अजरामरवत् प्राज्ञ विद्या अर्थम् च चिन्तयेत्
गृहित् इव केशेषु मृत्युनाम् धर्ममाचरेत नीति वचन
मान्छेले आफू अजर अमर छु भन्ने ठानेर विद्या तथा धनको बारेमा सोचोस् र कालले जगल्टोमै समातेको छ भन्ने ठानी धर्मको आचरण गरोस् । यही आशय उपरोक्त नीतिको श्लोकको हो । साथै नीतिले यो पनि भन्छ कि विद्या अर्थकरी अर्थात कोरा शिक्षाको काम छैन कमाउने हुनु पर्दछ ।
शिक्षा जीवन पर्यन्त हो भन्ने आशय तिर पनि सङ्केत गर्दछ–अजरामरवत् शब्दले । धारणात्ममित्याहु धर्मोधारयते प्रजा भनेर धर्मलाई अथ्र्याइन्छ । धारण गर्न मिल्ने/स्वीकार योग्य कामकुरा नै धर्म हो । तसर्थ विद्या वा शिक्षा पनि ग्रहणीय हुने भएकाले त्यो पनि धर्म कै अंग हुन्छ ।
नीतिको अर्को पनि बहु प्रचलित कथन छ
विद्या ददाति विनयम्, विनयात् आयाति पात्रताम्
पात्रत्वात् धनमाप्नोति धनात्धर्म ततः सुखम्
विद्याले विनय, विनयले पात्रता, सत्पात्रताले धन, धनले धर्म, धर्मले सुख प्राप्त हुन्छ । यस कथनले शिक्षाको अहम् लक्ष्य उन्नत र सुखी जीवनको परिकल्पना गर्दछ । धर्म, अर्थ काम मोक्ष जीवनका चारै पुरुषार्थ साधनमा शिक्षा अत्यन्त महत्वपूर्ण माध्यम हो । यसमा पनि नीति आफैमा शिक्षाको एक पाटो हो । विगत भन्दा वर्तमान र वर्तमान भन्दा भविष्यमुखी भएर शिक्षाले भन्दा राम्रो जीवनको कल्पना गर्दछ। शुक्रनीतिमा शुक्राचार्यको कथन छ शास्त्राय गुरू संयोग शास्त्रम् विनय वृद्धये अर्थात् शास्त्रले गुरू संयोग हुन्छ र त्यसले विनय÷नम्रताको बृद्धि गर्दछ । गुणवान बनाउँछ । गुणवान व्यक्ति नै सत्पात्र भनिन्छ । पात्र भनेको केही राख्न योग्य भाडो हो, जो अखट (नचुहिने) हुन्छ ।
वर्तमानमा सिकाइ भनेकै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने कुरा हो भनेर परिभाषित गरिन्छ । त्यही कुरा नीतिशास्त्रहरूले पहिले नै भनेका छन् ।
अज्ञेभ्य ज्ञानिनः श्रेष्ठ, ग्रन्थिभ्यो धारिणो वराः
धारिभ्योः ज्ञानिनः श्रेष्ठाः, ज्ञानिभ्यो व्यवसायिन
अर्थात् नपढने भन्दा पढने, पढने भन्दा सम्झना राख्ने, सम्झना राख्ने भन्दा अभिप्रायः बुझ्ने, क्रमशः श्रेष्ठ हुन्छन भने त्यस अनुसार आचरण गर्ने÷व्यवहार गर्न सक्ने सर्वश्रेष्ठ हुन्छन् ।
यस भनाइले शिक्षाको उच्चतम प्राप्ति व्यवहारमा सकारात्मक सुधार गर्ने वा सिके अनुसार गर्न सक्ने कुरालाई नै मानेको छ । शिक्षा या विद्या आर्जनको अर्थ कोरा र सैद्धान्तिक सिकाइ मात्र उपयुक्त मान्न सकिदैन । सिके अनुसार गर्न सक्ने र सत्यम् शिवम् सुन्दरम् को अभिष्ट सित शिक्षा जोडिनु पर्दछ ।
विष्णु शर्मा पञ्चतन्त्रमा भन्छन् :
अपि शास्त्रेशु कुशला लोकाचार विवर्जितः
सर्वे ते हास्यातां यान्ति यथा ते मूर्ख पण्डिता
