सार
डोटेली लोक गाथाहरुमा रामायण सम्बन्धी थुप्रै प्रसङ्गहरु रहेका छन् । यी प्रसङ्गहरु पौराणिक रामायणमा आधारित भए पनि यिनीहरुमा थुप्रै मौलिकता पाइन्छ । यस लोक रामायणमा विषयवस्तु, परिवेश, लयविधान आदि थुप्रै कुरामा पाइने मौलिकताले तत्कालीन डोटेली समाजको झल्को दिने गर्दछ । रामायण संसारका विभिन्न भाषाहरूमा बिस्तार हुने क्रममा डोटेली भाषामा पनि यसको गहिरो प्रभाव परेको पाइन्छ । डोटेली भाषामा लोक साहित्यका रूपमा अवस्थित रामायण अहिले आएर कही कतै लिखित रूपमा पनि पाइने क्रममा छ । यद्यपी पुरै लोक रामायण लिखित रूपमा भने आइसकेको पाइदैन । डोटेली लोक रामायण लिखित रूपमा नपाइए पनि हाम्रा लोक गाथा, फाग, चैत आदिमा भने जीवित नै रहेको पाइ्रन्छ । यसकारण यस अध्ययनमा लोक गाथाको परिचय, डोटेली लोकगाथामा रामायणका प्रसङ्ग तथा डोटेली लोक रामायणमा रहेको मौलिकाको बारेमा सामान्य विश्लेषण् गर्ने प्रयास गरिएको छ । रामायण बृहत् विषयवस्तु अंगारेको हुनाले यसमा केही प्रसङ्हरुलाई मात्र देखाउन खोजिएको छ । यस अध्ययनका लागि विभिन्न पत्रपत्रिका तथा डोटेली लोक वाङ्मयबाट गाथाका अंशहरु झिकेर व्याख्या विश्लेषण गर्ने कार्य गरिएको छ ।
१. विषय प्रवेश
पूर्वीय काव्य परम्परामा रामायण एक महत्वपूर्ण काव्य हो । त्रेतायुगका आदर्श पुरुषोत्तम भगवान रामचन्द्रको जीवनलीलालाई आधार बनाएर रचना गरिएको रामायण सर्वप्रथम संस्कृतका आदिकवि वाल्मीकिद्वारा रचना गरिएको मानिन्छ । संस्कृत भाषामा रचना गरिएको वाल्मीकि रामायण पूर्वीय काव्य परम्पराको इतिहासमा धार्मिक, सांस्कृतिक, राजनैतिक ऐतिहासिक, सामाजिक, साहित्यिक आदि विविध दृष्टकोणले महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको छ । समयको आवश्यकता र विषयवस्तुको लोप्रियताका कारणले वर्तमान समयसम्म आइपुग्दा रामायण विश्वका विभिन्न भाषामा अनुवाद भइसकेको छ । रामायणले मौखिक र लिखित दुवै रूपमा विभिन्न भाषाका साहित्य र लोकसाहित्यमा प्रसिद्धि पाइसकेको छ । हिन्दुधर्म परम्परा तथा जनक नन्दिनी सीताको जन्मभूमि रहेको नेपाल त रामायणको मुख्य क्षेत्र नै हो ।
नेपालमा लिखित रुपमा भानुभक्तबाट रामायण लेखनको सुरुवात भए पनि मौखिक तथा लोक साहित्यका रुपमा धेरै पहिलेदेखि नै लोकजीवनको महत्वपूर्ण पक्षका रुपमा स्थापित भैसकेको थियो । यही लोक परम्परामा नेपालको सुदूरपश्चिम क्षेत्र (तत्कालीन डोटी राज्य) मा पनि रामायणको गहिरो प्रभाव परेको पाइन्छ । डोटेली वाङ्मय अन्तर्गत विभिन्न गाथाहरुमा रामायणको उपस्थिति पाइन्छ । यस क्षेत्रका फाग, सगुन, ढुस्को, धुमारी, माधुरी, हुड्केली लगायत थुप्रै गद्य तथा पद्यमा रामायणको कथावस्तु पाइन्छ । यसरी लोक परम्परामा जीवित रामायण वाल्मीकि रामायणमा आधारित भएर पनि यसभित्र थुप्रै मौलिकता रहेको पाइन्छ । डोटेली लोक रामायणको कथावस्तु, लयविधान, पात्रहरुको नामाकरण, स्थान, परिवेश आदि थुप्रै कुरामा मौलिकता रहेको डोटेली लोक रामायणमा तत्कालीन समाज तथा लोक जीवनको झल्को पाइन्छ । डोटेली लोक रामायणभित्र रहेका यस्ता मौलिक पक्षहरुको खोजी गर्न सकेमा हाम्रो लोकजीवनका थुप्रै पक्षहरुको बारेमा जानकारी लिन सकिन्छ ।
