शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नयाँ पुस्ताको अनुहारमा पनि पुरानै दागहरू


बिहीबार , पुस ८ २०७८
  • 1.1K
    Shares

  • images
    images
    नयाँ पुस्ताको अनुहारमा पनि पुरानै दागहरू

    नेपाली राजनीतिको इतिहासलाई पल्टाउँदै जाने हो भने विगतदेखि वर्तमानसम्म थुप्रै राजनीतिक उथलपुथल भएको पाइन्छ । गोपाल, महिषपाल, किँरात, लिच्छिवी, मल्लकाल हुँदै नेपालको एकीकरण देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली राजनीतिमा थुप्रै परिवर्तन भएको पाइन्छ । इतिहासका घटना परिघटनाहरुलाई अध्ययन गर्ने हो भने नेपाली राजनीतिले कहिले पनि स्थिरताको स्वाँस फेर्न पाएको देखिदैन । आम नागरिकहरु हरेक समय केवल राजनीतिक परिवर्तनको लडाइ मात्र लडिरहे । यसरी समय समयमा हुने राजनीतिक उथलपुथलका  कारण आम नागरिकहरुले न त राज्यको विकासमा नै योगदान दिन सके न राज्यबाट कुनै सुखसुविधा पाए । नेपालको इतिहासका हरेक कालखण्डहरूमा राजनीतिक नेतृत्व र व्यवस्था परिवर्तनका लागि युवाहरुको अत्यधिक प्रयोग गरियो । नेतृत्व र व्यवस्था परिवर्तनको लडाइमै अल्झिएका युवाहरुलाई राष्ट्रको विकासका निम्ति कहिल्यै प्रयोग गरिएन । समय समयमा भएका परिवर्तनहरुले शासन व्यवस्थामा केवल नाम र नेतृत्व मात्रै परिवर्तन गरे तर काम परिवर्तन कसैले गर्न सकेन । शासकहरुले केवल आफ्नो मानसम्मान र श्वार्थपुर्तिका लागि जनताको रगत र पसिनाबाट सिर्जित राज्यको ढुकुटी दोहन मात्र गरे, राष्ट्रको विकासमा कसैको पनि ध्यान गएन ।   
     वि.सं. १७९९ मा पिता नरभूपाल शाहकोे मृत्युपछि गोरखाका राजा बनेका पृथ्वी नारायण शाहमा विशाल नेपालको राजा बन्ने चाहाना पलायो, जसको फलस्वरुप थुप्रै बाइसेचौबिसे राज्यहरू युद्धको भुमरीमा होमिन पुगे । राजा पृथ्वी नारायण शाहको कुटनीति चातुर्यता, वीरता र नेतृत्व क्षमताले नेपाल एकीकरणको अभियान थालनी भयो । राज्य एकीकरणको पक्ष र विपक्षमा थुप्रै मानिसहरुको रगत बग्यो , युद्धमा कयौँ मानिसले सहादत प्राप्त गरे । एउटा विशाल राष्ट्र निर्माणको अभियानमै उनको शासनकाल समाप्त भयो । उनको शासनकाल पूर्णतया युद्धमै बितेकाले उक्त समयमा   नागरिकहरुले राज्यबाट पाउने सुख सुविधा केही पाउन सकेनन् । विकासका लागि आवश्यक दक्ष जनशक्ति युद्धमै अल्झिन पुग्यो । राज्यको भौगोलिक बिस्तार बाहेक राष्ट्रको विकास र नागरिकलाई राज्यबाट प्रदान गरिने सुखसुविधाका बारेमा उल्लेख्य काम केही पनि हुन सकेन ।  
     भौगोलिक सीमा बिस्तारको कार्य केवल पृथ्वी नारायण शाहमै सीमित रहेन उहाँपछिका शासकहरुले पनि त्यसलाई निरन्तरता दिदै गए । यो समयमा पनि थुप्रै राजनीतिक उथलपुथल भए । यसबीचमा पनि राज्यमा आन्तरिक तथा बाह्य किचलोका कारण जनताले शान्तिको स्वाँस फेर्न पाएनन् । आन्तरिक कलहसँगै नेपालले यसै समयावधिमा सन् १८१४ देखि १८१६ सम्म अंग्रेजहरुसँग युद्ध पनि गर्नुप¥यो । उक्त युद्धमा पनि नेपालले थुप्रै घाटा बेहोर्नु प¥यो, थुपै नेपालीहरु एङ्गलो नेपाल  युद्धमा शहीद बन्न पुगे ।  १९ औँ शताव्दीको सुरुवातमा नेपाली राजनीतिको इतिहासमा घटेको ठूलो घटना कोतपर्वका रूपमा परिचित हुन पुग्यो, फलस्वरुप नेपालमा जहानीया राणाशासनको उदय भयो । यसै समयावधिमा भण्डारखाल पर्व, औलो पर्व आदिका नामले विभिन्न राजनैतिक घटनाहरु घटे ।  राणाकालमा काठमाण्डौँ उपत्यकामा औँलामा गन्न केही उपलब्धी भए पनि जनताहरुले राज्यबाट सुविधा पाउनुको सट्टा झन् मिल्दै गरेका सेवासुविधाबाट समेत बञ्चित भई जहाँनीया तन्त्रको डर र त्रासमा जीवन जिउन बाध्य हुनुप¥यो । कठोर राणा शासनको दमनबाट आजित भएका आम नागरिक तथा युवाहरु १९ औँ शताव्दीको अन्त्यतिर जनताहरु फेरी प्रजातन्त्रका निम्ति लडे । जहाँनिया राणा शासनका बिरुद्ध थुप्रै युवाहरुले रगत बगाए, शहीद भए । वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । देशमा प्रजातान्त्रिक शासन व्यवस्थामा रमाउने सपना देखेका आम नागरिकहरुमाथि फेरी दश वर्ष पनि बित्न नपाउँदै वि.सं.२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक शासन व्यवस्थाको घाँटी निमोठ्दै प्रत्यक्ष शासन मार्फत पञ्चायती व्यवस्था चलाए । आपूmले कार्यान्वयन गरेको व्यवस्थालाई बलियो बनाउनका लागि राजा महेन्द्रले वि.सं. २०१९ साल पुस १ गतेका दिन नेपालको संविधान २०१९ जारी गरे । जसअनुसार नेपालको सार्वभौमसत्ता तथा देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकारहरू राजामा केन्द्रित गरियो । प्रजातन्त्रको पक्षधर युवा तथा विद्यार्थीहरु फेरी आन्दोलन गर्न थालेपछि तत्कालीन राजा बिरेन्द्रले वि.सं. २०३६ सालमा पञ्चायत र प्रजातन्त्रबीच  जनमत संग्रहको घोषणा ग¥यो र वि.सं. २०३७ को जनमत संग्रहमा पञ्चायती व्यवस्था नै विजयी हुन पुग्यो । वि.सं. २०४६ सालमा फेरी प्रजातन्त्रका लागि पुनः आन्दोलन भयो, उक्त आन्दोलनमा पनि आम नागरिक तथा युवाहरुले प्रजातन्त्रका लागि लडाई लडे । विं.सं. २०४७ मा प्रजातन्त्रको पुनस्र्थापना भएपछि जनताहरुले फेरी मिठामिठा सपनाहरु देख्न थाले । जनताहरु देशमा प्रजातन्त्र आएको खुसियाली मनाउन थाले । प्रजातन्त्रकालमा केही परिवर्तन भए पनि आम जनताले सोचेजस्तो उल्लेख्य प्रगति भने महशुष गर्न सकिएन । नेताहरुमा नेतृत्वको लालसा मात्र हुनु, आफ्नै श्वार्थपुर्तिमा ध्यान दिनु,  हत्या हिंसा र  भ्रष्ट्राचार बढ्दै जानुले जनताहरु फेरी आन्दोलित हुन पुगे ।  लोकतान्त्रिक गणतन्त्रको लागि लडाइ लड्न तयार भए जसको फलस्वरुप वि.सं. २०५२ देखि देशमा माओवादी जनयुद्ध सुरु भयोे । यसै बीच वि.सं. २०५८ सालमा राजदवार हत्याकाण्ड पनि घटाइयो र जनप्रेमी राजा बिरेन्द्रको वंश नास गरियो । राजदरबार हत्याकाण्डपछि  राजा ज्ञानेन्द्रले फेरी शासनसत्ता आफ्नो हातमा लिएर तत्कालीन शाही सेनालाई माओवादी विरुद्ध प्रयोग गरियो । माओवादी जनयुद्धमा पनि आम नागरिक र युवाहरुको खुब प्रयोग गरियो । सरकार र माओवादी पक्षबाट हजारौँको सङ्ख्यामा युवाहरुले ज्यान गुमाए । राजाको एकलौटी शासन र दमनका विरुद्ध फेरी ०६२–६३ मा महान जनआन्दोलन घोषण गरियो । १९ दिनसम्म चलेको उक्त आन्दोलनमा पनि थुप्रै युवाहरुले ज्यान गुमाए । उक्त आन्दोलनको परिणाम स्वरुप देशमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।  