शास्त्रमा कुशल/निपूर्ण भएर मात्रै हुदैन लोकजीवन या व्यवहारको (प्रयोगात्मक) ज्ञान छैन भने ती मूर्ख पण्डित झै हाँसोका पात्र बन्दछन् । त्यसैले त भनिन्छ “उपायं चिन्तयेत प्राज्ञं स्तथापायं च चिन्तयेत” विद्वानले निरन्तर चिन्तनशील रही रहनु पर्दछ। निरन्तर उपाय चिन्तन गरिरहनु पर्दछ । यसले कार्यमूलक अनुसन्धानको बाटोबाट शिक्षालाई समाधानमुखी हुनु पर्दछ । शिक्षाले मानवलाई जिउनका लागि पूर्णता प्रदान गर्नु पर्दछ । कोरा र अपुरो शिक्षालाई “अल्प विद्या भयंकरि” अर्थात अदपुरि विद्या जियड़्यो काल भनिन्छ । शैक्षिक बेरोजगारी हुनुको पछाडि पनि अपुरि विद्या र लोकाचार विवर्जित शिक्षाको हात रहन्छ । अर्थकरि अर्थात् कमाउन सक्ने ज्ञानले मात्रै ब्यक्ति, समाज र राष्ट्रको समृद्धि हुन सक्छ भन्ने कुरा व्यावसायिक र प्राविधिक शिक्षा अबलम्वन गरेका मुलुकहरूको समृद्धिले देखाउँछ ।
शिक्षामा ग्रहणयोग्य र हस्तान्तरणीय गुण हुन्छ, बाड्दा बढ्छ । हाम्रो समाजमा सकारात्मक ग्रहणको प्रवृत्ति सही दिशामा अघि नबढदा वा ह्रासोन्मुख हुँदा व्यवहारिक जीवनमा धेरैले दुख पाएका छन् । कोरा साक्षरता र परमुखापेक्षी शिक्षा नीति संगत होइन । समाजमा सिक्ने र सिकाउने परम्परालाई बढी औपचारिक बनाइदै छ जबकि नीतिले औपचारिक शिक्षालाई २५ प्रतिशत मात्रै स्थान दिएको छ जस्तो कि महाभारतमा शिक्षाका ४ आयाम हुने कुरा उल्लेख गरिएको छ ।
आचार्यात् पादमादत्ते, पादम् शिष्य स्वमेधया
पादम् सः ब्रह्मचारिभ्यः पादम् काल क्रमेण च
यो सिकाइको चतुष्पदि प्रक्रिया हो । सिकारूले एक पाउ आचार्य (गुरू/गुरूकुल/विद्यालय) बाट सिक्नु पर्दछ । एक पाउ आफ्नो मेधा/स्व वुद्धिबाट, एक पाउ सहपाठीहरू बाट र एक पाउ समय क्रमबाट सिक्नु पर्दछ । यस भनाइ अनुसार त ज्ञानार्जन जीवन पर्यन्त गरिन्छ । यो सबैका लागि आवस्यक छ । सबै सिकाइ बिद्यालयबाटै हँुदैन । जीवनमा आवश्यक सिकाइको ३०% मात्रै औपचारिक शिक्षाबाट आर्जन हुने कुरा त पश्चिमा विद्वानहरूले पनि स्वीकारेको कुरा हो ।
समाजमा नैतिक आचरणमा स्खलन पछाडि पनि शिक्षाको महत्वपूर्ण हात रहन्छ । असल शिक्षाले सामाजिक व्यवहारका विकृति न्यूनिकरण गर्ने र नैतिक मूल्यमान्यता सिकाउनुका साथै स्थापित पनि गर्दछ । वर्तमान परिदृश्य नियाल्दा विकृति विसंगति बढ्दै जानुका पछाडी शिक्षाको व्यवस्थामा कही न कही कमजोरी रहेको प्रष्ट छ । नैतिकवान शिक्षितका तुलनामा अनैतिक साक्षरहरूको संख्या बढिरहँदा हाम्रो समाज एवम् परिवारकै निर्देशक दर्शन मै नैतिकता सङ्कट छ ।
श्रमशीलता, स्वावलम्बन, स्वाभिमानमा गर्व गर्न नसक्ने, कैयौँ शिक्षित दिक्षित मै पनि विदेशमोह, धनलोभ, भ्रष्टाचारमा आसक्ति, इमान्दारिता घटदै जानुले शिक्षाको गुणस्तरमा प्रश्न उठाउँछ, भनिन्छः
प्राप्त विद्यार्थ शिल्पानाम् देशान्तर निवाशिनाम्
क्रोशमात्रोऽपि भू–भाग सतयोजनवत् भवेत्
शिक्षा आफैमा एक नीति पनि हो । यसले राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनु पर्ने हो तर अहिले आफ्ना हरेक स्वार्थमा धेरैले राष्ट्र भन्दा वैयक्तिक स्वार्थ ठूलो ठान्छन् । विदेश जान सक्नु भनेको स्वर्ग जानु ठानिरहेका छन् र पढेलेखेकाहरूले विदेशमा रहँदा एक कोष पनि सय योजनजति टाढा ठान्छन भन्ने नीतिवचन झुटो जस्तै भएको छ । सबै नीतिहरूमा शिक्षा नीति श्रेष्ठ हुनु पर्नेमा राजनीति ठूलो मानिन्छ । शिक्षा नीतिमै रहेका क्षुद्र प्वालहरूका कारण राजनीति समेत विकृत रूपमा रहदै आएको छ ।
