सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सँस्कृतिको मूल स्वरुपमाथि पुँजीवादको प्रहार 


पश्चिम प्रेस
बुधबार, चैत २ २०७८
  • 1.0K
    Shares

  • images
    images
    सँस्कृतिको मूल स्वरुपमाथि पुँजीवादको प्रहार 


    मानव जीवनलाई सुन्दर, सुसज्जित तथा अनुशासित ढङ्गले चलाउनका लागि समयको आवश्यकता अनुसार स्थापित हुँदै आएकोे जीवन पद्दति नै सँस्कृति हो । मानव सभ्यताको विकासका निमित्त देश, काल, वातावरण तथा परिस्थितिलाई मध्यनजर गर्दै स्थापित गरिएका मूल्य, मान्यता, रीतिरिवाज, रहनसहन एवम् जीवन जिउने समग्र तौरतरिकाहरुलाई सँस्कृति भनिन्छ । हामीले प्रयोग गर्ने भाषा, भेषभुषा, खानपान, धर्म, सँस्कार, चाँडपर्व, नैतिक आचरण, कला, सीप पेशा, व्यवशाय एवम् मानव सभ्यताको विकासका लागि गरिने क्रियाकलापहरुको समग्र स्वरुप नै सँस्कृति हो । मानिसका आधारभूत आवश्यकता गास, बास, कपासका साथै शिक्षा, स्वास्थ्य, मनोरञ्जन आदि अन्य अतिरिक्त आवश्यकताहरुसँग सँस्कृति जोडिएको हुन्छ । यो मानव सभ्यताको सुरुवातदेखि  स्थापित भएर समय र आवश्यकता अनुसार परिमार्जन हुँदै आएको हुन्छ । सँस्कृतिभित्र हरेक मानव समुदायको इतिहास र मौलिक पहिचान लुकेको हुन्छ । मानव जीवनलाई सहज र सुन्दर तरिकाले जिउने कलाहरु सँस्कृतिभित्र रहेको पाइन्छ । धर्म, अर्थ, काम तथा मोक्ष जस्ता पुरुषार्थ सिद्धिमा सँस्कृतिको महत्वपूर्ण भूमिका हुने गर्दछ । 


    वर्तमान विश्वव्यापीकरण र पुँजीवादका कारण हाम्रो धर्म, सँस्कृति र मूल्यमान्यता तथा रीतिरिवाज आदिमा प्रभाव पर्दै गइरहेको छ ।  एकातिर पश्चिमा सँस्कृति हावी हुँदै गइरहेको छ भने अर्कोतिर पुजीँवादका कारण विभिन्न विकृतिहरु भित्रिदै गइरहेका छन् । हाम्रा पुर्खाहरुले धार्मिक, नैतिक, सामाजिक तथा मनोरञ्जनका लागि निर्माण गरेका विभिन्न चाँडपर्व तथा रीतिरिवाजहरुमा पुँजीवाद हावी भएर सामान्य मानिसलाई साँस्कृतिक सहभागिताका लागि मुस्किल परिरहेको छ ।  हाम्रा हरेक चाँडपर्वहरु पुँजीवादको चपेटामा परि एकातिर अत्यन्त महङ्गा हुँदै गइरहेका छन् भने अर्कोतिर तिनको वास्तविक मर्म हराउँदै गइरहेको छ । ध्यान योग र तपस्यासित सम्बन्धित अत्यन्त शाकाहारी पर्व तिज वर्तमान समयमा आएर विभिन्न महङ्गा पहिरन र आभुषणहरुको प्रदर्शन तिर ढल्किएर निम्न मध्यम वर्गीय जीवन यापन गरिरहेका मानिसहरुको पहुँचबाट टाढा गइरहेको छ । हाम्रा दशैँ, तिहार, होली लगायतका चाँडपर्व पनि पुँजीवादकै कारण सामान्य मानिसले मनाउनै नसक्ने अवस्थामा पुगेका छन् । मानव जीवनलाई सहज र सुसज्जित तरिकाले जिउनका लागि स्थापित गरिएको सँस्कृति पुँजीवादका कारण झन असहज बन्दै गएका छन् । एकातिर आयातित सँस्कृति हाम्रा सँस्कृतिहरुमाथि हावी हुँदै गएको छ भने अर्कोतिर पुँजीवादले सँस्कृतिको मूल मर्मलाई नै समाप्त पार्दै गइरहेको छ । 


    मानिसहरु अहिले आएर सँस्कृतिको मूल मर्म बिर्सदै गइरहेका छन् । सँस्कृति मनाउँनका लागि होइन देखाउनका लागि प्रयोग हुँदैछ । हाम्रो सँस्कृतिका हरेक पक्षहरु केवल सामाजिक सञ्जालका लागि एक तस्बिर र भिडियोका लागि मात्र प्रयोग हुन थालेका छन् । अहिले हामी हाम्रा चाँडपर्वहरु मनाउनु भन्दा पनि तिनीहरुसँग एक तस्बिर लिएर सहभागितको प्रमाण देखाइराखेका छौँ । विभिन्न संघसँस्थाहरुले गाउँघरमा भएको सँस्कृतिलाई बजारका सभाहलहरुभित्र थन्क्याइराखेका छौँ । सँस्कृति बचाउने नाममा हजारौँ पैसा खर्च गरेर तिनीहरुलाई सङ्कुचित बनाउँदै गइरहेका छौँ । सँस्कृति बचाउने तथा प्रचारप्रसार गर्ने नाममा विभिन्न सँघसस्थाहरुले आफ्ना ब्यानरहरु लगेर सँस्कृतिको प्रचारको सट्टा आफ्नो प्रचार गरिरहेका छन् । सार्वजनिक स्थलहरुमा  मनाइने गौरा, तिज, होली जस्ता विभिन्न चाँडपर्व  सभाहलभित्र हुन थालिएका छन् । यस्ता विविध कारणहरुले हाम्रो सँस्कृतिको मूल मर्म नै हराउँन पुगेको छ । जुन लाभ र उद्देश्यका लागि सँस्कृति मनाइने हो त्यो हराएर आर्कै मोडतिर मोडिदै गएको छ । सँस्कृतिमाथिका यस्ता विविध प्रहारहरुलाई बेलैमा रोक्न सकिएन निकट भविष्यमै हाम्रो सँस्कृति र मौलिक पहिचान समाप्त हुन बेर लाग्दैन । 


    प्रतिक्रिया दिनुहोस