वि.सं. २०६५ साल जेठ १५  संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो, नेपालको नयाँ संविधान बन्यो र वर्तमान समयमा उक्त संविधान अनुरुप राज्यसत्ता चलिरहेको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रका लागि लाखौँ युवाहरुको प्रयोग गरियो, हजारौँ युवाहरु मारिए फेरी पनि आम नागरिकका सपना साकार भएनन् । देशमा लोकतन्त्रको स्थापना पुरा गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै दोस्रो युद्धको सुरुवात नहुन्जेलसम्मका लागि बिस्राम गर्न अरबको खाडीतिर लागेका छन् । नेपालको एकीकरणदेखि नेपाल अंग्रेज युद्ध, राणाशासन बिरुद्ध प्रजातन्त्रका लागि युद्ध, पञ्चायती व्यवस्था विरुद्ध युद्ध हुँदै माओवादी जनयुद्धसम्म आइपुग्दा पुग्दा नेपाली युवाहरुले नेतृत्व र व्यवस्था परिवर्तनका लागि थुप्रै युद्ध लडे । व्यवस्थाका लागि नेतृत्व परिवर्तन गरे तर नेतृत्वमा पुगेकाहरुले व्यवस्थाको सट्टा वेवास्था मात्रै गरे ।  
    नेपालका विभिन्न राजनीतिक पार्टीहरुका विधान र सिद्धान्तमा आ–आफ्ना वाद लेखिएका भएपनि देशमा भने शदीयौँ देखि चलिआएको नातावाद, कृपावाद, घुसखोरी र भ्रष्ट्राचार मात्रै मौलायो । विगतदेखि वर्तमानसम्म थुप्रै शासन व्यवस्था बदलियो, नेतृत्व बदलियो, विभिन्न तन्त्रहरु फेरिए तर व्यवहार भने कहित्यै फेरिएन । आम नागरिकले समय समयको नयाँ नेतृत्व, नयाँ पुस्ता र नयाँ व्यवस्थाबाट थुप्रै आस राख्दै आए तर जति जोगी आए पनि कानै चिरेका भनेझैँ कही कतैबाट पनि आसातित प्रतिफल पाउन सकिएन । नेपाली राजनीतिमा होमिएको नयाँ पुस्ता पनि  कतै बाध्यता त कतै पदलोलुपता र श्वार्थीपनले फेरी पुरानै बाटोमा हिडेको देखियो । दलहरुमा सिद्धान्त भन्दा पनि व्यक्तिवाद हावी हुन थालेपछि  पार्टीका  सिद्धान्तहरु रद्दिको टोकरीमा मिल्काएर आ–आफ्ना गुट उपगुट बनाउनमा तल्लीन छन् । युवा पुस्ताका नेताहरु पनि आफ्नो श्वार्थपुर्तिका लागि अन्धभक्त बनेर आफू सुहाउँदो गुट र नेताको पछाडी हाँ मा हाँ मिलाइरहेका छन् । राष्ट्रभन्दा पार्टी, पार्टी भन्दा गुट, गुट भन्दा व्यक्तिको पछाडि लागेर नयाँ पुस्ता पुरानो पुस्ता भन्दा झन् तल गिरेको देखिन्छ । सदियौँ देखि नयाँ पुस्ताको आसा गर्दै परिवर्तनका लागि लडियो, नयाँ पुस्ता पनि नेतृत्वमा पुग्दा पुरानै पुस्ताको बाटोेमा हिड्न थाल्यो । राष्ट्र निर्माणका लागि नयाँ नेतृत्व नयाँ विचारका साथ नयाँ व्यवस्था गर्ला भन्ने आस आम नागरिकले गर्न छोडिसकेको छ । विगत देखि वर्तमान सम्मको राजनीतिक घटनाक्रमले आम नागरिकमा लिङ्देलले भनेजस्तै वितृष्णा पैदा गरेको छ । नयाँ पुस्ताका अनुहारमा पनि पुरानै दागहरु देखा परेका छन् ।  




    प्रतिक्रिया दिनुहोस