व्यक्तिको चरित्र निर्माणमा उसले अनुशरण गर्ने नैतिक शिक्षाको प्रभाव रहन्छ । व्यवहार प्रधान नीतिले व्यक्तिमा पात्रता ल्याउछ । संस्कार, कर्मशीलता, सत्चरित्रता, सत्कर्म जस्ता गुणले शिक्षित बदमास बनाउँदैन, भ्रष्टाचार निम्त्याउदैन । नीतिशास्त्रहरूले गुरुलाई अज्ञानरूपी अन्धकार नासक, मार्गदर्शक देवताको कोटीमा राखेको छ । सबै शिक्षकले देवत्व प्राप्त गर्न नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा शिक्षक आफैमा नैतिकताको संकट रहनु तथा शिक्षार्थीमा समेत नैतिकता ह्रासोन्मुख रहन्छ ।
नैतिक जिम्मेवारी आफैमा हरेकका लागि आचारसंहिता हो । नीति प्रधान समाजमा कानून त्यति आवश्यक हँुदैन । पढाइको डिग्री वा ग्रेडमा होइन नीति व्यवहारमा प्रदर्शित हुन्छ । व्यवहार वा आचरणमै नैतिकता मापन हुन्छ । वर्तमानमा देखिने तमाम विकृतिहरू र भ्रष्टाचारको कारक कमजोर नैतिक धरातल नै हो । शिक्षाका उद्देश्य र लक्ष्य आफैमा नीति हुन तर तिनको प्राप्ति वा नतिजा अत्यन्तै दुर्वल छ । अनैतिकहरू बढी रहेछन भने प्रश्न उठछ, हाम्रो शिक्षामा नैतिकता किन यति कमजोर छ ? नैतिक व्यबहारको कमीले सामाजिक–सांस्कृतिक अवस्था थिलथिलो भएको छ । शिक्षा क्षेत्रमै नैतिक स्खलनका केही व्यवहार हेरौ
गुरू सात्विक, सदाचार पालक हुनु पर्नेमा धेरै मांसमदिरा धुम्रपानमा अभ्यस्त छन् । विद्यार्थीमा गुरू मान्यजन प्रतिको आदरभाव तथा साना प्रतिको प्रेमभाव कम वा देखावटी हुनु । अनभ्यासे बिषम् विद्या भनिन्छ तर बहुसंख्यकमा मेहनत गर्ने प्रवृति घटदै गएको छ । सिकाइमा विद्यार्थी पंञ्च लक्षणम् धेरैमा छैन, ज्ञान दिने भन्दा पनि तलब पकाउने प्रवृत्ति बढदै गएको कुरा नतिजाले देखाउँछ । सार्वजनिक शिक्षाको खस्कदो नतिजाप्रति सरोकारवालाहरू चोर औला देखाउने गोल चक्करमा छन् । नैतिक जिम्मेवारी लिन कोही चाहँदैनन् । फौजदारी अभियोग लाग्ने घटनाहरू दिनानुदिन बढ्दै जानु भनेको अनैतिकता बढ्दै जाने स्थिति हो । पढेलेखेकै एक हिस्सा भ्रष्टचारमा लिप्त छ, यो ठूलो नैतिक संकट हो । यस्ता तमाम दृष्टान्तहरू प्रत्यक्ष रूपमै देखिएका कुरा हुन् ।
ज्ञानयोग र कर्म योगको अन्योन्याश्रित सम्बन्ध हुन्छ । असल ज्ञानको अभावमा असल कर्म सम्पन्न हुन सक्दैनन । सुखी र खुशी जीवननै सबैको अभिष्ट हुन्छ । गलत व्यवहारले त्यो प्राप्त हुन सक्दैन । यदि भए पनि त्यसको नतिजाले सत्यम् शिवम् सुन्दरम् युक्त जीवन तथा समाज निर्माण हुन सक्दैन । नीति विहीन शिक्षाले वदमास बुद्धि सिर्जना गर्दछ । समाज विकृत पार्दछ । रामराज्य स्थापना हुन सक्दैन, अतः हरेक व्यक्तिले नैतिकवान हुन शिक्षानीति नै ठिक हुनु आवश्यक छ ।
.gif)