मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भीमको देह


पश्चिम प्रेस
मंगलबार, वैशाख २७ २०७९
  • 741
    Shares

  • images
    images
    भीमको देह

    यतिबेला म भिमको काँधमा चढेर
    नियालिरहेछु भीमको टाउकाका
    सेता अनि काला कपाल

    भीमले भर्खरै 
    विकासको चुरोट सल्काएर 
    उडाईरहेछ कालो धुवाँ 
    त्यही धुवाँले अहिले राम्ररी देखिएको छैन 
    भीमको अनुहार

    म देखिरहेछु भीमको निधारका 
    साँघुरा , चौडा , सफा , फुस्रा 
    छोटा अनि लामा कैयन भाग्यरेखाहरू

    भीमको तालुमा 
    उडीरहन्थे समृद्धिका पुतलीहरू 
    रोग लाग्नु पूर्व
    यतिबेला
    भीमले गरिरहेछ आफ्नो तालुको उपचार 
    छिट्टै फेरि 
    समृद्धिका पुतली उडिरहनेछन् उसको शिर माथी

    भीमको भीमकाय छातीमा 
    हुर्केको छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
    बाह्रै महिना देखिन्छन् बाह्र सिंगे
    हरेक दिन नजरको किरण हिरणमा पर्ने 
    एक सिङ्गे गैंडा
    हात्ती, जरायो,बँदेल, खरायो
    कागको काँ काँ देखि कोयली को कुहूँ कुहूँ
    पाटेबाघको गर्जन देखि बन कुकुरको भुकाई
    कान सम्मै आउँछन्

    भीमले राखेको छ 
    आफ्नो हृदयमा भम्केनी धाम
    उसै हृदयमा अटाएका छन्
    श्रद्धालाग्दा
    सिद्धनाथ, बैजनाथ,निङलाशैनी, 
    शिव मन्दिर, मस्जित, चर्च

    उसको नशामा बगिरहेछ
    महाकाली नदी
    मिसिएको छन् निली ताल 
    झिलमिला ताल उसकै धमनीमा
     
    खल्लाका डल्ला माथि
    अड्किएको छ
    सेल्फी डाँडाको सेल्फी

    भीमको नाडीमा सजिएको छ एशियाकै गौरब

    भीमको आँखामा 
    विराजमान छ विद्याको विश्व 
    फार वेस्टर्न युनिभर्सिटी,
    रेडियन्ट ,अमिती ,देखि
    साधारण , पूर्णा,भृकुटी सम्म
    परेको छ शिक्षाको सुदृष्टी

    कबड्डी ,भलिबल ,फुटबल ,क्रिकेट
    खेल्न भीम निकै सौकिन छ
    र बनाएको छ लोभलाग्दो कबड्डी हल
    उसै गरी कसैको लागि 
    बन्द नहुने गरी खोलेको छ  
    एउटा ठूलो खुला मंच 

    घुसुडी बजार अब धेरै पाको भइसक्यो
    भैलिसक्यो जताततै
    उसले विश्रामको लागि
    बनाइएको छ ठाउँमा ठाउँमा चोक

    अफसोस१
    यति सम्म सम्पन्न भीमले
    जोगाउन सकेको छैन दिदी बहिनी को इज्जत
    घटाउन सकेको छैन गांजा,गोटी,ड्रग्स खानेको संख्या
    देखिँदै देखिँदैनन् खानेपानीका धाराहरू
    जसरी देखिन्छन् शराबका नहरहरू टोलटोलमा

    भीमले धोका दिएका गाईवस्तु
    हिँडिरहेछन् यायावर भएर 
    भीम कै शोकमा भीम कै चोकमा

    यतिबेला भीमको नाकमा पल्टिरहेछ
    अञ्चल अस्पताल आफै बिरामी भएर
    यदि गर्नै सकिएन उसको उपचार समयमा भने
    निकै संक्रमित हुनेछ भीमको सिङ्गो देह


    प्रतिक्रिया दिनुहोस