२. समस्या कथन
अनुसन्धानका लागि छनोट गरिएको अनुसन्धेय विषय आफैँमा समस्यापूर्ण
हुन्छ । समस्या नभइ कुनै पनि अनुसन्धान हुँदैन; त्यसैले कुनै पनि समस्यामा केन्द्रित भएर अनुसन्धान कार्य सम्पन्न गरिन्छ । सैद्धान्तिक अथवा व्यवहारिक परिवेशमा अनुसन्धानकर्ताले अनुभव गरेका र समाधानको उपाय पत्ता लगाउन चाहेका जटिलतालाई नै अनुसन्धान समस्या भनिन्छ (निउरे, २०६९ ः १०) । शोधपत्र तयार गर्ने सिलसिलामा छनोट गरिएका विषयवस्तु नै समस्याका रूपमा रहन्छन् । प्रस्तावित शोधपत्रमा निम्न कुरालाई समस्याका रूपमा रहनेछ ः
क) डोटेली लोक रामायणमको परिचयात्मक उपस्थिति केकस्तो रहेको छ ?
ख) डोटेली लोक रामायणको विषयवस्तुमा केकस्तो मौलिकता रहेको छ ?
३. अध्ययनको उद्देश्य
कुनै पनि कार्यक्रमको मेरुदण्ड उद्देश्य हो । अनुसन्धान कर्ताले आफ्नो अध्ययन मार्फत प्राप्त गर्न चाहेका अपेक्षित उपलब्धीहरू नै अनुसन्धानका उद्देश्य हुन (निउरे, २०६९ ः २५) । जुनसुकै कार्यक्रममा पनि अपेक्षित उपलब्धी हासिल गर्नका लागि उद्देश्य स्पष्ट रूपमा किटान गरिनुपर्छ । प्रस्तावित शोधपत्रको उद्देश्य समस्याकथनमा उठान गरिएका विषयवस्तुको चुस्त दुरुस्त उत्तर पत्ता लगाउनु रहनेछ, जुन निम्नानुसार रहेका छन् ः
क) डोटेली लोक रामायणको परिचयात्मक उपस्थिति सम्बन्धी अध्ययन गर्नु,
ख) डोटेली लोक रामायणको विषयवस्तुमा निहित मौलिकताको अध्ययन गर्नु ।
४. अध्ययनको महत्व
रामायण हिन्दुधर्मावलम्वीहरूको महत्वपूर्ण धार्मिक तथा पौराणिक ग्रन्थ हो । त्रेतायुगका अयोध्याका राजा राम र नेपालको जनकपुरकी जनक नन्दिनी सीताको जीवनलीलामा आधारित रामायण धार्मिक मात्र नभएर राजनैतिक, सांस्कृतिक, तथा साहित्यका हिसाबले साहित्यका हिसाबले पनि एक महत्वपूर्ण ग्रन्थ हो । रामायण ऋषिमुनीहरूबाट लोक जीवनमा हस्तान्तरण हुँदै आएको कथा हो । अहिले आएर यो संस्कृत हुँदै विश्वका विविध भाषामा अनुवाद तथा प्रकाशित हुँदै आएको पाइन्छ ।
रामायण संसारका विभिन्न भाषाहरूमा बिस्तार हुने क्रममा डोटेली भाषामा पनि यसको गहिरो प्रभाव परेको पाइन्छ । डोटेली भाषामा लोक साहित्यका रूपमा अवस्थित रामायण अहिले आएर कही कतै लिखित रूपमा पनि पाइने क्रममा छ । यद्यपी पुरै लोक रामायण लिखित रूपमा भने आइसकेको पाइदैन । डोटेली लोक रामायण लिखित रूपमा नपाइए पनि हाम्रा लोक गाथा, फाग, चैत आदिमा भने जीवित नै रहेको पाइ्रन्छ । समयको क्रमसँगै लोक गाथाहरूप्रति मानिसहरूको चासो घट्दै गइरहेको क्रममा यसको अध्ययन हुन सकेन भने भविश्यमा हराउन नसक्ला भन्न सकिदैन । यसकारण डोटेली लोक