महेन्द्रनगर । स्थानियस्तरमा तरकारी उत्पादन नहुँदा महेन्द्रनगरमा तरकारीको मूल्य फेरि आकासिएको छ । विगत दुई साता यता तरकारीको मूल्य वृद्धि भइरहेको ठेला व्यवसायीले जनाएका हुन् । स्थानीय स्तरमा उत्पादित तरकारी आउन छाडेपछि भारतबाट ल्याइएको तरकारी विक्री गर्नुपरेको ठेला व्यवसायी कल्पना सिंहले बताइन् ।
अहिले पहाडी क्षेत्रबाट पनि तरकारी आउन छोडेको उनले जनाइन् । पहाडबाट ल्याइएका आलु केही महँगो पर्न जाने हुँदा सब्जी मन्डीबाट भारतीय आलु खरिद गरी बेच्ने गरेको उनी बत्ताउँछिन् । साता दिन पहिले सय र एक सय २० मा खरिद भइरहेको आलु अहिले धरीको १ सय ४० र १ सय ८० मा बिक्री भइरहेको छ । भारतबाट आउने भएकाले गुणस्तरीयताको पनि ख्याल राख्नुपर्ने स्थानीय उपभोक्ताहरूको माग छ । स्थानीय उपभोक्ता जुना विष्टले भनिन्–‘महँगोमा भारतीय आलु खरिद खेप्नुपरिरहेको छ तर गुणस्तरीयतामा ख्याल गरिएको पाइदैन् ।’
शव्जीमंडीमा प्याजको मूल्य रु १० ले वृद्धि भएर रु ८० मा बिक्री भइरहेको छ । त्यस्तै सिमला रु २० ले बढेर १ यस ४०, करेला रु २ सय , खुर्सानी २ सय ५० टमाटर रु ४० मा बिक्री भइरहेको ठेला व्यापारी दिना सुनारले बताइन् । शव्जीमण्डी व्यवसायी सङ्घका अध्यक्ष विनोद सुनारले स्थानियस्तरमा तरकारी उत्पादन नगरिँदा भारतबाट ल्याउनुपर्ने अवस्था रहेको बताए । भारतबाट दैनिक ४० क्विन्टल बढी तरकारी महेन्द्रनगर आयात भइरहेको उनले जनाए । पछिल्लो समय भारतबाट नै मूल्यमा वृद्धि हुँदा केही महँगोमा तरकारी बेच्नुपर्ने अवस्था रहेको अध्यक्ष सुनारले जनाए ।
.gif)