महेन्द्रनगर । भीमदत्त नगरपालिका –१८ जानकी टोलकी १३ वर्षीय आसा सुनार बिहान ७ बजे महेन्द्रनगरको सब्जिमण्डीमा देखिन्छिन् । १० बजे विद्यालय जानुपर्ने हुँदा एकाबिहानै ठेलामा तरकारी बेच्न उनी मण्डी पुग्ने गरेकी हुन् । घरमा आमा– बुवा बेरोजगार भएपछि बिहान र साँझ गरी आमालाई सघाउने गरेको उनले बताइन् ।
भृकुटी माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत आसाले तरकारी बेचेर परिवारको दैनिक खर्च चलाउन तरकारी बेच्ने गरेको बताइन् । उनले भनिन्–‘आमा बिहान घरको काममा व्यस्त हुँदा तरकारी बेच्न म जानेगरेकी छु, साझँ विद्यालयबाट फर्किएर फेरी दोस्रो पटक तरकारी बेच्न बस्छु ।’ आसा एक नयाँ आसा लिएर जीवनलाई सार्थक बनाउन लागेकी जस्तै देखिन्थिन् । गरिबी हटाउन केही नगरी हुन्न भनेझै आसाले सानै उमेरदेखि जीवनलाई निरन्तरता दिएकी छन् ।
‘दिनमा विद्यालय र विहान साझँ तरकारी बेच्ने गरेकी छु, उनले भनिन् ‘किताव पढ्ने समय राती मिलाएकी छु ।’ तरकारी बेचेर दैनिक पाँच शय देखि १५ शयसम्म आम्दानी हुने गरेको उनले बताइन् । जसले दैनिक घरखर्च चलाउन आमालाई सघाउन पुगेको छ । उनले भनिन्, ‘बुवा लुगा सिउने काम गर्नुहुन्छ, आफुहरु तरकारी बेचेर जिविका चलाइरहेका छौँ ।’ आठ कक्षामा अध्ययन गरिरहेकी आसा सामाजिक सञ्जालतर्फ भने धेरै चासो नगएको बताउँछिन् । फेसबुकमा च्याट गरेर समय खेर फाल्नु भन्दा आमा बुवालाई सघाँउदा रमाइलो लाग्ने गरेको उनले सुनाइन् । उनले भनिन्–‘आमाले विद्यालय नियमित जान सुझाव दिनुहुन्छ, फुर्सदको समयमा सघाउ पु¥याउने गर्दछु । ’
.gif)