जीवनमा भएका यस्ता लोक सम्पत्तिहरुको अध्ययन अनुसन्धान गरी त्यसभित्रको मुख्य कुरोलाई आत्मसाथ गर्नु आजको आवश्यकता हो । डोटेली लोक रामायण एउटा रामको कथा मात्रै नभएर यसभित्र हाम्रो भाषा, संस्कृति, इतिहास, राजनीति, सामाजिक संस्कार तथा समग्र पहिचान लुकेको पाइन्छ । त्यसै गरी हाम्रो लोक जीवन लुकेको रामायणमा रहेका मौलिकताहरू नै हाम्रो लोक सम्पत्तिको महत्वपूर्ण पक्ष भएकाले यस अध्ययनको महत्व रहेको स्पष्ट हुन्छ । डोटेली भाषाभित्र रहेको लोक साहित्यको खोजी, संरक्षण तथा प्रचारप्रसारमा पनि यसको विशेष महत्व रहेको पाइन्छ । यस अध्ययनबाट हाम्रा लोक साहित्य अन्तर्गतका बातै, फाग, ठाडोखेल, धुमारी, ढुस्को, चैत आदिको खोज तथा संरक्षण र प्रचारप्रसारका दृष्टिले पनि यस अध्ययनको विशेष महत्व रहेको पाइन्छ । त्यसै गरी भविश्यमा लोक साहित्यसँग सम्बन्धित खोजकर्ताहरुलाई पनि यस अध्ययनले मार्गनिर्देशन गर्ने भएकाले यस अध्ययनको विशेष महत्व रहेको पुष्टि हुन्छ ।
५. अध्ययन विधि
अनुसन्धानका क्रममा सङ्कलित तथ्यलाई तथ्याङ्क वा सूचना भनिन्छ । यस्ता तथ्याङ्कहरू सङ्ख्यात्मक वा गुणात्मक गरी दुई किसिमका हुन्छन् । तथ्याङ्कको स्वरूप र प्रकृति अनुसार तथ्य सङ्कलनका लागि तथ्याङ्कका स्रोतहरू पहिचान गरेर अघि बढ्नुपर्छ । भषिक अनुसन्धानका तथ्याङ्कहरू सङ्ख्यात्मक भन्दा बढी गुणात्मक प्रकृतिका हुन्छन् । अनुसन्धानका क्रममा उक्त तथ्याङ्कहरूको विश्लेषण गरी निश्कर्षमा पुग्ने काम गरिन्छ (निउरे र घिमिरे ः २०७०)।
यस अध्ययनमा तथ्याङ्क सङ्कलनका लागि प्राथमिक र द्वितीयक दुबै स्रोतहरूलाई उपयोग गरिने छ । रामायणसँग सम्बन्धित लोकगाथा, कथा आदि विविध विषयवस्तुको जानकारीका लागि अन्तरवार्ता, प्रश्नावली, अवलोकन आदिकार्यबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिने छ भने विभिन्न समयमा प्रकाशित रामायणसँग सम्बन्धित लोकगाथा, लेख, कृति आदिको अध्ययन गरी आवश्यक सूचनाहरूलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिने छ । यस अनुसन्धानलाई पूर्णता दिन वर्णनात्मक, विश्लेषणात्मक तथा व्याख्यात्मक विधिको प्रयोग गरिनेछ । यस अध्ययनमा जनसङ्ख्याका रूपमा तत्कालीन डोटी राज्य तथा वर्तमान सुदूरपश्चिम क्षेत्रभित्रका प्रचलित लोकगाथाहरुलाई जनसङ्ख्याको रूपमा उपयोग गरिनेछ । त्यसै गरी बैतडी जिल्लामा प्रचलित रामायणसँग सम्बन्धित लोकगाथाहरूलाई नमुनाका रूपमा उपयोग गरिने छ । यस अध्ययनका लागि अवश्यक तथ्याङ्क सङ्कलन गर्नका निमित्त डोटेली लोक पर्वहरूमा गाइने रामायण सम्बन्धी लोक गाथाहरूको प्रत्यक्ष रूपमा अवलोकन गरी अडियो, भिडियो तथा टिपोट गरी लोक रामायणका विषयवस्तु सङ्कलन गरिने छ । यसरी सङ्कलित सामग्री तथा पूर्वकार्यहरुको अध्ययन विज्ञहरूबाट सरसल्लाह लिइ प्राप्त सामग्रीलाई व्याख्या एवम् विश्लेषण गरिने छ ।
६. लोक गाथाको परिचय
गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनका लागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय समुदाय भौगोलिक क्षेत्र वा वर्गमा फरक फरक नाममा चिनिन्छन् । खासगरी लामा कथात्मक गीतहरु जसलाई बौद्घिक वर्गले गाथा भनेर नामाकरण गरेको भएपनि यो जुन समुदायमा प्रचलनमा छ त्यो समुदायमा आफ्नै प्रकारको नाममा चिनिन्छ (माझी ः २०१६) ।
लोकसमाजमा गीतहरुमा संरचित गरिएका कथाहरु गाथा हुन् । गाथाको ऐतिहासिकता खोतल्ने हो भने ई.पु ४००० वर्ष अघि रचना भएको मनिएको पूर्वीय प्राचीन ग्रन्थ ऋग्वेदसम्म पुग्न सकिन्छ । ऋग्वेदमा कथा गायकलाई गाथिन शब्दको प्रयोग गरिएको छ । (परमार रु ः २०) वेदमा इन्द्र,वरुण,उषा,शोमका सुक्तहरु गाथाका रुपमा रहेका छन् (माझी ः २०१६) । गाथा भन्न जान्ने मान्छेलाई गाथिन भनिएबाट पूर्वीय पौराणिक समाजमा गाथाको महत्वलाई दर्शाउँछ । यसैगरी पश्चिमी समाजमा पनि गाथाको परम्परा होमरका प्राचिन महाकाव्य ओडिसी र इलियड सम्म पुगिन्छ किनभने तत्कालिन समाजमा रहेका ट्रोय युद्धका वीरहरुका गाथाहरुको मौखिक परम्परावाट यी ग्रन्थहरुको श्रोत रहेको मानिएको छ । गाथाको समानार्थि शब्द व्यालेड मानिन्छ । नाच्नुको अर्थ व्यालेड शब्द इटालेली भाषाको द्यििबबचभ बाट ब्युत्पन्न भएको हो (शर्मा र लुइँटेल.२०६३ः१५५) ।
आख्यानात्मकता, गेयात्मकता, प्राचीन, धार्मिक वा समसामयिक घटनाको प्रस्तुति, अनिश्चित रचनाकार, मौलिक,मौखिक परम्परा,लोक संस्कृतिको सम्वाहक, स्थानियताको प्रचुरता, स्वभाविक, सरल, बोधगम्य, सामाजिक सम्पत्ति, लोक समाजमा प्रभाव पार्न सक्ने सामथ्र्य आदि यसका विशेषता रहेका छन् ।
७. डोटेली लोक रामायणको परिचयात्मक उपस्थिति
पूर्वीय काव्य परम्परामा रामायण एक महत्वपूर्ण काव्य हो । त्रेतायुगका आदर्श पुरुषोत्तम भगवान रामचन्द्रको जीवनलीलालाई आधार बनाएर रचना गरिएको रामायण सर्वप्रथम संस्कृतका आदिकवि वाल्मीकिद्वारा रचना गरिएको मानिन्छ । संस्कृत भाषामा रचना गरिएको वाल्मीकि रामायण पूर्वीय काव्य परम्पराको इतिहासमा धार्मिक, सांस्कृतिक, राजनैतिक ऐतिहासिक, सामाजिक, साहित्यिक आदि विविध दृष्टकोणले महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको छ । समयको आवश्यकता र विषयवस्तुको लोप्रियताका कारणले वर्तमान समयसम्म आइपुग्दा रामायण विश्वका विभिन्न भाषामा अनुवाद भइसकेको छ । रामायणले मौखिक र लिखित दुवै रूपमा विभिन्न भाषाका साहित्य र लोकसाहित्यमा प्रसिद्धि पाइसकेको छ । हिन्दुधर्म परम्परा तथा जनक नन्दिनी सीताको जन्मभूमि रहेको नेपाल त रामायणको मुख्य क्षेत्र नै हो ।
नेपालमा लिखित रुपमा भानुभक्तबाट रामायण लेखनको सुरुवात भए पनि मौखिक तथा लोक साहित्यका रुपमा धेरै पहिलेदेखि नै लोकजीवनको महत्वपूर्ण पक्षका रुपमा स्थापित भैसकेको थियो । यही लोक परम्परामा नेपालको सुदूरपश्चिम क्षेत्र (तत्कालीन डोटी राज्य) मा पनि रामायणको गहिरो प्रभाव परेको पाइन्छ । डोटेली वाङ्मय अन्तर्गत विभिन्न गाथाहरुमा रामायणको उपस्थिति पाइन्छ । यस क्षेत्रका फाग, सगुन, ढुस्को, धुमारी, माधुरी, हुड्केली लगायत थुप्रै गद्य तथा पद्यमा रामायणको कथावस्तु पाइन्छ ।
