मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दशैको मुखमा मुग्लान


पश्चिम प्रेस
शुक्रबार, असोज २२ २०७८
  • 657
    Shares

  • images
    images
    दशैको मुखमा मुग्लान

    महेन्द्रनगर । दशै मनाउन परदेशीहरु गाउँ फर्किरहेका बेला केही युवाहरु भने मुखैमा रोजगार लागि भारत जानेहरुको कञ्चनपुरको गड्डाचौकी नाकामा घुईचो छ । एकातर्फ घर फर्किने नेपालीको ठूलो भीड छ । उनीहरूको अनुहारमा दसैं मनाउन पाउने खुसी छचल्किएको छ । ठूल्ठूला झिटीगुन्टा बोकेर घर पुग्ने हतारमा दौडिरहेकाहरूको भीडमा पिठ्युँमा झोला बोकेर भारत पस्नेहरू पनि छन । उनीहरू खिन्न देखिन्छन । मलिन अनुहारका उनीहरू दसैं भित्रिँदै गर्दा रोजगारीका लागि मुलुकबाट बाहिरिँदै गरेका हुन । 
    भारततर्फ लम्किँदै गरेकाहरूको भीडमा थिए, बैतडी दशरथ चन्द नगरपालिका–३ का ललित नाथ । नाकामा घर फर्किरहेकालाई हेर्दै उनी पाइला चालिरहेका थिए । ‘दुई वर्षदेखि घरमै थिएँ, खान, लाउनसमेत समस्या थियो,’ नाथले भने, ‘मालिकले यही बेला फोन गरेर काममा बोलाए, दसैंको मुखमा नजाऊँ भने फेरि काम नपाइएला भन्ने डर भयो ।’
    हरियाणाको होटलमा काम गर्ने उनी झन्डै दुई वर्षअघि कोरोना संक्रमणकै कारण घर आएका थिए । उनका दुई स–साना छोराछोरी र परिवार छन् । छोराछोरीले दसैंपछि जानू भनिरहेका थिए तर उनीहरूको मन दुखाउन बाध्य भए । ‘सानैदेखि भारततिरै ज्यालामजदुरी गरेर गुजारा चलाइरहेको थिएँ,’ नाथले भने, ‘कोरोनाले सबै भताभुंग पारिदियो, दुई वर्ष घर बस्दा जताततै ऋण मात्रै लागेको छ ।’
    नाथले भनेझैं कोरोनाले धेरैको अवस्था बिगारेको छ । रोजगारीका लागि भारत जाने समयसमेत खलबलिएको छ । युवा असारमा धान रोपाइँ सकेर कामको खोजीमा भारत जान्थे । अधिकांश दसैं र तिहारका लागि घर फर्किन्थे । यही बेला धानबाली पनि भित्र्याइन्थ्यो । फेरि गहुँ छरेर उनीहरू हिउँदमा भारततिरै लाग्थे । नयाँ वर्षका लागि चैतमा घर फर्किन्थे । त्यही बेला गहुँबाली भित्र्याउने काम हुन्थ्यो । अहिले कोही भर्खर भारत पसेका छन् भने कोही फर्कंदै छन् । रोपाइँ सकेर भारत पसेकाहरू दसैंका लागि घर फर्किंदै छन ।
    ‘घर बसेर खर्च चलाउनै नसकिने भइयो, दसैंभन्दा पनि काम खोज्नुपर्ने अवस्था छ,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका लक्षीराम भुलले भने, ‘कोरोनाले दुई वर्षदेखि घरमै बसेको थिएँ, केले दसैं मनाउनु ?’ कोरोना संक्रमण बढ्न थालेपछि उनी २०७६ फागुनमा घर फर्किएका थिए । उनी दिल्लीमा होटलमा काम गर्थे । उनलाई पनि दुई दिनअघि मात्रै होटलबाट काममा फर्किन फोन आएको थियो । नजिकिँदो दसैं छाडेर घटस्थापनाकै दिन उनी पनि भारततर्फ लागेका हुन । लामो समयसम्म घरमै बस्दा निकै समस्या भएको उनले बताए । ‘आमाले दसैंको टीका लगाएर जानू भन्दै थिइन्,’ उनले भने, ‘अहिले नगए काम पाइँदैन कि भनेर आमाको कुरा काटेर हिँडेँ, घरबाट निस्किँदा सबैको अनुहार उदास थियो ।’

    बिहीबार गड्डाचौकी नाकाबाट १ हजार ४ सय ७१ जना घर फर्किए भने ३ सय २३ जना कामको खोजीमा भारततर्फ पसे । जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार गड्डाचौकी नाकाबाट ३ सय २३ जना भारत पसेका थिए । यसैगरी गौरीफन्टा नाकाबाट २ सय ८५ जना भारत पसेका छन । विगतका वर्षमा यतिबेला कामको खोजीमा जानेको संख्या न्यून हुन्थ्यो । तर यसपटक दसैं सुरु भइसक्दासमेत दिनमा तीन÷चार सय जना भारत पसिरहेका छन । साभार कान्तिपुर दैनिक


    प्रतिक्रिया दिनुहोस