केही दिन अघि धनगढीमा आफु निकट कार्यकर्तालाई सम्बोधन गर्दै नेता भीम रावलले भने –“म उपप्रधानमन्त्री हुँदा, गृहमन्त्री हुँदा तपाईंका लागि ज्यान दिन्छौं भन्ने मान्छेहरु धेरै थिए सुदूरपश्चिममा । तर उबेला ज्यान दिन्छौं भन्नेहरु आज मसँग टाढिएका छन् ....।”
रावलले आफ्ना पूर्वकार्यकर्तालाई व्यङ्ग गर्न खोजेका थिए । तर गहिराईमा गएर विश्लेषण गर्ने हो भने त्यो रावल स्वयंप्रतिको व्यङ्ग पनि थियो । पद या शक्तिमा रहँदा आफ्ना लागि ज्यान दिनसक्ने कार्यकर्ता बनाएका उनले पद बाहिर रहँदा त्यस्ता कार्यकर्ता आफुसँगै किन राख्न सकेनन् ? या त्यस्ता कार्यकर्ता किन तयार गर्न सकेनन् ? उनले पछिल्लो भाषण गर्दाको दिनसम्म पनि न कोही नेता त्यस्तो पदमा पुगेको छ न त दलमा उनको विकल्पमा नेता तयार भएको छ ता कि नयाँ नेताले उनका कार्यकर्तालाई प्रलोभनमा पारेर छिन्न सकोस । र पनि उनीबाट ज्यानै दिने कार्यकर्ताहरु किन टाढिए ?
पार्टी फुटको संघारमा पुगेका बेला भीम रावल र केपी ओलीको गोप्य भेटले राजनीतिमा नयाँ तरङ्ग ल्याएको थियो । रावलको योजना अनुरुप ओली ‘कन्भिन्स’ भएव, अव एमाले राजनीति ठीक ठाउँमा आउँछ भन्ने हल्ला व्यापक रुपमा फैलियो । धेरैले रावललाई राजनीतिको मियो समेत भन्न भ्याए । तर पछिल्लो समयसम्म आइपुग्दा रावलको विगतको विरासत गल्र्यामगुर्लुम ढलेको छ । भेलमा बगेर किनारा लागेको मुढोजस्तो देखिएका छन् यतिवेला रावल ।
हप्तादिन अघिसम्म पनि नयाँ पार्टी निर्माणका लागि तयार रहन कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका रावल एकाएक एकताको राग अलाप्न थालेपछि कार्यकर्ताको विश्वास नामेट भएको हो । निश्चित नीति सिद्धान्त र दृष्टीकोणमा अडिग नरहने, व्यक्तिगत स्वार्थका लागि बार्गेनिङ्ग गर्ने, कार्यकर्तालाई गुमराहमा राख्ने, कार्यकर्तालाई दासको जस्तो व्यवहार गर्ने, सुदुरपश्चिमको विकास निर्माण र समृद्धिका लागि कुनै योजना नभएको, केवल आत्मरतिमा रमाउने जस्ता आरोपहरु रावलमाथि यतिवेला उनका विश्वासिला कार्यकर्ताले समेत लगाउन थालेका छन् ।
०००
लामो समय प्रचण्डले काखी च्यापेका कारण सुदूरपश्चिम माओवादीमा निर्विकल्प जस्तै बनेका लेखराज भट्टको स्थिति पार्टी परिवर्तन गर्दा भने दयालाग्दो देखियो । करिव दुई दशक एकछत्र, एकलौटी सङ्गठन चलाएका उनीसँग अन्तिम अवस्थामा दश प्रतिशत नेताकार्यकर्ता पनि देखिएनन् ।
अहिले माओवादीभित्र खास राजनीतिक आदर्श, दर्शन र दृष्टीकोण नभएका नेताको रुपमा भट्टलाई हेरिन थालिएको छ । जनयुद्धताका पनि केन्द्रमा जाँदा प्रचण्डको लाइनमा उभिने तर सुदूरपश्चिममा आउँदा बाबुरामको कार्यनीतिको प्रचार गर्ने गरेर कार्यकर्ताहरुलाई गुमराहमा राख्ने गरेको जनयुद्धकालिन कार्यकर्ताहरु बताउँछन् । करिव दुई दशक थारु, जनजाती, अल्पसंख्यकहरुको पहिचानको मुद्धा बोकेर राजनीति गरेका उनी संघियता निर्माणमा भने अखण्ड सुदूरपश्चिमको नारा लाएर विगतका आफ्नै सहयोद्धा र लाखौं अल्पसंख्यकहरुमाथि घोर अपमान गरे । पार्टीले त्यसो नगर्न निर्देशन गर्दा क्षेत्रिय पार्टी स्थापनाको छलफल अघि बढाए । अखण्ड सुदूरपश्चिमको नारा तराई र पहाड दोहोरो शासन गरिरहेका केही सिमित पहाडिया वर्गको स्वार्थमा पहाडी जिल्लालाई झन्झन् दरिद्र बनाउने खेल बाहेक अरु केही थिएन भन्ने कुरा वर्तमानमा प्रमाणित भएको छ ।