यस क्षेत्रमा विशेष गरेर गौरा पर्वमा ठाडोखेलका रुपमा रामायणको गाथा गाउने प्रचलन रहेको पाइन्छ । त्यसै गरी चैत्रको महिनामा डोटेली लोक भारतमा पनि रामायण सम्बन्धी गाथाहरु गाउने गरिएको पाइन्छ । बालक जन्मिदा छैको अवसरमा पनि यस्ता लोकगाथाहरु गाउने गरिएको पाइन्छ । डोटेली भाषिक समुदायका महिलाहरुले गाउने भलौलोमा पनि रामायणको कथावस्तु पाइने गर्दछ । समग्रमा डोटेली लोक गाथाहरुमा रहेको रामायण सम्बन्धी कथावस्तुलाई नै डोटेली लोक रामायणका रुपमा लिनुपर्ने हुन्छ ।
८. डोटेली लोक रामायणमा मौलिकता
डोटेली भाषाका लोक गाथाहरुमा रामको वंशावली वर्णनबाट रामायणको सुरुवात हुने गर्दछ । रामको जन्म, बाललीला, शिक्षा ग्रहण, धनुष यज्ञ, रामजानकी विवाह, वनवास, सीताहरण, रामरावण युद्ध, रामको राज्याभिशेष, तथा सीताको पुनः वनवास, लवकुशको जन्म जस्ता घटनाहरुको वर्णन यी लोकगाथाहरुको वर्णन यी लोकगाथाहरुमा आउने गर्दछ । डोटेली लोक गाथाहरुमा रामायणको सुरुवात यसरी भएको पाइन्छ ।
आली भान राजा तपीया
आली भानका साली भान मया
साली भान राजा तपीया
साली भानका सगर भ्यान
सगरका भगीरथ भ्यान
भगिरथ राजा तपीया
भगीरथाका अजुपति भ्यान
अजुका दशरथ भ्यान
दशरथ राजा तपीया
दशरथका कति रानी छन्
दशरथका तीन रानी छन्
कौशीला जेठी रानी हुन
उति कान्छी कैकेइ भैन
सुमित्रा कान्छीको नउँछ
कोसिलाका रामचन्द्र भ्यान
कैकेइका भरत भया
सुमित्राका दुई पुत भया
लछेमन सत्रुघन जन्म्या
कौशिला मनकी पियारी
कैकेई मुखकी पियारी
कौशिला देवताकी चेली
कैकेयी राखसकी चेली
कौशिलाका सुखकी रात
कैकेयी दुखकी रात
रामचन्द्र मनका पियारा
लछेमन सुखका पियारा
दशरथ अयोध्याका राजा
डोटेली लोक रामायण पौराणिक कथावस्तुमा आधारित भएर पनि यसमा थुप्रै मौलिकताहरु भेट्न सकिन्छ । डोटेली लोक रामायणको विषयवस्तु, परिवेश, लय आदिमा थुप्रै मौलिकताहरु रहेको पाइन्छ । यी लोक गाथाहरुले तत्कालीन डोटेली समाजको झल्को दिने गरेको पाइन्छ । डोटेली लोक गाथामा प्रयुक्त रामायणका मौलिकताहरुलाई यसरी देखाउन सकिन्छ ः
क) विषयवस्तुमा मौलिकता
यस रामायण्का विभिन्न प्रसङ्गहरु वाल्मीकिकृत रामायण भन्दा केही भिन्न पाइन्छन् । वाल्मीकिकृत रामायणमा सीताहरुको प्रसङ्गलाई दण्डक वनमा ऋषिमुनीहरु तथा अयोध्याको सीमा रक्षा गर्दै कुटीमा वनवासको जीवन विताइरहेका राम, लक्ष्मण र सीता आफ्नो कुराकानी गरिरहेका बेला वनमा विचरण गरिरहेकी सुर्पणखाले रामप्रति मोहित भएर सुन्दर स्त्रीको रुप धारण गरेर रामसँग प्रमप्रस्ताव राख्नु रामले एक पत्नी ब्रत लिएको कुरा गर्नु, लक्ष्मणसँग प्रमप्रस्ताव राख्नु लक्ष्मणले