शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गेटा मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अन्यौँलता, सञ्चालनमा ढिलाइ


पश्चिम प्रेस
सोमबार, फागुन २३ २०७८
  • 1.1K
    Shares

  • images
    images
    गेटा मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अन्यौँलता, सञ्चालनमा ढिलाइ

    महेन्द्रनगर । प्रारुप नबन्दा कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन् । मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनहरु तयार भएपनी प्रारुप नबन्दा सञ्चालनको अन्यौलता अझै कायमै रहेको हो ।

    करिब साढे चार अर्बको लागतमा गत वर्षनै कलेज सञ्चालन गर्न चाहिने भवन निर्माण गरिएका थिए । सरकारले मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्नेनै टुङ्गो लगाएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुङ्गो नलाग्दा सञ्चालनमा अन्यौलता देखिएको हो । अस्पताल, कलेज, छात्रवास, आवाशलगायत भवनहरु तयार भइसकेका छन् ।

    तर सञ्चालनको प्रारुप (मोडालिटी) तय भएर ऐन नबन्दा जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा जडानलगायत व्यवस्थापकीय काम अगाडि बढेका छैनन् । सञ्चालनमा भइरहेको ढिलाइले बनेका संरचनाहरु पनि जीर्ण बन्ने जोखिम छ । भवन निर्माणबाहेक सरकारले अरु कुनै तयारी नगर्दा सञ्चालन अनिश्चित बनेपछि यहाँका स्थानीय निराश छन् ।

    तत्काल प्रारुप तय गरेर सञ्चालन प्रकृया अगाडि बढाउन यहाँका स्थानीयको माग छ । सेती प्रादेशिक अस्पतालका पूर्वप्रमुख डाक्टर गणेशबहादुर सिंहले कुन मोडेलमा सञ्चालन गर्ने भनेर सरकारले निर्णय गर्न ढिलो भइसकेको बताए । 

    सरकारले छिटो निर्णय नगर्ने हो भने सञ्चालन अझै केही वर्ष धकेलिने उनको भनाइ छ । मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले सरकारले कुन मोडेलमा सञ्चालन गर्ने भनेर ऐन नबनाउँदा अन्यौलता रहेको बताए । पुजाराका अनुसार ऐन छिटो नआए सञ्चालनमा अझै डेढ÷दुई वर्ष जानसक्छ । ऐन चाँडो ल्याउन आफ्नो तहबाट पहल गरिरहेको उनले बताए । ‘ऐन नआउँदा उपकरण, जनशक्ति व्यवस्थापन आदिको तयारी सुरु गर्न सकिएको छैन ।’ पुजाराले भने, ‘मोडालिटी तय गर्न हामीले सरकारलाई बारम्बार आग्रह गरेका छाँै । प्रधानमन्त्रीसम्म पनि यो कुरा पु¥याएका छौँ ।’

    अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका उनले जानकारी दिए । खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनको काम भने हुन बाँकी छ । ऐन आएर जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गर्दासम्म खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनको तयारी पनि पूरा गर्न सकिने कार्यकारी निर्देशक पुजाराले बताए ।

    यसैगरी, गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका नाममा संरचनाहरु निर्माण भएका छन् । मेडिकल कलेजको साटो विश्वविद्यालय वा प्रतिष्ठान बनाउनु पर्ने यहाँका स्थानीयको माग छ । स्थानीय र सरोकारवालाले मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गरिरहेका छन् । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका पूर्वअध्यक्ष लक्ष्मीराज पाठकले नेपालमा एउटा मेडिकल विश्वविद्यालय आवश्यक रहेको र त्यो गेटामा बनाउन सकिने बताए ।

    मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६÷०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो । सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण शुरु हुन सकेको थिएन । 

    २०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिए । रुख कटानको आदेश पाएसँगै २०७३ बैशाखदेखि नयाँ संरचना निर्माणको काम शुरु भएको हो । धनगढी र अत्तरियाको बीचमा पर्ने गेटास्थित ५१ दशमलव ८ हेक्टर क्षेत्रमा संरचनाहरु बनेका छन् । 

    समिति गठन 

    यसैबीच सञ्चालनको मोडालिटी तय नभए पनि मेडिकल कलेजको संरचनामा अस्पताल चलाउने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सञ्चालन स्वीकृति दिने तयारीअनुरूप स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

    समितिले बुझाउने रिपोर्टका आधारमा अस्पताल सञ्चालनको तयारी अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # गेटा मेडिकल कलेज
  • प्रतिक्रिया दिनुहोस