सङ्गठनको नेतृत्वमा रहेर पनि भट्टले सङ्गठन निर्माणमा कहिल्यै ध्यान दिएनन् । शक्तिकेन्द्रहरुको नजिक बस्ने, दलाल विचौलिया र ठेकेदारहरुसँग सम्बन्ध बनाउने, भेगिय नारा दिएर फरक राजनीतिक आस्थाका मान्छेहरुलाई अवसरमा पु¥याउने तथा पार्टीमा वर्षौं योगदान गरेका कार्यकर्तालाई निराश बनाउने, कार्यकर्तासँग टाढै बस्ने बरु पुख्र्यौली गाउँ, टोल, जिल्ला, भेग आदिको आधारमा भोट खोज्ने उनका केही स्वभावहरुसँग आम कार्यकर्ताहरु परिचित थिए ।
यस्ता कारणले माओवादी राजनीतिको अन्तिम समयसम्म आइपुग्दा उनी एक असफल नेताको रुपमा चित्रित भए । पछिल्लो समय उनले रोजेको दल नेकपा एमालेमा उनको यात्रा झनै कठीन र अनिश्चित देखिन्छ ।
०००
२०५२ मा पहिलो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा हालसम्म कुल पाँच पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । उनको हरेक पटकका कार्यकाललाई जनताले सकारात्मक भन्दा नकारात्मक अर्थमा बढी सम्झने गर्छन् । संसदमा बहुमत प्राप्त प्रधानमन्त्री हुँदा संसद विगठन गरेको, देशमा शंकटकाल लगाएर जनतालाई चरम यातना दिएको, जनताको रगत पसिनाबाट स्थापित प्रजातन्त्रलाई दरवारमा बुझाएको, अभिवयक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको, सार्वजनिक सञ्चार माध्यममा अपृय अभिव्यक्तिहरु दिने गरेको जस्ता देउवाका चरित्रहरु जनताले अक्सर सम्झिने गरेका छन् । तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको टकरावको कारण सनकको भरमा पार्टी विभाजन गरेको तर विभाजनको औचित्य सावित गर्न नसकेको, बरु पछि गल्ती आत्मालोचना गर्दै कोइरालाकै शरण परेको घटना पनि उनको राजनीतिक असफलताको अर्को चित्र हो ।
पछिल्लो पटक प्रधानमन्त्री बनेको दुई महिनाको दौरान उनको असफलताका शृंखालाहरु बृद्धि हुँदै गैरहेका छन्् । कुशल नेतृत्वमा हुनुपर्ने बौद्धिकता, वाककला, प्रविधिक ज्ञान, संगठन शैली जस्ता कुराको अभाव महसुस गर्छन उनकै कार्यकर्तारु । उनले नेतृत्व सम्हालेदेखि नै उनको दलिय सङ्गठन धरासायी बनेको छ । न त उनको नेतृत्वमा रहेको संसदिय दलले संसदमा बलियो प्रतिपक्षको भूमिका नै देखाउन सक्यो । उसो त आफ्नो प्रदेश र जिल्लाको बिकास र समृद्धीको लागि समेत ठोस योजना उनले कहिल्यै देखाएनन् ।
यस्ता तमाम कमजोरीका वावजुद पनि उनले गृहजिल्लामा निरन्तर भावनात्मक भोट पाइरहेका छन्, शक्तिकेन्द्रहरुको विश्वासमा छन्, दलाल विचौलियाहरुले उनलाई सजिलै उपयोग गर्न सक्छन् । यस्ता कारणले उनको वैयक्तिक राजनीतिक यात्रा ओरालो लागेको छैन ।
०००