पनि अस्वीकार गर्नु र अन्त्यमा सुन्दर सीताको कारण आफ्नो प्रेमप्रस्ताव अस्वीकार गरेको सम्झेर सीतालाई नै मार्न लाग्दा लक्ष्मणले तलवारले सुर्पणखाको नाक काट्नु, सुर्पणखाले खरदुषणलाई सबैवृत्तान्त बताउनु र घनघोर युद्ध हुनु, खरदुषणको मृत्युपश्चात् सुर्पणखा रावणसँग गएर बनावटी कुरा गर्दै बदला लिन आग्रह गर्नु र रावणले मरिचको सहायताले सीताको हरण गरेको प्रसङ्ग उल्लेख छ तर डोटेली लोक रामायणमा सीता हरणको कारण सुर्पणखा नभएर सीता स्वयम्को सुन्दरता हो भन्ने प्रसङ्ग आउँछ । रामले सीताको सुन्दता हेर्ने मनाशयले सीतालाई राजा जनकले दिएको दिव्य चोली खोल्न आग्रह गर्दा सीताले चोली नखोल्ने यदि चोली खेले विनास हुने सङ्केत दिदा पनि रामले हट गरेपछि आधारातको समयमा सीताले घरका झ्यालढोका बद गरेर चोली खोलेको र झ्यालढोका बन्द गरेर पनि तालाको छेद बन्द गर्न भुलेपछि सीताको शरीरमा भएको दिव्य प्रकाश लंकामा गएर उज्यालो भएको, लंकाबासीले बिहान भएको सेचेर आफ्नो कामधन्दामा लागेको र सीताले चोलो लाएपछि अझ अन्धकार हुँदा सबै अचम्म परेका तर यो कुरा रावणकी श्रीमती मन्दोदरीलाई थाहा भएको हुँदा मन्दोदरी जोरजोरले हास्दा रावणले हाँस्नुको भेद सोधे र मन्दोदरीले हासोको भेद बारे जाने त्यसले विनास निम्त्याउने कुरा भनिन् । डोटेली लोक रामायणमा मन्दोदरी र सीता दुबै जनककै पुत्री भएकाले यो भेद मन्दोदरीलाई थाहा भएको कथावस्तु रहेको पाइन्छ । रावणले हट गरेपछि सीताले चोली खोलेको बारेमा बताउँदा रावण अचम्म पर्नुको साथै सीताप्रति मोहित भएको र मन्दोदरीलाई कुन भेषमा सीताको हरण गरु भनी सल्लाह मागेको र मन्दोदरीले जोगीको भेषमा सहज हुने कुरा बताएको कथावस्तु रहेको पाइन्छ । जसलाई डोटेली रामायणमा यसरी प्रस्तुत गरिएको छ ः
सीताले चोली खोलेको प्रसङ्ग
राम महल बसी ¥यान
राम ज्यू हुकम भैछ
हम सीता रानी भन्सामा गैन
भुत भुुत भोजन पाक्यो
सीता ानी बोलन लागि
आस गुसाई जिउनारी बस
राम ज्यू बोलन लाग्या
हम सीता भोज खानाईन
हम सीता पनीया पिनाइन
यई भोज कोउ खोट लाइछ
यो मेरी के चानी फुटी
एई भोज केउ खोट लाग्यो
तै भोज अङीया को खोट
खोल सीता अङीया खोल
सीता रानी बोलन लागि
जन लागौं अङिया को धोको
तै वात होलो विनास
बाबा ज्यू कि दिएकी अङिया हौं
बार काछा सुनाकी अङिया हौं
जन पडौं अङियाको धोको
तैवात होलो विनास
रामज्यू अकस पड्या
खोल सिता अङिया खोल
लछेमन देउर हमार
बुझ गुसाई बाइस मजेली
बुझी हाल्या बाइस मजेली
बुझ गुसाई छत्तिस माल
बुझी हाल्या छत्तिसै माल
बुझ गुसाई चौरासी झ्याल
बुझी हाल्या चौरासी झ्याल
तालु घर बुझना भुल्यान्
सीता ले अङिया खोइछ
लंका झलको निसी गैछ
लंकाकी बेइ गैछ रात
रावण्या पुजा माथी बस्यो
मथोदरी भान्छा मा गैन
हल बौस्या गाडा खेत ग्यान
पनारी पानीनवा गैन
गोर ग्वाला गोर सित ग्यान
सगारी साग पात गैन
सीताले आङीया लाइछ
लंकाकी पडी गैछ रात
