उमालाई आज खूब नमज्जासित तल्लो पेट दुखेको छ सहनै नसक्ने गरी ।
रगत बगेको छ खल खल भान्साबाट अलग गरिएको छ सधैँ उमाको हातले पखाएको पक्वान हात चाटी चाटी खाने ससुरा सासू पनि आज ऊ सीधा आफूतिर आएको देखेपछि मुन्टो बटार्छन्, यहाँ सम्म कि उसको खाने भाँडाकुँडा नै अलग छन् । सधैँ भन्दा दैलोको चेपमा घोप्टाइएको छ उता चुलातिर लानु हुँदैन कारण उसलाई नारी हुनुको प्रकृति प्रक्रिया सुरुभएको छ । ऊ नछुने अर्थात् महिनावारी भएकी छे । छोरा रोहनले सोध्छ आमा आज तपाइँले किन मलाई स्कुलको खाजा तयार नगरेको मेरो साथी दुष्यन्तले निकै मिठो मानेर खान्छन्, तपाईँको हातले बनाएका परिकारहरू । उमा भन्छिन् मैले चूलोमा जानु हुँदैन, मैले छुनु हुँदैन मैले छोएको कसैले खानु हुँदैन त्यही भएर म जान्न अब चार दिन आमैले बनाएको खाजा लैजाऊ र साथीहरूसँग बाँडेर खानु है ।
त्यो चार दिन चाहिँ आराम गर्न समय दिएको अरे रजस्वला भएकी नारीलाई भान्साको कामबाट ? भान्साबाट मात्र किन ? गाइको गोबर ,बनको घाँस, दाउरा ,खेतबारीको कुटो, कोदालो , मेलापातको काममा किन छुटकारा दिएन ? ती झन् त्यस्तो बेला गर्न नहुने काम हुन् आरामको जरुरत हुन्छ । गह्रौ चिज उचाल्दा रगत धेरै बग्ने सम्भावना हुन्छ । यस्ता हरेक कुरामा प्रश्न गर्छ छोरा रोहनले आफ्नी आमा उमासँग, उमा हप्काउछिन् आफ्नो छोरालाई हेर न खुकुरी भन्दा कर्द लाग्ने भएको के आठौं कक्षामा पुगेको छ कुरा बुढोपाको को जस्तो गर्छ ।
रोहन उत्तिखेरै बोल्छ हामीलाई स्वास्थ्य पढाउने सरले भन्नुभएको अनि हामीले पनि किताबमा पढेको ।
रोहन फत्फताउँदै गर्दा सारिका पनि हिड रोहन स्कुल ढिलो भइसक्यो भन्दै हल्ला गर्दै करेसाबाट कराउँदै घुर्यानतिर आई अनि दुवै स्कुल तर्फ लागे उमालाई बाइ भन्दै ।
यता उमा सोच मग्न भई हुन पनि हो छोरो सानै भए पनि कुरा ठूलो गर्यो । आराम गर्ने बेलामा झन् ठुला घाँस दाउराका भारी भकारोको मल बारीका डल्ला पिट्ने काम सबै गर्नु पर्छ । रुखो सुखो जे जस्तो मिल्छ त्यस्तै खानु पर्छ गाई छुनै न हुने तर त्यहीँ गाईलाई टाढा रहेको कमेरे कुवाबाट पानी ल्याएर तिनै उमाले पित्ले खड्कुलोमा भरी पारेर थपिथपी दिनुपर्छ । घाँस हाल्नु पर्छ , उमाले छोएको सबै अशुद्ध हुन्छ तर घर आफैले लिप्नु पर्ने लोग्नेले रजस्वला भएको दिनदेखि ओछ्यान अलग्गै लाएर सुत्छ भुँडी दुखेर फत्र्याक फत्र्याक परेर ऐआ र आथ्था भन्दा पनि वास्तै गर्दैन उता फर्केर सिरकले गुटुमुटु हुन्छ ता कि उमाको दर्दनाक आवाज न सुनौँ भनेर जब पाँचौँ दिन हुन्छ लोग्ने फेरि सिरानी र सिरक बोकेर त्यहीँ ओछ्यानमा स्वास्नी उमासँग सुत्न आउछ ।
