विद्यालय पढाइको क्रममा अध्ययन सम्बद्ध लेखाइ बाहेक सिर्जनात्मक लेखन हुन सकेन । सानो छँदा इजाले गाउने फाग सगुन, रामायण देवी भागवत कृष्ण चरित्र, स्वस्थानीका श्लोक नै मेरो अन्तर्मनमा साहित्यिक बिजारोपण गर्न सफल भएका हुन् । लेखपढ गर्न नसक्ने भए पनि सुनेरै धार्मिक र लोकसाहित्यमा इजाको अद्भूत क्षमतालाई घरको अत्यन्तै बढी कार्यबोझले तगारो बनाउन सकेको थिएन तर चेत फर्कुञ्जेल पछिको अवस्थामा धेरै दिन साथ पाउन सकिएन । गोठालो जाँदा वनबेतमा सुनिने कर्णप्रिय गुञ्जन मात्रै होइन अलि पढन सक्ने भये पछि रामयण, महाभारत र स्वस्थानी पढेर सुनाउने रहर पनि साहित्यिक चेतनाका बिउ थिए । सम्झनै पर्छ छिमेकमै बस्ने बुडाबुबु मनिराम ओझाको रामायण महाभारतको पारखिपन अब्बल थियो । कहिलेकाहीँ गंगादत ओझा गङ्वाबुबु वा लोइला बुबुसँगै ग्वाला हुदा बनपाखाका लोकगीत उनबाट लेखेर गोप्यमा राख्थ्यौ । याद भये पछि पन्ना नष्ट गरिन्थ्यो। कहिलेकाहीँ उनी अस्लिल गीत पनि सिकाइ दिन्थे । २०४५(४?र विद्यालयको औपचारिक पढाइबाट फुर्सद मिलेको केही हिन्दी उपन्यास र कच्चाबाटो नेपाली उपन्यासको स्वाद पनि मनोरंजक नै थियो । त्यतिबेला वुबासँगै घरको पढाइ हुँदा ज्योतिष र कर्मकाण्ड आदिका कुरा लेखियो । त्यतिबेला भावनाका केही उदगारहरू लेख्न थालिएका थिए तर पछि केही पन्ना हराए केही लेखेर पनि राख्ने मन भएन र नष्ट गरिए ।
एस एल सी पछि पढाइका लागि २०४७ को हिउँदतिर महेन्द्रनगरतिर आए, पाठ्य सामग्रीको उपलब्धता भयो, क्याम्पस, सहरबजार तिरको अलि खुलापनबाट सिकाइ सहज बन्यो, त्यतिबेला वार्ता, महाकाली साप्ताहिक पत्रिका प्रकाशन हुन्थे । वैजनाथ स्कूलको विणा पनि छापिन्थ्यो । आफूलाई पनि छपाउने मन लाग्थ्यो ।दाइको माध्यमबाट सुरूसरूमा लेखेर पठाउदा छापिन पनि थाल्यो । सुरूमा २०४७ चैत्र २०गते महाकाली साप्ताहिकमा चाणक्यको राजनैतिक विचारधारा शिर्षकमा पहिलो लेख छापियो । बैजनाथको विणा पत्रिकामा पनि एउटा कविता गद्य दिएकोमा बाहिरकाको नछाप्ने भएपछि दाई शंकरदत्त ओझाको नामबाट छापिएछ २०४८ मा ।
त्यति बेला पढाइमै केन्दित हुनु परेको भए पनि सम्पर्कमा आएपछि पत्रिका सम्पादक र प्रकाशकहरू लक्ष्मीराज जोशी महाकाली साप्ताहिक , रामवहादुर चन्द वार्ता साप्ताहिकले प्रोत्साहित गरे । पत्रिकामा नाम आउन थाले पछि म पनि फुर्किए । अखबारहरूमा लेख लेख्दै गए । ०४७ पछिको खुकुलो वातावरणमा पत्रिकाहरू पनि थपिदै गए त्यति बेला खासगरी समसामयिक विषयवस्तुमा केन्दित भएर लेखिन्थ्यो । समाजका तात्कालिक र ताजा विषयहरूमा राति नसुतेर पनि लेखियो । महेन्द्रनगरका थोरै लेखकहरूका बिचमा म पनि घुसे । त्यति बेलाको लेखनमा केवल मैले आफ्ना अभिव्यक्ति सम्प्रेषण गरे, चिनिए बस त्यति हो । कागज कलमको खर्च दिन्छौ भन्ने सम्पादकज्यूहरू पनि झूटो बोले । राजनैतिक रूपमा पक्ष खोज्ने र आफ्नै पत्रिकामा छापिएको समाचार खण्डनका ठाउँमा गाली छाप्नेहरू बहिष्कार गरे । मैले पनि क्रमशः पत्रकारिता क्षेत्र चिन्दै गएको थिए । झुटझपेटवालाहरू बाट टाढिए । पत्रकारिताको तालिम र अभ्यास भैसकेको भए पनि त्यस क्षेत्रको प्रवृतिसँग असहमत भए । बरू विशुद्ध रूपले साहित्यिक फाँट रोजियो । विद्यार्थी राजनीतिसँग जोडिदै गर्दा राजनैतिक र सामाजिक विषयहरूको अध्ययन अनि पत्रपत्रिका पढने हौस बढदै जाँदा लेखनको बाटोमा आइडिया र शब्द भणार बढाउन मदत पुग्थ्यो। क्रमशः महाकाली साहित्य संगम, त्रिवेणी जन चेतना समाज, शिक्षक संगठन लगायतका साहित्यिक तथा सामाजिक संघसंस्थाहरूको आबद्धता लेखन सम्पादन मार्गमा सहयोगी थियो संगम, शिक्षक रैवार, गुगुल्डि, अविरल, रामराज्य, आफन्त, लगायतका पत्रपत्रिका सम्पादन पनि लेखन मार्गमा सहयोगी सावित भए । यसरी मलाई लेखनमा प्रोत्साहन गर्ने अग्रजहरू प्रति आभारी छु ।
.gif)