नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न भन्दै कतार भिसा सेन्टर (क्यूभीसी)सँग नयाँ समझदारी गरेको छ ।
आगामी महिनाभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० सम्म पुर्याउने सहमति भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । बुधबार क्यूभीसी समस्या समाधानसम्बन्धी छलफल भई सात बुँदे सहमति भएको भन्दै उनले अबदेखि हरेक महिनाको २० तारेखदेखि २५ तारेखसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्यूभीसी एप्वाइन्टमेन्ट प्रणाली खुला रहने र आगामी २ हप्ताभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट ३ सयबाट बढाएर ४ सय ५० पुर्याउन भिसा सेन्टर तयार भएको संघका महासचिव श्रेष्ठले बताए ।
भिसा म्याद सकिने अवस्थाका श्रमिकको हकमा भिसा समाप्त हुने मिति र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट लिएर जुनसुकै दिन क्यूभीसी गर्न सकिने, गत मे महिनाको २ देखि ४ तारेखमा लिएको क्यूभीसी एप्वाइन्टमेन्टहरूको भिसा प्रक्रियालाई टुंगो लगाउन आगामी शुक्रबार ४ सय जनाको क्यूभीसी गरिने सहमति छ । श्रेष्ठले हालसम्म तयार लिष्ट क्यूभीसीलाई दिइएको बताए । उक्त लिष्ट संघको फेसबुक पेजबाट डाउनलोड गर्न सकिने उनले जानकारी दिए ।
क्यूभीसी एप्वाइन्टमेन्ट प्रणालीमा पहुँच पाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायीहरूले क्यूभीसी सेटिङमा चल्न थालेको गुनासो गरेका थिए । सेन्टरले सीमित व्यवसायीले पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरेकाे आरोप थियाे ।
.gif)