आज भन्दा ६ वर्ष अगाडि मैले देखेको त्यो ठाउँमा हालैका दिनमा घुम्ने अवसर जु¥यो, अवस्था अवलोकन पछि त्यहाँका स्थानीयको अभिमत बुझ्ने मन थियो तर त्यो भन्दा पहिले देखेको र अहिलेको अवस्था आफै आँकलन गरेर फरक र परिवर्तन पहिल्याए । एक जना स्थानीय अपरिचितसँग त्यहाँको विकासको अवस्था र स्थानीय निर्वाचनका सन्दर्भमा कुराकानी भए, ज्यादै निराशा, केही भएन, केही गरेनन्, सबै उस्तै हुन्, पुर्वाग्रह र सन्तोष मान्न नसकिने अवस्था, मानौँ उत्तरहरू रेडिमेड बनाइएका छन्, नकारात्मकताको मात्रै प्रशिक्षण पाए जस्तो लाग्यो । मैले पहिल्याएका ५ बर्ष पहिले र अहिलेका वटा परिवर्तन र फरक एकएक गरी राखे र भने अब भन्नुस मैले भेट्टाएका विकासकार परिवर्तन ठिक छन कि छैनन् ?
'हजूर तो त पक्काइ हो '
प्रश्न थपे केही भएन किन भन्नु हुन्छ ? केही त भएकै रहेछ नि ? भएकोलाई त हो भन्न सक्नु प¥यो, उनी अकमकिए,
अर्का एक जना सयाना मान्छेको विचार पनि बुझ्दा, लगभग उस्तै रेडिमेड जवाफ आयो ।
तेस्रा अलि सकारात्मक देखिए, उति बेलाका दुःख सम्जञ्जा त अइल त कथब होइरैछ रे समाज भण्या भाणि गै, बिगड्ड लाछ ।
निर्वाचनको सन्दर्भ पनि चलिरहेकोमा बेला बेलामा थुप्रै नेता तथा कार्यकर्ताहरूको उद्देश्य भएको विकासलाई ओझेलमा पार्दै अर्काले केही गरेन, हामी अब गर्छौँ भन्दै निराशाको व्यापार गर्ने प्रवृतिले सर्वसाधारणलाई आफूतिर लोभ्याउदै अर्कालाई दोषीमात्रै देखाउने गरी नकारात्मक प्रशिक्षण दिनु भोटको राजनीति बाहेक केही होइन । खोटमात्रै देखाएर आफू माथि उक्लने प्रवृतिगत राजनीतिले नेपाली राजनीति प्रति सर्वसाधारणमा भ्रम फैलाइदै छ र राजनीति विकृत बन्दै गएको छ ।
सर्वसाधारणमा असन्तोष हुनु स्वाभाविक हो तर त्यसलाई सकारात्मकता तिर डो¥याएर राजनीति गरिनु पर्दछ । हिजो जितेकाले केही गरेन भन्दैमा नकारात्मकता र असन्तुष्टिको लाभ लिनु भनेको भोलि आफू पनि त्यहीँ हालतमा पुग्नु हो । हाम्रो जस्तो समाजमा सर्वसाधारणका अपेक्षा धेरै हुन्छन् । एउटा निश्चित समय अवधिमा शतप्रतिशत अपेक्षा पुरा गर्नु असंभव हुन्छ । जनतालाई स्थितिबोध गराउँदै प्राथमिकताका आधारमा रक्षमताको आधारमा पुरा गर्न सकिने आश्वासन बाड्नु जायज हुन्छ ।
एउटा नमूनाका रूपमा ५ वर्ष पहिलेको एउटा वडाको लिखित प्रतिबद्धता अहिले आउँदा के कति पुरा भयो ? आँकलन गर्दा ५० प्रतिशत पनि पुरा भएको देखिएन् । गर्नै नसकिने योजना किन पस्किएका थिए त ? सर्वसाधारण लोभ्याउन ?
