अहिलेको समाज सस्तो लोकप्रियता र चर्चामा रमाउँदै गइरहेको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग व्यापक रुपमा हुँदै गएपछि मानिसले आफूले गरेका हरेक कुरालाई सबैमाँझ सार्वजनिक गर्ने प्रचलन बढ्दै गइरहेको छ । मानिसहरु व्यक्तिगत सरोकारका विषयहरुलाई पनि जतिसक्दो चाँडो सार्वजनिक गर्न लालायित भएका छन् । आफूले खाएको, लाएको, बोलेको, हाँसेको, पढेको, लेखेको आदि जस्ता व्यक्तिगत सरोकारका कुरादेखि लिएर सार्वजनिक महत्वका सम्पूर्ण कुरालाई तुरुन्त सार्वजनिक गर्ने प्रचलन बढ्दै गएको छ । विशेष गरेर यस्ता विषयवस्तुलाई सामाजिक सञ्जालका माध्यमबाट मानिस दुनियाँमाझ प्रचार गर्न चाहान्छ । अहिलेको समयमा गोपनयि भनेको केही कुरा पनि रहन सकेको छैन् । मानिसले सार्वजनिक रुपमा देखाउन नहुने कुराहरु पनि सहज रुपमा सार्वजनिक गरेर केही लाइक, कमेन्ट र प्रतिक्रियाहरुमा रमाइरहेको छ । मानिस कुनै काम गर्नुअघि नै त्यसको प्रतिफल र प्रशांसा खोज्दै गएको छ । कामका लागि लाम गर्नुभन्दा पनि चर्चाका लागि काम गर्ने बानीको विकास हुँदै गएको छ । मानिसले म यो भोलि यो काम गर्नेछु भन्नेदेखि लिएर, भोलि कामको सुरुवात गरे भनेर पनि सामाजिक सञ्जालबाट प्रस्तुत गरिरहेको छ । यसबाट मानिस आवश्यकताका लागि भन्दा पनि देखाउनका लागि काम गरिरहेको प्रष्ट हुन्छ । देखाउनैकै लागि भए पनि काम गरियो भने त ठिकै हो तर धेरैजस्तो त देखाउनका लागि काम गरेजस्तो मात्रै गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । कहिले खेति किसानी नगर्नेहरु धान रोप्ने समयमा अर्कैको खेतमा गएर पनि धान रोपेजस्तो गरी तस्बिर लिने, मन्दिरमा पूजापाठ र ध्यान गर्नुभन्दा पनि सहभागिताको तस्बिर देखाउने, सांस्कृतिक सहभागितामा पनि केवल एक स्ट्याटस र तस्बिरका लागि सहभागी हुने जस्ता थुप्रै कार्यहरु केवल देखाउनका लागि हुन थालेका छन् । यति मात्र नभएर सामाजिक सञ्जालमा आजभोलि भाइरल शव्दको अत्यधिक प्रयो हुन थालेको छ । यस्ता भाइरल हुन चाहाने व्यक्तिहरुले त्यस्सको दीर्घकालीन असरको ख्याल नगरिकन सस्तो लोकप्रियता र आर्थिक लाभका लागि जस्तोसुकै काम पनि सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको छ । जस्ले काम भन्दा पनि केही समयको नाम र दाम मात्रै मिल्ने गरेको छ । अहिलेको सम्बन्ध पनि सामाजिक सञ्जालकै सक्रियताका आधारमा हुने गरेको पाइन्छ । कतिपय सामाजिक सम्बन्धहरु सामाजिक सञ्जालकै क्रियाप्रतिक्रियाहरुका आाधारमा परिचित हुँदै गइरहेका छन् । हाम्रो समाजमा जिउादाको जन्ति र मर्दाको मलामी भन्ने मान्यतालाई पनि सामाजिक सञ्जालले कव्जा गरेपछि केही देखावटी झिनो सम्बन्ध बाँकी रहे पनि वास्तविक रुपमा त्यसको लाभ समाजले लिन सकेको छैन् । मानिसहरु कोही मर्दा उसको घरमा गएर आफन्तजनहरुप्रति समवेदना र सहानुभूति प्रकट गरी एकदिनका लागि भए पनि सामाजिक रुपमा उसको दुःखमा साथ दिनुको साटो सामाजिक सञ्जालमा एउटा तस्बिर खोजेर श्रद्धाञ्जली दिएर दुःख प्रकट गरेजस्तो देखाउँछ र वास्तविक रुपमा दुःखी बन्न सकेको हुँदैन् । त्यसै गरी विवाह, व्रतबन्ध तथा अन्य सामाजिक, सांस्कृतिक कार्यमा पनि सक्रिय सहभागिता नगरी सामाजिक सञ्जालबाटै खुसी प्रकट गरेजस्तो देखाउँछ । वास्तविक रुपमा मानिसले गर्नुपर्ने काम नगरी केवल काम गरेजस्तो देखाउने प्रचलनले हाम्रा सम्बन्धहरु पनि सस्ता हुँदै गएका छन् ।
