यस्तो घाट जाने हो ?
जहाँ,
चम्किला चक्रव्युहका चिताहरु भत्काउन सकियोस्
आगोको मुस्लोले तृष्णाको सागर निभाउन सकियोस्
अचेत खप्पर भित्र चैतन्यको खरानी घस्न सकियोस्
परलोकको आफ्नो अंश बोलाउन सकियोस्
मृत शरीर बाहेक सबथोक डढाउन सकियोस्
बाँच्नलाई मारिएका सपना ब्युँताउन सकियोस्
जहाँ ,
बगरमा बग्न र वेगमा उभिन सकियोस्
एक दौड विश्रामको लगाउन सकियोस्
भ्रमको भारी बिसाउन सकियोस्
स्वासको सार उधिन्न सकियोस्
इच्छाले जान र फर्किन सकियोस्
बोधको ज्योतिले जन्मिन सकियोस्
उपस्थितिको अर्थ बुझ्न
यसैपालि पारी तर्न
प्रभात जगाउन
त्यस्तो घाट पुग्नु अघि
कुनैदिन,
यस्तो घाट जाने हो ?
.gif)