर्माण गरिएको भए पनि पछि विभिन्न समय क्रममा विस्तार तथा सुधार हुदैं वर्तमान सम्म आइपुग्दा भव्य प्योगोडा शैलिमा ताम्र छाना सहित निर्माण गरिएको छ ।
    कार्तिक पूर्णिमाका दिन गाउँ पुतालि सँगै हाल गाइने गितमा मुख्य कारीवारि नायक भाट, ओझा, विष्ट उल्लेख गरिएको पाइन्छ । थुपै्र विशिष्ट प्रचलनहरु र तत्सम्बन्धि दर्जनौं लोक कथनहरु रहेका छन् मेलौली देवी कै अर्को मन्दिर सर्माली दे गड़ामा रहेको छ । चौड पत्थरेमा तत्कालिन अवस्थामा गीर खेलिने क्रममा नौ राठ साउन सँग खटपट हुदा देगडामा भगवती स्थापना भएको भनिन्छ । यसै सन्दर्भको देवी प्रार्थनाको फाग प्रचलित छ ।


    खोलि दे माता खोल भवानी खोलका केवाड़
    तमरि सेवा आइउ माता खोलि दे केवाड़
    क्याउरे सेवा ले येइ क्याउ खोलौ केवाड
    सपुरकि बाति लेथु खोलि दे माता केवाड
    कपुरवासि घिउ लेयु खोलि दे माता केवाड
    कुरजा कि पालि लेयु खोलि दे माता केवाड
    कैलि गाइको दुध लेयु खोलि दे माता केवाड
    नौ रैण्या जौतिलको हुम ज्यंग्य भैछ
    वत्तिस धान्नि घिउतेलको हुम जग्य भैछ ,
    दर्शन पाउ दुरगा माता सेवा पुरि भैछ,
    दिय गुसाइ दुरगा माता माथा वाउलि पाउ,


    जाँत र पर्वका दिनहरुमा यस्ता थुप्र्रै फागहरुको प्रचलन पाइन्छ । मन्दिर सम्बन्धि छलफल (पैचनि) मा नयाक, भाट, ओझा, चन्द (सम्दु) लाई चौरठ्या भनिन्छ । सबै जात जातिका आ(आफ्ना जिम्मेवारी परम्पराबाटै विभाजन गरिएको पाइन्छ । मैैलौली सँगै सिद्ध (गैसेर) महारुद्र शिव, मठैराज, छड़ी, बेताल, भूतनाथ, लाछु, निर्पाल, कनल्या केदार, नारसिह,उदयदेव, सिवनाथ, ग्वाल्लेक, जिम्मेस्वर धर्याल लगायतका देवी देवताहरुको स्थापना तथा पूजन भट्ट आएको देखिन्छ । मेलौली भगवती र विभिन्न जात जाति सम्बन्धका विभिन्न किम्बदन्तिहरु प्रचलित रहेका छन भने, विभिन्न किस्साहरु लोक गित फाग सगुन, जागर गित प्रचलनमा रहेका छन्, श्रुति परम्परा भै रहेका कारण धेरै जसो लोपोन्मुख अवस्थामा छन् । दशौं एघारौं सताब्दि देखि यस क्षेत्रमा आप्रवासन हुदै आएका जात जातिहरुमा केहीको अस्तित्व नरहेको देखिन्छ । तत्कालिन अवस्थाका ऐतिहासिक प्रमाणहरु प्रायः लोप भै सकेका देखिन्छन, ऐतिहासिक घटनाक्रमहरु सँगै विभिन्न प्रचलनहरुको सुरुवात या अन्त्य पनि भएको देखिन्छ, तिनै घटना क्रमहरुले जातिय जिम्मेवारीहरुमा समेत फेरबदल हुदै आएको पाइन्छ ।


    मलिया ओराड मलिया ओराड़

    (कसैको वास पडेको हो कि मलिया ओराड)
    धनी साइ नैपाल गया सुखि रेइ सोराड


    धनी साहिले स्वराड माथि कब्जा गर्न खोज्दा देवीको श्रापले दुःख पाएको भनिन्छ । मन्दिर परिसरको १३४   रोपनी क्षेत्रमा घोडा चढन पाइदैन तर दे जाँत (कार्तिक पूर्णिमा) का दिन सम्दुराठ दिपचन्त्र का सन्तानहरु लाई डेढ घडी (३६ मिनट ) दे थलामा घोडेनाच देखाउने अनुमति छ । ‘‘ सम्दुकि दुर्गा विकन्ज्यू कि सिवनाथ’’ भनिन्छ । खलगाड बाट ‘कतुरा को माना (६४ माना) पोखलो उठाइन्छ भने पोखरी हतरङ्गा बाट ६४ कार्की माना पोखलो दे जाँत पूर्व उठाइन्छ । जुन हरिचन्द      राठले ‘कत्युरा ’ को र लख्ख्वा भाटका सन्तानले कार्कीको भाग खाउको  तिरो मानिन्छ ।


    दे जाँत मै कार्तिक पूर्णिमाका दिन ‘चकडोलमा चःलो’ जाने वेला उदयदेवको धामी समेत सवार हुन्छन् चौरठ्याहरुले गिर खेल्ने तथा चौखाम भित्र देवीको चैत गाउने गर्दछन, मन्दिर सँगै, कालीका स्थान स्थापित छ र चौसट्टमा बलि दिइन्छ । विशेष पर्वहरुका अतिरिक्त गौरा पर्वको समेत मेला लाग्ने गर्दछ ।


    जनश्रुति (लोककथन) मै वाचेको मेलौलीको इतिहास, परम्परा सोध खोज तथा लेखनबाट संरक्षणका थोरै मात्र प्रयास भएका छन, भावि पुस्ताको जानकारी एवं संस्कृति संरक्षणका लागि लेखन प्रकाशन आवश्यक देखिन्छ ।( प्रस्तुत आलेखको जानकारीका लागि स्व. हरिदत्त ओझा तथा जयराम जोशी प्रति आभारी छु)




    प्रतिक्रिया दिनुहोस