कस्तो अचम्मको नियम रहेछ । रगत त मलाई पहिले जस्तै ह्वाल व्हाल नै बगेको छ उसैगरी दुखाइ उत्तिकै छ त्यहीँ रगत पहिलो दिनदेखि चौँथो दिनसम्म अचल मानियो अब कसरी फेरि त्यहीँ रगत शुद्ध मानियो त उसै ठाउँबाट उसै प्रक्रियामा उसैगरी बग्दैछ । अनेक सोच्छे हामी नारीले किन यस्तो बुहार्तन भोग्नु परेको ? ती मेरी सासु पनि नारी नै हुन् किन तिनले यो समस्या नबुझेको कमसेकम एउटी नारीले अर्की नारीको पीडा त बुझ्नुपर्छ नि दिदीले बहिनीको आमाले छोरीको सासुले बुहारीको मर्म बुझ्दै जाने हो भने समाज परिवर्तन हुन बेरै लाग्ने थिएन । अँ भन्थे होलान कसैले जोइ टिङ्रे कसैले सासू भएर सासूको ठाउँमा बस्न नजानेकी अनेक सहनु पर्थ्यो तर बिस्तारै समाज विकसित हुने थ्यो यस्तै यस्ता कुरा खेलेर उमालाई भतभती पोल्न थाल्यो । मानौँ कुनै जहरिलो विष सेवन गरी उसले एउटा सानै तेह्र वर्षको केटो रोहनले सकेसम्मको विष आमालाई पियाइदियो अब उमालाई त्यसै विषले रातदिन पोलिरहेको छ । ऊ चाहेर पनि त्यो पचाउन सक्दिन उमाले त्यो विष समाजमा उकल्लै छ र परिवर्तन ल्याउनै छ ।
उसले बिस्तारै आफ्ना गाउँमा देउरानी जेठानी पर्नेहरूमा यो कुरा रख्दछे डराइ डराइ कतिले सही हो हामी साथ दिन्छौँ भन्छन् त कतिले गाउँ र परम्परा भँडुवाको संज्ञा दिन्छन् तर पनि उमाले हार मान्दिन निरन्तर लागिरहन्छे । उसको छोरो रोहन सरीका ठुला भइसकेका छन् सासु ससुरा वृद्ध भए लोग्नेले पनि अवकास पाइसकेका छन् । उमेरले उमा पनि अर्धबैँस पार गरिसकेकी छे तर त्यो तरुण अवस्थाको जलनले अझै छोडेको छैन यसै पनि कमेरे गाँउका मान्छे सानो सोच राख्ने साह्रै बाहिरी दुनियाँ नदेखेका टेलिभिजन पनि बल्ल बल्ल सोलार सिस्टम आएपछि मात्र गाउँमा हुने खानेका घरमा भित्रदै छ । गाउँमा हरेक सभा सम्मेलनमा उमाले रजस्वलाप्रति हुने अनेक विकृति हटाउने कुरा राख्दथी सबैले संस्कार संस्कृति मास्ने भई बाउ बाजेको इज्जत माटोमा मिलाउने भई मात्र भन्ने गर्दथे कतिपटक त कुटाई पनि खाई । आफ्नो लोग्नेको हात बट त्यसैकुरोलाई लिएर ।
छोरा रोहनले बुहारी भित्र्यायो उसैगरी बुहारीमाथि उही महिनावारी रजस्वलाको प्रक्रिया चल्यो तर उमाले त्यो कुप्रथालाई पटक्कै मान्न दिइनन् । बुहारीले नमान्दा पनि यो त प्रकृति नियम हो वयस्क भएपछि फुल्ने फूल हो यसलाई घृणाको रूपले हेर्नु हुँदैन यो बिना संसारको सृष्टि नै छैन भन्दै आराम गर्न लगाइन् , पोसिलो आहार साथै हरेक कुरामा सरलता बनाउदै लगिन छोरा रोहन पनि सिराने र सिरक बोकेर आफ्नो बाको जस्तो अर्को ओछ्यानमा सरेन बिस्तारै गाउँमै परिवर्तन आएकोले अहिले कमेरे गाँउ एउटा नमुना गाउँ बन्न सफल भएको छ । परिवर्तन भन्ने कुरा सजिलो र चाँडो हुँदैन तर लगनशील भएर लागिरहने हो भने असम्भव पनि छैन भन्ने कुरा यो कथाकी पात्र उमाबाट सिक्नुपर्छ ।
.gif)