वर्तमानमा चर्चामा रहेका तथा सक्रिय राजनीतिमा रहेका केही नेताका उदाहरण मात्र हुन यी । जसलाई सुदूरपश्चिमका जनताले बढी विश्वास गरेका थिए, प्रदेशको समृद्धिमा यिनको सक्रियता र महत्वपूर्ण योगदानको अपेक्षा गरेका थिए । साथै राष्ट्रिय राजनीतिमा यिनीहरुको अर्थपूर्ण उपस्थितिबाट प्रदेशको पहिचान स्थापित हुने अपेक्षा पनि गरेका थिए । तर वर्तमानमा अग्रपंक्तिमा रहेका यी नेता सहित पछिल्लो पुस्ताका आशलाग्दा केही नेताहरु समेत एकपछि अर्को असफलताको सुली चढ्दै गैरहेका छन् ।
उसो त सुदूरपश्चिममा नेतृत्वको उदय, अभ्यास र अवसानको इतिहाँस निकै पुरानो छ । त्यसमध्ये एकाध व्यक्तिहरु आफ्ना कर्ममा सफल पनि देखिएका छन् । तर अधिकाँशको राजनीतिमा निराशाजनक अवरोहण देखिएको छ ।
नेपालको राजनीतिक सामाजिक आन्दोलनमा पहिलो शहिदको रुपमा चिनिन्छन् –बाँकाबीर । तर उनको संघर्षको इतिहाँस र जीवनबृत्तको चर्चा ज्यादै कम मात्रै हुने गरेको छ । जहानियाँ राणा शासनबाट देशलाई मुक्त गर्न कठोर संघर्ष गरेका र पछि राणा शासकद्वारा निर्ममतापूर्वक हत्या गरिएका शहिद दशरथ चन्दको पनि रानीतिक रुपमा खासै चर्चापरिचर्चा हुने गरेको देखिदैन् ।
सामाजिक रुपान्तरण र जनताको मुक्तिका लागि थालिएका सबै प्रकारका सामाजिक अभियानहरु सचेत राजनीतिकै आयामहरु हुन । यस आधारमा हेर्दा सुदूरपश्चिममा जन्मेका धेरै व्यक्तिले राजनीतिक नेतृत्वको अभ्यास गरेको पाइन्छ । तर इतिहाँसदेखि नै अनुपातिक रुपमा पछि परेको सुदूरपश्चिमलाई समृद्धिको बाटोमा डो¥याउन भने सबैजसो नेता असफल नै देखिन्छन् ।
०००
नेपाली सामाजिक रुपान्तरणको इतिहासमा अग्रपंक्तीमा आउने नाम हो जयपृथ्वी बहादुर सिंह । राणा शासनकालमा अहिलेजस्तो खुला राजनीतिक अभ्यासको अवसर नभए पनि सामाजिक कर्मको आवरणमा उनले यथेष्ठ राजनीतिक कर्महरु गरेको मान्न सकिन्छ । राणा परिवारसँगको नाता साइनोलाई उनले सामाजिक परिवर्तनको अस्त्रको रुपमा उपयोग गरे । देशमा पहिलो पटक जनताका लागि शैक्षिक विकासको जग निर्माण गरे । लेख्नपढ्न बन्देज लागेको उक्त समयमा जनताका छोराछोरीलाई शिक्षा दिने र त्यहींबाट उनीहरुको चेतना अभिबृद्धी गर्ने काम गर्नु आफैमा एक जोखिमपूर्ण र महत्वपूर्ण राजनीतिक सामाजिक कर्म हो । बझाङ्गमा जन्मेका सिंह अँध्यारो युगमा राष्ट्रको उज्यालोका सम्बाहक बने । यद्यपी जीवनको उत्तराद्र्ध उनको पनि सुखद रहन सकेन । तर राजनीतिक र सामाजिक उपलव्धीको आयामबाट हेर्नेहो भने उनलाई सबैभन्दा सफल नेता मान्न सकिन्छ ।
०००
सुदूरपश्चिममा किसान आन्दोलन थालेका भिमदत्त पन्त एक सशक्त क्रान्तीकारी नेता थिए । देशमा प्रजातन्त्रको समेत उदय नभएको अवस्थामा उनले गण्तन्त्रको आवाज उठाए । गरीव सर्वहारा, दलित, आदिवासी जनजाती तथा अल्पसंख्यकहरुका हकअधिकार स्थापित गर्नका लागि उनले सशस्त्र क्रान्ति चलाए । विचार, स्वभाव, अभियान तथा संगठन शैली हेर्दा भीमदत्त एक विलक्षण नेताको रुपमा अघि बढिरहेका थिए । उनको व्यक्तित्वले नेपालको सरकार मात्र हैन भारतिय सरकार पनि त्रसित थियो । प्रजातन्त्रको उदयपछि नेपाली काँग्रेसको नेतृत्वमा बनेको पहिलो सरकारले किसान नेता भीमदत्त पन्तलाई मृत्यु उपहार दियो । नेपाली राजनीतिमा सुदूरपश्चिमबाट उदाउँदै गरेको एक चम्किलो तारा खस्यो ।
