महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थीत भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निमार्ण भइरहेको छ ।नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्यको पहलमा मूर्ति निमार्ण हुन लागेको हो । साविकका ७५ वटै जिल्लालाई एक सुत्रमा बाध्नका लागि ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणले भम्केनीधामको महत्व बढाएको छ ।
अहिले यहाँ मूर्ति बनाउने काम चलिरहेको छ । यसका लागि सहयोग जुटाउन स्थानीय तहदेखि प्रदेश र संघीय सरकार सबैलाई आग्रह गरिएको छ । मूर्ति निर्माणकै लागि मंसिर २२ देखि १० दिवसीय धान्याञ्चल महायज्ञ पनि गरिएको छ । ‘यो राष्ट्रलाई जोड्ने अभियान हो, नेपाल आमाको मूर्ति हेर्न पुर्व झापादेखिका मानिसहरू यहाँ आउनेछन ।’ नेपाल आमाको मूर्ति निर्माणको अभियान सुरु गरेका जगतगुरु मोहनशरण देवाचार्यले भने ‘पूर्वलाई पश्चिमसँग मूर्तिले जोड्नेछ, नेपाल बाहिर रहेका नेपालीहरूसमेत मूर्ति हेर्न यहाँ आउनेछन ।’ सुदूरपश्चिममा थुप्रै तीर्थस्थलसँगै धार्मिक क्षेत्रहरू पनि छन ।
तिनको महत्व बुझाउन सके सुदूरपश्चिम आफैं समृद्धि हुने जगतगुरु देवाचार्यले बताए । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनलाई १० करोड ८१ लाखमा ठेक्का दिइएको छ । २०७४ सालदेखी मूर्ति निर्माणको काम सुरु भएको हो । अहिलेसम्म मूर्ति निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ । मूर्तिको आसन कमलको फूल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जगतगुरु मोहनशरण देवाचार्यले झन्डै ३ वर्षअघि (२०७२ वैशाखदेखि २०७४ माघसम्म) नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु संकलन भएका थिए ।
.gif)