महेन्द्रनगर । भीमदत्त नगरविकास समितिले विगत १५ वर्ष देखि उठ्न बाँकी रहेको बक्यौता रकम असुल हुन थालेको जनाएको छ । तत्कालीन महेन्द्रनगर नगरविकास समिति हुँदा देखि नै लाखौँ रकम असुल गर्न बाँकी रहेकोमा विगत केही महिना यता भाडा असुल भइरहेको नगरविकासले जनाएको हो ।
नगरविकास समिति अन्तर्गत ९० वटा सटर भाडामा दिइएका छन् जसमध्ये ८० व्यक्तिले भाडा चुक्ता गरेको जनाइएको छ । अझै ८ व्यापारी , सामुदायिक सेवा केन्द्र, गैर सरकारी संस्था महासंघ र पत्रकार महासंघले भाडा बुझाउन बाँकी रहेको नगरविकास समितिका एक कर्मचारीले बताए । भाडा बुझाउन बाँकी रहेका व्यक्ति तथा संस्थाहरुलाई पटक–पटक ताकेता गरिएको उनले बताए ।
महेन्द्रनगर बसपार्कमा सटर लिएका राम सिंह बुढाऐरले १६ वर्ष पछि १० लाख बुझाएको नगरविकास स्रोतले जनाएको छ । उनीबाट अझै २१ लाख ५९ हजार सटर भाडा उठाउन बाँकी रहेको नगरविकासका एक कर्मचारीले बताए ।
सामुदायिक सेवा केन्द्रले १ लाख ५० हजार ४ सय ३ भाडा रकम, पत्रकार महासंघले २ लाख १२ हजार ४ सय ८६ , गैर सरकारी संस्था महासंघले ४ लाख ५९ हजार २ सय ९२, राम सिह धामीबाट १३ लाख १ हजार भाडा असुल गर्न बाँकी रहेको भीमदत्त नगरविकास समितिका एक कर्मचारीले बताए ।
नगरविकास समितिका अनुसार चैत्र १५ गते सम्म ६६ लाख २० हजार बक्यौता असुल भएको छ । अझै ५८ लाख २८ हजार ५ सय २२ रुपैया भाडा असुल गर्न बाँकी रहेको नगरविकास स्रोतले जनाएको छ । भाडा चुक्ता नगर्ने उपर प्रचलित कानून बमोजिम कार्वाही अगाडी बढाइने नगरविकास समितीले जनाएको छ ।
.gif)