रावन्या पूजा माथि रयो
मथोदरी भान्छा मा रैन
हल वौस्या गाडा खेत रया (भट्ट ः२०५५)
मन्दोदरी र रावणको वार्तालापः
लंका मथोदरी घुतघुा हाँसी
घुत घुत घुतघुत घुत हाँसी
लंका को रावण बोलन लागी
को हौं? मथोदाी देउ वात हाँसी
मथोदरी हाँसा को नीम रे लाल
मथोदारी बोलन लागी रे लाल
जन लागौं रावण्या हासोको धोको
तै वात होलो विनास रे लाल (भट्ट ः२०५५)
यसरी डोटेली रामायणका थुप्रै प्रसङ्ग तथा विषयवस्तुमा मौलिकता एवम् भिन्नता पाइन्छ । त्यसै गरी लोक भलौलाको अध्ययन गर्दा चमत्कारी मृगको प्रसङ्ग दण्डक वनमा नभएर अयोध्यामै छदा भएको भन्ने प्रसङ्ग आउँछ । सीताको चोली खोलेको र दिव्य तेजको बारेमा जानकार रावण स्वयम् आफै मृगको रुप धारण गरी आएको , सीता बिहानै पानी भर्न जाँदा सूर्य नमस्कार गर्ने बेलामा मृग देखेको र घर आएपछि रामलाई मृगको वृत्तान्त बताएर शिकार गर्न गर्एको प्रसङ्ग आउँदछ । डोटेली लोक गाथाको भलौलोमा उक्त प्रसङ्गलाई यसरी दिएको पाइन्छ ः
पानी भरनी बेला होइ गैछ लछे राम हरी
कोखी माणि हाली रुपा घडुली लछे राम हरी
हात समाई सुना सिरौणी हो लछे राम हरी
चलीगैन घाराका पानी हो लछे राम हरी
पन घट मिरग चरन लाग्या लछे राम हरी
नवाली पाट घडुली विसायो लछे राम हरी
सीता रानी मृगैका ख्याल हो लछे राम हरी
अयोध्या रामले घर लायो लछे राम हरी
माटो खोदी खोदी घर लायो लछे राम हरी
ढुङी फोडी फोडी घर लायो लछे राम हरी
पैतोली घर चीडी गोरगाठी लछे राम हरी
पिणैली घर चीडि घुडा जोला लछे राम हरी ((भट्ट ः२०७५)
रामायण भित्रकै कथावस्तुसँग जोडेर तत्कालीन डोटेली मौलिक प्रसङ्गहरुलाई पनि गाथाहरुभित्र स्थान दिएको पाइन्छ । आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसहरूले समयको जानकारीका लागि पनघडी (पानीघडी) को माध्यमबाट समयको जानकारी लिने कुरो सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिने बित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले समयको लक्षण अनुसार समयको जानकारी लिने गर्दथे । श्वार्सफेर्दा नाकको कुन प्वालबाट वायू ओहरदोहर हुँदैछ, तारा, तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी रामायणको कथावस्तु भएको भलौलोमा पनि समयसँगको जानकारीलाई यसभित्र कलात्मक ढङ्गले राखेको पाइन्छ ः
रातीका कति पहर हन्ना लछे राम हरी
रातीका चार पहर हन्ना लछे राम हरी
पैल्ला पहर केउकाम लछे राम हरी
पैला पहर सङ्काधुनी लछे राम हरी
दोसरा पहर खानी धानी लछे राम हरी
तेसरा पहर सिझानी लछे राम हरी
चौथा पहर भोल ब्यानी लछे राम हरी
भोल बेइ उजालो भैछ लछे राम हरी
पत्ताल बिउज्या काली नाग लछे राम हरी
शिखर बिउज्या महादेव लछे राम हरी
धन्य विजोइखानी कोसेडी लछे राम हरी
कि जाणेइ रातकी बात हो लछे राम हरी
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरी
तब जाण्या रातकी बात हो लछे राम हरी
बौलीका खडुवा डण्ण लाग्या ....
