हिन्दु परम्परामा प्रचलित षोडस संस्कार मध्ये विवाह एक महत्वपूर्ण संस्कार हो । ब्रतबन्ध संस्कार गरिसकेपछि गरिने विवाह संस्कार जीवनको एक महत्वपूर्ण मोडका रुपमा पनि लिने गरिन्छ । हाम्रो समाजमा वैवाहिक जीवनमा प्रवेश गर्नुलाई जिम्मेवारी सम्हाल्नुको रुपमा पनि लिने गरिन्छ । केटाले एक अर्को घरसँगको नातासम्बन्ध निभाउने तथा केटीले आफ्नो जन्मघर छोडर श्रीमानको घरलाई नै आफ्नो घर बनाउने महत्वपूर्ण जिम्मेवारी विवाहपछि हुने भएकाले विवाहपछिको उमेरलाई हरेक क्षेत्रबाट परिपक्व उमेरका रुपमा पनि लिने गरिन्छ । यसरी दुई घर र दुई मुटुको सुन्दर मिलाप गर्ने विवाह संस्कार आफैमा एक महत्वपूर्ण संस्कार हो ।
हरेक समुदायमा विभिन्न संस्कारहरु मनाउने पद्दति फरक फरक हुने गर्दछ । डोट्याली लोक समुदायमा पनि विवाह संस्कार मनाउने आफ्नै मौलिक पद्दति र परम्परा रहेको पाइन्छ । यस क्षेत्रको विवाह सम्बन्धी लोकपरम्परा अध्ययन गर्ने हो भने अन्य समुदायभन्दा थुप्रै मौलिकता भेटिन्छन् । विवाहका लागि योग्य उमेर भएपछि घरपरिवारका सदस्यले उचित साइत हेरेर कन्या खोज्ने जाने गरिन्थ्यो, जसलाई डोट्यालीमा कन्यास्ता जाने भनिन्छ । कन्यास्ताका लागि केटीको घरमा गएका मानिसलाई कन्यापक्षका मानिसले बरौन्या भन्ने गर्दछन् । कन्या खोज्दा परम्परागत रुपमा कूल,गोत्र र खानदानको विशेष ख्याल गर्ने गरिन्थ्यो । विशेष गरी वरभन्दा उमेरमा कन्या कान्छी हुनुपर्ने मान्यता यस समुदायमा रहेको पाइन्छ । सामान्य तथा दुई पक्षको कुरा मिलेपछि दुबै पक्ष ज्यातिषीको घरमा गएर चिना मिलाउने गरिन्छ । ज्योतिष शास्त्र अनुसार चिना मिलेपछि विवाहका लागि साइत हेर्ने गरिन्छ र त्यही साइत अनुसार दुबै पक्षले विवाहको तयारीमा जुट्ने गर्दछन् ।
पहिले पहिले अहिलेको जस्तो बजारको व्यवस्था नभएकाले विवाहका लागि आवश्यक सबै सामग्री गाउँघरमै जुटाउने गरिन्थ्यो । भोजभतेरका लागि अन्नपात कुट्ने, पिस्ने तथा दाउराको जोहो गर्न छिमेकका सम्पूर्ण मानिसहरु मिलेर गर्दथे । विवाहका लागि चाहिने नयाँ वस्त्र पनि लुगा सिउने मान्छेले घरमै आएर उिने गर्दथे । अन्नपातको कुटाइ पिसाइ, दाउराको बन्दोबस्त र लुगा कपडा सिउनका लागि पनि परम्परा अनुसार उपयुक्त दिनमा गर्ने गरिन्थ्यो । इष्टमित्र, नातागोता तथा छरछिमेकमा विवाहको निमन्त्रणको लागि सुपारीका टुक्रा बाड्ने प्रचलन थियो । हरेक समुदायजस्तै डोट्याली लोक समुदायमा पनि जिउँदाको जन्ति र मर्दाको मलामी भन्ने मान्यतालाई विशेष तवरले अपनाइने गरिन्थ्यो । विवाहका लागि आफूले सक्दो सहयोग सबैले गर्ने गर्दथे । लौन, सेल, हलुवा, तरकारी र दालभात विवाहमा पकाइने पकवान हुने गर्दथे ।
विवाहको एक दिन अगाडि वरपक्षबाट विवाहको तयारी भइरहेको र कुशलमंगलको समाचार लिएर एक वा दुई जान देखेका मान्छे भतखौवा जाने गर्दथे । लोकपरम्परा अनुसार कन्यापक्षले तिनीहरुको स्वागत सत्कार गर्ने गर्दथे । दोस्रो दिन केटा पक्षबाटै सगुनका रुपमा दहीसाग र वरको हातको कुश, सुपारी, फलफूल तथा कन्याका लागि ल्याइएको कुनै एक कपडा लगेर अघौता जाने गर्दथे । तिनले कन्याको घरमा पुगेपछि मात्रै कन्याको हातमा पोटली बाध्ने प्रचलन रहेको थियो । कन्या पक्षतिर बालबालिका र इष्टमित्र बाहेक गाउँघरका सहगोत्रीहरुले कन्याको खुट्टा नधोइकन भोज खान सुरु गरिदैनथ्यो । आचार्यले पञ्चपुर्वाङ्ग गराइ टिकोटालो गरी वरलाई तयार पार्दथे । विहेमा लग्नुपर्ने सामग्री तयारी पारी जिम्मा