०००
संयुक्त प्रजातन्त्र पार्टीका तर्फबाट डा केआई सिंह वि सं २०१४ श्रावणमा देशको प्रधानमन्त्री बने । उनले करिव ४ महिना मात्र सरकार चलाउन सके । राजनीतिमा उनको पुनरागमन भएन । न त उनको कार्यकाल कुनै दृष्टीकोणबाट उपलव्धीमूलक या स्मरणीय नै रह्यो ।
०००
पञ्चायतकालमा वि सं २०४० मा पहिलोपटक प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्द २०४६ चैत्र देखि २०४७ बैशाखसम्म दोस्रो पटक प्रधानमन्त्री बने । प्रजातन्त्रको पुनस्थापनाका लागि जनआन्दोलन चर्किदा त्यसलाई दवाउने उद्देश्यले मात्र चन्दलाई सत्तारोहण गराइएको थियो । जसको कारण उनी जनताका नेता भन्दा पनि राजाका सेवक र पञ्चायतका हिमायति पात्रको रुपमा स्थापित भए । तत्पश्चात पनि उनी थप दु्ई पटक प्रधानमन्त्री नियुक्त भए । तर चार पटक सम्म प्रधानमन्त्री हुँदा पनि आफ्नो जिल्ला र आफ्नो क्षेत्रमा समेत कुनै सानो विकास निर्माणको काम नगरेको आरोप उनको जिल्लावासीले लगाउने गरेका छन् । तत्कालिन राजाको पृयपात्र बनेर राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभावशाली नेत बनेका चन्दले त्यसलाई लामो समय कायम राख्न सकेनन् । आज न त उनको विचार सिद्धान्त बिकसित भएको छ न त उनको सङ्गठन नै मजबुद छ । त्यही झीनो सङ्गठनमा पनि उनले आफ्नो विरासत कायम राखिराख्न सकेनन् । राजनीतिक जीवनको उत्तराद्र्धमा पुग्दा उनी आफ्नै अनुज नेताकार्यकर्ताद्वारा किनारा लगाइए ।
०००
नेपालमा कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेको वेला सुदूरपश्चिमबाट प्रेमसिंह धामीको उपस्थिति हस्तक्षेपकारी रुपमा देखियो । उनले दलिय सङ्गठन, संसद तथा सत्तामा सुदूरपश्चिमका थुप्रै महत्वपूर्ण मुद्दाहरु सशक्त रुपमा प्रवेश गराए । राष्ट्रियतासँग जोडिएका संवेदनशील मुद्दाहरुदेखि यो क्षेत्रका सामाजिक, साँस्कृतिक तथा विकास निर्माणका मुद्दहरुलाई आम बहसको विषय बनाए । बातैद्धिकता, अध्ययनशीलता, वाककला, सङ्गठनशैली, कार्यकर्ता तथा आम जनतामाझको लोकपृयता आदि कारणले उनलाई नेकपा एमालेको भावी नेतृत्वको दावेदारको रुपमा समेत हेरिएको थियो । तर अल्पायुमै उनको हत्या (निधन) भयो । सुदूरपश्चिमबाट उदाइरहेको आशलाग्दो नेतृत्वको अवसान भयो ।
०००