किन गर्न सकिएन ? यो भयो त्यो भयो । व्यवहार हेर्दा नेतृत्वको इच्छा शक्ति र कार्यक्षमता कमजोर देखियो । नतिजा जनतामा निराशा बढ्यो, गर्न नसक्नेहरू सकेनौ भन्न लाज मान्ने र अर्कातिर औँला ठड्याउने र आफू चोखो बन्ने प्रवृत्ति झन बढेर गएको छ ।
केन्द्रमा विकसित विकृत राजनीतिले तलसम्म गाँज्दै लगेको छ । लोकतान्त्रिक व्यवस्थामा दलहरूको आफ्नो आफ्नो फरक फरक सिद्धान्त, लक्ष्य,उद्देश्य ,कार्यक्रम र साङ्गठनिक प्रणाली हुन्छ । मिसन र भिजन हरेक दलको भिन्नभिन्न नै हुन्छ तर हामी कहाँ नाम फरक भए पनि मति र प्रवृत्ति उस्तै उस्तै हुँदा सपै उसाइ हुन भन्नु पनि नाजायज होइन । सरकार संचालनको र चुनावी मिसन एउटै बनाएर गठबन्धन गर्दा समेत एउटै चुनाव चिन्ह स्विकार्न नसक्नु, मूल सैद्धान्तिक पाटो एउटै समाएर पनि विखण्डनवादी चरित्र रहिरहनु नेताहरूका वैयक्तिक स्वार्थ हावी भएको प्रमाण हो । दलहरू भित्रको अनुशासन यसै प्रवृतिले सखाप पारेको छ र वैयक्तिक महत्वाकांक्षाले राष्ट्रिय स्वार्थलाई केवल घोषणापत्रको आडम्बर बनाइदिएको छ । जन निराशाको एउटा पाटो यो पनि हो ।
भएको कामको जस लिन नेताहरू वैयक्तिक रूपमा आफू जिम्मेवार भएको दम्भ गर्छन तर समग्रतामा नयाँ सोच र भिजनका साथ आर्थिक विकास, वेरोजगारी समाधान, राष्ट्रिय पुँजी परिचालन, आयात प्रतिस्थापन, गरिबी न्यूनीकरण, स्थानीय स्रोतको परिचालन, दिगो भौतिक विकास, प्रतिभा पलायनको रोकथाम, जस्ता कुराहरूमा पछिल्ला सरकार असफल रहेका छन। व्यवस्थाको जतिसुकै विरोध गरिए पनि पंचायतकालमा महेन्द्र राजमार्गको थालनी, सार्वजनिक संस्थानहरूको स्थापना र राष्ट्रिय शिक्षा पद्धति २०२८ महत्वपूर्ण उपलब्धि हुन । पछिल्लो समयमा राजनैतिक लफडाबाजीले सरकारहरूको बदनाम भए पनि केही भयेकै छैन भन्ने मनोविज्ञान प्रचारित भयो । गर्नै नसकिने अवस्था थिएन, लुछाचुडी र अलमलमै समय व्यतित भए पछिल्ला ५ बर्ष, गर्न सकिने प्रचुर सम्भावना थिए र छन् । उदाहरणका लागि हरेक प्रदेशले आआफ्नो प्रदेशमा एउटा एउटा बृहत मोडेल प्रोजेक्ट पुरा गर्न सक्थे चाहे त्यो उद्योग होला वा विद्यालय, पावरहाउस, खानी, अस्पताल । यहाँ त ५बर्षमा प्रदेश नामाकरण र स्थायी प्रादेशिक राजधानी स्थापनामै झंझट देखिए । सुदूरपश्चिममा डाक्टरको अभाव छ, हरेक पालिका र प्रदेशले अनावश्यक खर्च कटौती गर्दै १०० जना स्थानीय डाक्टर उत्पादन र गेटा मेडिकल कलेज चलाउन सक्थे या कनिका छरे झैँ तदर्थवादी सडकमा छरिएको बजेटले महाकाली र सेती करिडोर फास्टट्रयाक बन्थे त्यसले दीर्घकालीन असर छोडथ्यो, पालिकापालिकमा बजेटको लुछाचुँडी छ, चित्त बुझाउने काम देखिन्थ्यो । केही भएको छैन् भन्नेमा सबैले हो मा हो मिलाउँदै गफ चुटने अवस्था मात्रै चाही होइन । शिक्षा, सडक, बैङ्किङ, सञ्चार स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा प्रगति भएकै अवस्था हो । सार्वजनिक र नीजि प्रयास थुप्रै भएका छन तर केही विकृति र केही कमजोरी विद्यमान रहदा सकारात्मकता ओझेलमा परेको छ । सरकार सञ्चालनमै पनि सकारात्मक सन्देश दिन सक्ने गरी मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालले दूरगामी असर नछोडेको होइन, तर पछिका सरकारहरूले नयाँ प्रयोग ल्याए पनि सुसञ्चालनमा कसर बाँकी रहे ।
विगत ३०÷ ३२ बर्ष यता देशको राजनीतिमा केही थोरै नेताहरूको हालिमुहाली छ, जतिसुकै अहंकार गरे पनि विपि कोइराला र मदन भण्डारी बाहेक राजनीतिको सैद्धान्तिकिकरणमा अहिले सिण्डिकेट चलाइ रहेका ठूला नेताहरू र दलहरू असैद्धान्तिक भुमरिमा छन् । सत्ताको मियो वरिपरि लडिबुडी खेलिरहेका दल र तिनका नेताको प्रवृति सार रूपमा नफेरिएकै कारण धेरैले सप उसाइ हुन भन्नु त्यति नाजायज होइन् । सकारात्मक चिन्तन, कार्यशैली र फरकपनको आभास दिन सक्ने राजनैतिक, सामाजिक सांस्कृतिक अगुवा नभएका होइनन्, छन् तर सबैलाई उहीँ नजरियाबाट हेर्ने र खोटमात्रै पहिल्याउने, सकारात्मकता प्रोत्साहन नगर्ने टाठाबाठाहरूको बिगबिगीले असल चरित्रहरू ओइल परेका छन् ।
.gif)