तब जाण्या रातकी बात .....
सपुर पिछौडी मेरा ठण्ण लागी ...
तब जाण्या रातकी बात ..... (भट्ट ः२०७५)
उपर्युक्त पङ्तिहरूमा रात सकिनलागेको कसरी थाहा पायौ भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणहरूको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ । यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणहरूबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोमा वर्णन गरिएको पाइन्छ ।
९. निष्कर्ष
डोटेली लोक गाथाहरुमा रामायण सम्बन्धी थुप्रै प्रसङ्गहरु रहेका छन् । यी प्रसङ्गहरु पौराणिक रामायणमा आधारित भए पनि यिनीहरुमा थुप्रै मौलिकता पाइन्छ । यस लोक रामायणमा विषयवस्तु, परिवेश, लयविधान आदि थुप्रै कुरामा पाइने मौलिकताले तत्कालीन डोटेली समाजको झल्को दिने गर्दछ । यसको अध्ययनबाट हामीले त्यतिबेलाको समाजलाई, नारीहरुले भोग्नु परेका पीडाहरुलाई, तथा कथा वस्तुका रुपमा विविध ज्ञानगुनका कुरा पनि पाउछौँ । डोटेली लोक रामायण हाम्रो लोक सम्पत्ती हो, पहिचान हो । यसको अध्ययन, अनुसन्धान र प्रचारप्रसार पनि गर्नु आजको आवश्यकता हो । यस भाषामा भएको ज्ञानलाई अन्य भाषाम पनि प्रचार गर्न सकेमा हाम्रो लोक तत्व फैलिने र जीवित रहने हुनाले यस्ता विषयवस्तुको अध्ययन जरुरी रहेको छ ।
सन्दर्भ सामग्री
चन्द, मदन (२०७१) ,“राम कथामा आधारित लोक माधुरी”, रामलीला मञ्जरी, पूर्णाङ्क १ पृ.९२–९५, रामलीला समिति महेन्द्रनगर, कञ्चनपुर
दहाल, पेशल र सोमप्रसाद खतिवडा (२००५), अनुसन्धान पद्दति, काठमाण्डौँ
निउरे, ध्रुवप्रसाद र दिनेश घिमिरे (२०७०), भाषिक अनुसन्धान विधि, सनसाइन पव्लिकेशन कीर्तिपुर, काठमाण्डौँ
निउरे ध्रुबप्रसाद (२०६९) अनुसन्धान पद्धति ः क्वेस्ट पव्लिकेशन
बडु, भानदेव (२०४८) बैतडीको लोक साहित्यमा रामकथा ः सामान्य अध्ययन , महेन्द्रनगर
भट्ट, परमानन्द (२०५५) लोक सास्कृतिक पुञ्ज, बैतडी
भट्ट, कविराज (२०७५) ,“मानसी लोक साहित्यमा भलौलो”, साहित्य सुसेली, पूर्णाङ्क ९ पृ.४५–४९, रामलीला समिति महेन्द्रनगर, कञ्चनपुर
.gif)