शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बालबालिकाको सिकाइमा शिक्षक मात्रै जिम्मेवार किन ?


आइतबार, जेठ १५ २०७९
  • 994
    Shares

  • images
    images
    बालबालिकाको सिकाइमा शिक्षक मात्रै जिम्मेवार किन ?

    बालबालिकाको प्रथम पाठशाला घर र प्रथम गुरु आमालाई मानिन्छ । बालकको नजिक सबैभन्दा पहिले आमा हुने भएकाले सर्वप्रथम उसले आमाबाट नै हाउभाउ तथा बोलि सिक्दछ । त्यसपछि उसको नजिकमा रहने भनेका घरपरिवारका सदस्याहरु हुन् । आमापछि उसले घरपरिवारका सदस्यहरुबाट सिक्ने गर्दछ । बालकले भाषादेखि लिएर विभिन्न संस्कार तथा नैतिक आचरणका कुरा सर्वप्रथम घरबाट र त्यसपछि समाजबाट सिक्ने गर्दछ । जब बालक विद्यालय जान्छ त्यपछि ऊ घरपरिवारका साथै शिक्षक तथा साथीभाईहरुको सम्पर्कमा पनि रहन थाल्दछ । उसले अब घरपरिवार मात्र नभएर विद्यालयबाट पनि सिक्न थाल्दछ । यसरी उसको सिकाइको क्षेत्र फराकिलो बन्दै जान्छ । उसले घर, विद्यालय, साथीभाई तथा समाज चारैतिरबाट सिक्दै जान्छ । यसरी विद्यार्थीको सिकाइ त्रिकोणात्मक सम्बन्धबाट हुने भए पनि बिडम्बनाको कुरा त के हो भने हिजोआज बालबालिकाको सिकाइमा शिक्षकको मात्रै हात भएजस्ता थुप्रै अभिव्यक्तिहरु आउन थालेका छन् । हिजोआज सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका नवनिर्वाचन नगरप्रमुख बालेनको तस्बिर सहितको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त अभिव्यक्तिमा विद्यार्थीको सिकाइमा केवल शिक्षक मात्र दोषी रहेको कुरालाई उल्लेख गरिएको छ जसलाई थुप्रै व्यक्तिहरुले पनि समर्थन गर्दै आइरहेका छन् । अपवादका रुपमा केही विद्वान तथा शिक्षाक्षेत्रमा लागे व्यक्तिहरुले केही टिप्पणी गरे पनि बढीजसोले शिक्षक नै दोषी हुने कुरामा समर्थन गरेको देखियो ।  विद्यार्थिको सिकाइका लागि शिक्षक मात्रै पूर्ण जिम्मेवार हुँदैन । बढी समय शिक्षकसँग रहदैमा सिकाइ बढी हुने र कम समय शिक्षकसँग रहदैमा सिकाइ कम हुने भन्ने होइन । सिकाइका लागि बालबालिकाहरुलाई सर्वप्रथम उचित वातावरण हुनु आवश्यक हुन्छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यले पनि सिकाइमा प्रभाव पारेको हुन्छ । त्यसै गरी घरपरिवार तथा समाज तथा साथीसंगत लगायत विभिन्न वातावरणले पनि उसको सिकाइमा थुप्रै प्रभाव पारिरहेको हुन्छ । विद्यालय लगाउदैमा र शिक्षकको जिम्मा छोड्दैमा विद्यार्थीले सबै कुरा सिक्छ भन्नु मूर्खता हो । सर्वप्रथम बालबालिका आफैले सिकाइका लागि तयार हुन सक्नु पर्दछ । बालबालिकालाई सिकाइका लागि तयार पार्ने वातावरण निर्माण गर्न घरपरिवार, समाज, विद्यालय, शिक्षकका साथै राज्यको कर्तवय हुन्छ । जब बालबालिकालाई सिकाइको उचित वातावरण बन्दछ तब मात्र उसको सिकाइ सम्भव र गुणस्तरीय हुन्छ । यसकारण सिकाइका लागि शिक्षक मात्र जिम्मेवार हुँदैन् । शिक्षाक्षेत्रमा काम गर्ने र सिकाइको बारेमा धेरै कुरा अरुभन्दा बढी जान्ने भएकाले अन्य भन्दा शिक्षक बढी जिम्मेवार हुनु स्वभाविक हो । शिक्षकले बालबालिकाका साथै अभिभावकलाई पनि सिकाइको वातावरण र प्रक्रियाका बारेमा जानकारी पनि दिनुपर्दछ तर बालबालिकाको सिकाइमा हुने कमजोरीको सबै दोष शिक्षकलाई मात्रै थुपार्न मिल्दैन । सरकारले बालबालिकाको सिकाइका लागि केकति गरेको छ र के अरु गर्न सकिन्छ भन्ने सोच्नुको साटो शिक्षकलाई दोषको भारी थुपारिदिएर पन्छिनु अल्पज्ञान बाहेक केही होइन । यसै शैक्षिकसत्रमा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन्, शिक्षकले शिक्षण सामग्री पाउन सकेका छैनन् । कुनै पनि व्यक्तिले एकलौटी रुपमा शिक्षकलाई दोष थुपार्नु कुनै किसिमले पनि उचित हुँदैन । यसकारण बालबालिकाको सिकाइका लागि शिक्षक मात्रै जिम्मेवार होइन । 




    प्रतिक्रिया दिनुहोस