लगाउने गरिन्थ्यो । विहे हिड्नु अघि वरका आमा लगायत विभिन्न अन्य नजिकका बुढापाका महिलाहरुले डोली पूजेर विवाह पठाउने गरिन्थ्यो । पहिलेपहिले वरलाई बोक्ने साधन डोली हुने गर्दथ्यो, त्यसपछि तापदानको प्रचलन आयो । तापदान पनि विस्थापित भएर घोडा र आजभालि यातायातको व्यवस्था भएको ठाउँमा गाडिको प्रयोग हुने गरेको पाइन्छ । बाटोमा जन्ति हेर्ने मानिसहरुले मंगल कामनाका लागि हरियो सौलो रराख्ने, पुस्तक तथा कलश राख्ने तथा सगुना गाउने पनि गरिन्थ्यो । त्यसमा वरपक्षले गुड, चकलेट तथा भेटी चढाउने गरिन्थ्यो । विवाह घरमा पुगिसकेपछि वर आचार्य र जन्तिको स्वागत गरी विवाह संस्कार सम्पन्न गरिन्थ्यो । विवाह विशेष गरी दुई दिनमा सम्पन्न हुने गर्दथ्यो । केटापक्षको जन्ति साँझपख मात्रै कन्यापक्षको घरमा पुग्ने गर्दथ्यो । राती विवाह संस्कार गरेर भोलिपल्ट गोदान आदि गरिसकेपछि खाना खाएर जन्ति बिदाइ हुने गर्दथ्यो ।
विवाहमा लोकपरम्परा अनुसार विभिन्न परम्परागत मौलिक कलाहरुको पनि प्रस्तुति एवम् पूजन गरिन्थ्यो । जिउँति, कुरुनी, वेदी आदि चित्रकलाको प्रस्तुति हुने गर्दथ्यो भने दमाहा, झ्याली, विगुल, विनबाँजा लगायतका परम्परागत बाँजागाँजा सहित छलिया नृत्य प्रस्तुत हुने गर्दथ्यो । छलिया नृत्यमा विभिन्न लोकगीतहरुको प्रस्तुतिका साथै ठट्टयौली अभिनय पनि प्रस्तुत गर्ने गरिन्थ्यो । त्यसै गरी महिलाहरुले संस्कार भित्रका विभिन्न कर्म अनुसारका फाग सगुन पनि प्रस्तुत गर्ने गर्दथे । विवाहमा हुने हरेक कार्य मौलिक परम्परा अनुसार हुने गर्दथ्यो ।
वर्तमान समयमा आएर विवाहको मौलिकता बिस्तारै हराउँदै गएको पाइन्छ । संस्कारभित्रका हरेक कर्महरु छोटिदै गइरहेका छन् भने यसमा प्रयोग हुने विभिन्न लोक प्रसतुतिहरु पनि बिस्थापित हुँदै गएका छन् । विवाहमा प्रस्तुत हुने फाग सगुन पनि बिस्तारै कम हुँदै गएका छन् भने डोटेली लोक नृत्यको विशेष पक्ष छलिया नृत्य पनि बिस्तारै कम हुँदै गएको पाइन्छ । विवाह संस्कारमा पनि पश्चिमा आयातित संस्कृति र बजारीकरणको प्रभावमा हराउँदै गएको छ । हाम्रा लोक बाँजागाँजाका ठाउँमा बेण्ड बाँजाको प्रयोग हुन थालेको छ भने विवाहमा पाक्ने लोक परिकारहरु पनि हराउँदै गइरहेका छन् । समाजमा निश्वार्थ रुपमा आफ्नो जिम्मेवारी सम्झेर खाना पकाउने देखि लिएर अतिथिको स्वागत सत्कार गर्ने कार्य पनि व्यवसायको रुपमा परिणत हुँदै गइरहेको छ । विवाहमा प्रयोग हुने लोक पहिरनदेखि लिएर अन्य सामग्रीहरु पनि केही लोप भइसकेका छन् भने केही लोपोन्मुख अवस्थामा रहेका छन् । पश्चिमा संस्कृति र बजारीकरणका कारण विवाह एकदमै खर्चिलो बन्दै गएको छ भने अर्कोतिर हाम्रो पहिचान र मौलिकता पनि गुम्दै गएको छ । विवाहको महत्वपूर्ण भूमिकामा रहेका स्थानीय व्यक्तिहरुले त्यसको लाभ पाउनुको सट्टा आयातति संस्कृति बोकेर बाहिरबाट आएका मानिसहरुले मनग्य फाइदा उठाउने र विवाहलाई एकदमै खर्चिलो बनाइदिएको पाइन्छ । यसबाट एकातिर हाम्रो संस्कृति लोप हुँदै गइरहेको छ भने अर्कोतिर हाम्रो लोककला, सीप र स्थानीय उत्पादन विस्थापित हुँदै गइरहेको छ । हामीले बेलैमा हाम्रो संस्कृति र मौलिकताको संरक्षण गर्न सकेनौँ भने निकट भविष्यमै हाम्रौ मौलिक पहिचान गुम्ने खतरा रहेको छ । हाम्रा संस्कारहरुमा हामीले स्थानीय उत्पादन, कला, सीप र परम्पराको प्रयोग गर्न सकेको खण्डमा हाम्रो पहिचान जोगिने हुँदा यसमा सबैको ध्यान जानु आवश्यक रहेको पाइन्छ ।
.gif)