वर्तमान समयमा नेपाली भाषाप्रति प्रहार हुँदै आइरहेको पाइन्छ । विभिन्न समयमा सरकारी तथा गैर सरकारी तर्फबाट समेत नेपाली भाषामाथि प्रहार हुँदै आइरहेका घटनाहरु प्रसस्त देख्न सुन्न पाइन्छन् । कहिले व्याकरणमा विवाद, कहिले सरकारी तथा गैर सरकारी स्तरमा नेपाली भाषाको प्रयोगमा विवाद जस्ता थुप्रै घटनाहरु हुँदै आएको पाइन्छ । विशेष गरी पश्चिमा संस्कृतिसँगै अंग्रेजी भाषाको बाहुल्यता बढ्न थालेपछि हरेक क्षेत्रमा नेपालीभाषालाई ओझेलमा पार्ने कोशिष हुँदै आइरहेको पाइन्छ । वहिजोआज निकै चर्चामा आएको सरकारी निर्णय गाडीमा इम्बोस्ड नम्बर प्लेट पनि कुनै न कुनै रुपमा नेपाली भाषाप्रति प्रहारकै एक नमुनाका रुपमा लिन सकिन्छ ।
शिक्षा क्षेत्रमा सरकारी विद्यालयहरुकै पनि कुरा गर्ने हो भने पनि अहिले अंग्रेजी माध्यमले बढी स्थान पाउन थालेको पाइन्छ । नीजि विद्यालयका त कुरै छोडौँ जहाँ विद्यार्थी तथा शिक्षकले विद्यालयभित्र नेपाली तथा अन्य मातृभाषा प्रयोग गरेमा फाइन भराउने तथा दण्ड दिने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ । प्रायःजसो नीजि विद्यालयहरूमा नेपाली बोलेपछि विद्यार्थीहरूलाई दण्डित गर्ने र फाइन भराउने गरिन्छ । अभिभावकहरू पनि आफ्ना बच्चाहरूले नेपाली बोलेबाफतको फाइन खुसीसाथ तिरेर जान्छन् । बालबालिकाहरूलाई मातृभाषा त के नेपाली समेत बोल्न बन्देज गरिन्छ र कही कतै बोलिहाले दण्डित पनि गरिन्छ । घरमै पनि प्रायः बालबालिका आमा बुबालाई ड्याडी मम्मी भन्छन् ।
आमाबुबा भनेपछि त असभ्य जस्तै ठान्दछन् । हामीहरू बालबालिकाहरूलाई ज्ञान होइन भाषा सिकाउनमा बढी कम्बर कसिराखेका हुन्छौ । भाषा पनि केवल अंग्रेजी मात्र, मानौँ अरु भाषा त भाषा नै होइनन् । यसो भन्दै गर्दा फेरी अर्को प्रश्न उठ्ला, विद्यालय उमेरसम्म त भाषा नै सिकाउने हो नि भनेर तर एउटा कुरा याद रहोस् बालबालिकाले भाषाका साथै ज्ञान सिक्ने र सिकेका कुरालाई व्यवहारमा उतार्ने सही उमेर पनि यही हो । विज्ञान र प्रविधिको नजिक भएकाले अंग्रेजी भाषाको महत्त्व बढ्नु स्वभाविक हो । हामीले अंग्रेजी भाषा सिक्नु हुदैन भन्ने चाँहि होइन तर नेपाली भाषाप्रति वेवास्था गरेर जबरजस्ति अंग्रेजीको पछि दौडिरहने प्रवृत्ति राम्रो होइन भन्ने हो । बालबालिकाहरूलाई कक्षा पाँच सम्म त झन् मातृभाषालाई शिक्षाको माध्यम बनाउदा बढी प्रभावकारी हुन्छ भनेर हामी पढ्दै आइरहेका हुन्छौँ तर व्यवहारमा हेर्दा नेपाली भाषा बोलेपछि दण्डित गर्छौ । यसरी सरकारी तथा गैर सरकारी क्षेत्रबाट बेलाबेलामा नेपाली भाषामाथि प्रहार हुँदै गर्दा भाषासँगै हाम्रो पहिचान पनि हराउँदै जाने खतरा पनि उत्तिकै बढ्न थालेको छ ।
ज्ञान विज्ञान र प्रविधिका विभिन्न विषयवस्तुलाई नेपाली भाषासँग जोड्न नसक्दा पनि यस्ता समस्या बढ्दै गएइरहेको पाइन्छ । सरकारले विज्ञान र प्रविधिमा पनि नेपाली भाषाको प्रयोग कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुको साटो सरकारी कामकाजमै पनि अंग्रेजी भाषालाई बढी महत्वका साथ राख्नुले नेपाली भाषाको अस्थित्व खतरामा पर्दै गइरहेको पाइन्छ । हामीले भाषा भनेको केवल विचार आदानप्रदानको साधन मात्र हो, ज्ञान जुनसुकै भाषामा पनि सिक्न सकिन्छ भन्ने कुरा आम सर्वसाधारणलाई बुझाउनुको सट्टा सरकार तथा बुद्धिजीविहरुले नै विभिन्न प्रलोभनमा परी नेपाली भाषामाथि प्रहार गर्नु दुःखद पक्ष हो ।यसकारण सरकारी तथा गैरसरकारी जुनसुकै पक्षबाट पनि नेपाली भाषामाथिको प्रहार रोक्नु र सबैले नेपाली भाषाप्रति गौरव गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।
.gif)