देशमा संघियताको बहस चरम उत्कर्षमा पुगेका बेला अखण्ड सुदूरपश्चिमको नारा दिएर एक सानो समुह झुल्क्यो । आफ्नो अभियानको केही दिनमै त्यसले सुदूरपश्चिमको ठूलो हिस्सा उचाल्यो । वर्षौंदेखिका स्थापित दल, तिनका नेताकार्यकर्ता तथा सामाजिक अगुवाहरु त्यो आन्दोलनमा होमिए । अखण्ड सुदूरपश्चिमको उपादेयता कति थियो र आज त्यसको औचित्य कसरी नामेट भयो, त्यो फरकै बहसको विषय होला तर त्यो समयमा उक्त नाराले सुदूरपश्चिममा नयाँ राजनीतिक शक्तिको उदयलाई संकंत गरेको थियो । सामाजिक अभियानका रुपमा केही समय सफल जस्तो देखिएको अखण्ड सुदूरपश्चिम राजनीतिक रुपमा भने नराम्ररी पछारियो । व्यक्तिगत स्वार्थ, दर्शन तथा दृष्टिकोण विहिनता, आत्मविश्वासको अभाव तथा शक्तिकेन्द्रहरुको प्रलोभन आदि कारणले यसका अभियन्ताहरु तितरवितर बने ।
०००
इतिहास देखि वर्तमानसम्मका केही प्रतिनिधि पात्र हुन यी जसले सुदूरपश्चिममा रहेर राजनीतिक नेतृत्वको अभ्यास गरे । तर उनीहरु मध्ये अधिकाँश पात्र न त राष्ट्रिय रुपमा सफल नेतृत्वको रुपमा स्थापित हुन सके न त प्रदेशको समृद्धीमा उनीहरुको भूमिका सम्झेर सुदूरपश्चिमका जनताले कुनै पात्रप्रति गर्व गर्न नै सकेका छन् । यद्यपी स्वघोषित नेता या कार्यकर्ताका ससाना झुण्डले नेता भनेका पात्रहरु धेरै छन् ।
नेता भन्नु र नेता बन्नु फरक विषय हुन् । नेता स्थापित हुनका लागि आधिकारिक मापदण्ड नभए पनि व्यवहारिक रुपमा मूल्यांकनका न्युनतम आधारहरु तय गर्न सकिन्छ । निश्चित दर्शन, सिद्धान्त, आचरण, व्यवहार बोकेर, देश र समाजप्रति निश्चित दृष्टीकोण तय गरेर राजनीतिक अभियानमा होमिदै मजबुद संगठन र जनविश्वासका साथ कमसेकम दुईतीन दशक आफ्नो मार्गमा अविचलित भएर जो हिंड्न सक्छ र जसले आफ्ना कार्यनीति र रणनीतिका माध्यमबाट समाजमा ठोस परिवर्तन र सुधार गर्न सक्छ उसलाई सक्षम नेता मान्न सकिन्छ । तर यस्ता आधारमा मूल्यांकन गर्दा सुदूरपश्चिममा सक्षम र सफल नेता कोही पनि भेटिन्नन । त्यका कारणहरु धेरै हुनसक्छन् ।
दर्शन, चेतना, विद्वता, राजनीतिक आदर्शजस्ता विषयमा आफुलाई मजबुद बनाउनेतर्फ ध्यान नदिनु । जनता, सङ्गठन तथा सामाजिक कर्मका आधारमा आफुलाई बलियो बनाउने प्रयास नगर्ने बरु केन्द्रका कुनै प्रभावशाली नेताको सेवाचाकडी गरेर संगठनमा छिटो माथि पुग्नेतर्फ मेहनत गर्नु । प्रदेशको सामाजिक, भौगोलिक, आर्थिक धरातल तथा सामरिक महत्वका विषय बुझेर प्रदेशको समृद्धिका खातिर ठोस योजना बनाएर काम नगर्ने बरु हल्का रुपमा बिकासका सतही नारा लगाएर जनतासामु विकासवादी जस्तो देखिने कमजोर प्रयत्न मात्र गर्नु । खास राजनीतिक दर्शन, सिद्धान्त र दृष्टिकोणमा लामो समयसम्म अडिग रहन नसक्नु । सुदूरपश्चिममा असल र सवल नेतृत्व जन्मिन नसम्नुका केही प्रमुख कारणहरु यिनै हुन । पुराना तथा राजनीतिक जीवनको उत्तराद्धमा रहेका नेताहरुमा मात्र नभएर दोस्रो पुस्ता तथा युवा पुस्ताका नेता कार्यकर्ताहरुमा समेत यस्तै कमजोरीहरु देखिन थालेका छन् । जुन सुदूरपश्चिमका लागि चिन्ताको विषय हो ।
वर्तमानको राजनीतिक चित्र र चरित्र हेर्दा असफल र अदूरदर्शी राजनीतिक नेतृत्वको भारी सुदूरपश्चिमका जनताले अझ धेरै वर्ष बोक्नुपर्ने देखिन्छ । यो तथ्यलाई यहाँको बौद्धिक तथा प्राज्ञिक वर्गले गम्भिीरता पूर्वक आत्मसात गरेर सबल नेतृत्व निर्माणमा खबरदारी गर्ने की ?
.gif)