अहिलेको मानिस कामभन्दा पनि देखावटीपनमा रमाउँदै गइरहेको छ । विगतमा हाम्रा पुर्खाहरुले कयौँ वर्ष लगाएर कमाएको मानसम्मान अहिलेको मानिस तुरुन्त कमाउन चाहान्छ । उसलाई उक्त कामको असर पछिसम्म रहोस् भन्ने हुँदैन बरु तत्काल कसरी भाइरल हुने भन्ने चिन्ता बढी छ । कतिपय अवस्थामा त मानिसको मूल्यांकन समेत सामाजिक सञ्जालकै क्रियाप्रतिक्रियाका आधारमा हन थालेको छ । थुप्रै लाइक, कमेन्ट र फ्लोअसै हुने बित्तिकै मानिस महान हो भन्ने सोचाइ अहिलेको पुस्तामा बढेको छ । मानिस आफ्नो कामले आफूलाई लोकप्रिय बनाउनुको साटो जुनसुकै हत्कण्डा अपनाएर भए पनि फ्लोअर्स, भ्युज, लाइक तथा कमेन्ट बढाउनतिर लाग्दछ । कतिपय व्यक्तिहरुले त नेताहरुले जबरजस्ति भोट मागे विभिन्न व्यक्तिहरुलाई लाइक, कमेन्टको तथा फ्लोअपको भिख माग्दै हिडिरहेको देखिन्छ । यतिसम्मको त कुरै छोडौँ कतिपय व्यक्तिहरु त विभिन्न नामबाट आइडी खोलेर आफ्नै स्ट्याटसमा आफै लाइक कमेन्ट र फ्लो पनि गर्दै हिडेको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने ऊ आफ्नो कर्मबाट चिनिन चहाँदैन अन्य सटकट विधिबाट केही समयका लागि भए पनि चर्चामा आउन चाहान्छ । यस्तो विकृति शिक्षा, स्वास्थ्य, कलाकारिता, साहित्य तथा राजनीतिकमा पनि बढ्दै गएको पाइन्छ छ । यसको प्रमाणका रुपमा वर्तमान समयमा भइरहेका सुन्दरसुन्दरी प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतमा पनि प्रसस्त देखिन्छ । कला भन्ने कुरा कसैले जबरजस्ति गर्दैमा मन पराइने कुार होइन् । उसले सम्बन्ध र अनुरोधबाट चर्चा र भोट कमाउनुभन्दा पनि कलाकारिताले नै मन जित्नुुपर्ने हुन्छ । तर यस्तो नभएर यसका लागि पनि गैर बाटाहरु अपनाएर भए पनि मानिस अरुभन्दा अगाडि र चर्चामा आउने प्रवृत्ति बढ्दै गएको छ ।
वर्तमान समयमा यसको असर पत्रकारिताका क्षेत्रमा पनि पर्दै गइरहेको पाइन्छ । पत्रकारिताका क्षेत्रमा पनि भ्युवर्स बढाउनका लागि अत्तेजनामूलक शीर्षक राख्ने, भित्रको समाचार एकातिर बाहिर अर्कै कुार देखाउने तथा कतिपय अवस्थामा समाजिक मर्यदा तथा त्यसको पछि हुने असरको ख्यालै नगरी सामग्री सम्प्रेषण गर्दै आइरहेको पाइन्छ । कतिपय अवस्थामा आफू चर्चामा आउनकै लागि मानिसहरु गर्न नहुने र सामाजिक रुपले बन्देज गरेका कार्यहरु पनि गर्न पछि परेका हुँदैनन् । यसले व्यक्तिका व्यक्तिगत कुराहरुलाई पनि प्रचार गरेर कयौँ मानिसको मान मर्यादा र इज्जत समेत पानीमा मिलाइदिन पछि पर्दैनन् । जिउँदै मान्छेलाई मार्नेदेखि लिएर कतिपय नभएका कुराहरुलाई समेत चर्चा कमाउन र अर्काको हानी गर्नकै लागि झुटा सामग्री सम्प्रेण गर्दै आइरहेका र कतियप अवस्थामा यस्ता क्रियाकलापले मानिसको घरबाट बिग्रिनुका साथै कतिको ज्यानै समेत गएका प्रसस्त घटनाहरु देख्न सुन्न पाइन्छ ।
समग्रमा भन्नुपर्दा अहिलेको मानिसमा कामको गुणस्तरले भन्दा पनि सित्तैमा चर्चामा आएर लाभ उठाउने प्रवित्ति बढ्दै गएको छ । आफ्नो व्यवहार र कृतिहरुले आफुनो नाम सदाका लागि अमर राख्नुभन्दा पनि आजको दिनलाई कसरी भाइरल हुने भन्ने प्रवित्ति बढेको छ । आजको मानिस भोलिका लागि नसोच्ने र सबै कुरा आजै भएको हेर्न चाहाने प्रवृत्ति बढ्दै गएको छ । यसको कारणले एकातिर समाजको प्रगति रोकिएको छ भने अर्को तिर गुणस्तरमा कमी आएको छ । पित्तलमा सुनको जलप लगाए जस्तो सस्तो आकर्षणमा मानिस हराँउदै गइरहेको छ । यसका कारण वास्तविक काम गर्ने मानिस सधैँ पछि परेको छ भने टाँठाबाठा मानिसले सस्तो लोकप्रियताको लाभ उठाइरहेका छन् । यस्तो सस्तो लोकप्रियता र चर्चामा रमाउने प्रवित्तिले समाजलाई निकै ठूलो असर पर्दै गइरहेको हुनाले सस्तो लोकप्रियता भन्दा पनि भविष्यका लागि सोच्न सके मात्रै मानिसको असली पहिचान पछिसम्म रहने कुरामा सबैले ध्यान दिनु जरुरी रहेको छ ।
.gif)