महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सेल,बटुक र मकैको रोटी सुदुरपश्चिमका खानाका परिकार आकर्षणको रूपमा रहेको छ । बिहिबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नका लागि पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हुन् ।
कलेजमा अध्ययनरत आठ विद्यार्थीको समूहले पश्चिमेली चुलो सञ्चालनमा ल्याए स्थानीयका खानाका परिकारहरु प्रवद्र्धनमा जुटेका छन ।
पश्चिमेली चुलो सञ्चालन गरिरहेका विद्यार्थी बिन्दु विष्टले आफूहरू स्थानीय खानाको परिकारको प्रवद्र्धनमा जुटेको बताइन् । “हामीहरूको मुख्य उद्देश्य भनेको हाम्रो स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु हो ।”उनले भनिन्, “हामीले आफ्नो ठाउँको खानाका परिकार प्रवद्र्धन गर्नका लागि मेलामा पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हौँ ।” विष्टले स्थानीय खानाका परिकार सेल रोटी, बटुक, मकैको रोटी बनाएर बिक्री गरिरहेको बताइन्। “यहाँ अवलोकन गर्न आउनेले हाम्रा परिकारलाई धेरै मन पराउनुभएको छ ।” उनले भनिन्, “ हाम्रो स्थानीय परिकारहरुको प्रयोग कम हुदै गएको छ हामीले अब आउने पुस्तालाई हाम्रा खानाका परिकारहरुको स्वाद दिलाउन स्थानीय परिकार बनाएका छौ ।” उनको टीममा हिमानी विष्ट,आयु्ष चन्द,अमिसा चन्द,निलम बोहरा,स्नेहा लेखक,दिप्ती पाण्डेय र ममता क्षेत्री छन ।
कलेजले अध्ययनरत विद्यार्थीलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिने रोजगार मेला आयोजना गरेको हो । यसका लागि कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न केही रकम ऋणसमेत प्रदान गरेको छ । मेलाबाट विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ पुग्ने अपेक्षा कलेजको छ । मेलामा विद्यार्थीले समूह बनाएर विभिन्न प्रकारका १८ स्टल राखेका छन् । जसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । ती कक्षमा सुदूरपश्चिममा घरमै निर्माण गरेका सामग्री, खानाका परिकार राखिएका छन् ।
.gif)