१.१. पृष्ठभूमि
कुनै पनि देशको विकास र समुन्नतिको मापक भौतिक समृद्धि मात्र नभएर देशको सांस्कृतिक बैभव तथा जीवनशैली पनि हो । सांस्कृतिक श्रीवृद्धिका हिसावले नेपाल ज्यादै सम्पन्न देखिन्छ । अझै भन्ने हो भने नेपालको सुदूरपश्चिम सात नम्बर प्रदेश सांस्कृतिक सम्पन्नताले भरिपूर्ण रहेको छ । अध्ययनमा सुदूरपश्चिम सात नम्बर प्रदेशको पहाडी जिल्ला दार्चुलामा बसोवास गर्ने सौका जातिको भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक र भाषिक अवस्थाको संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । हिमालयको काखमा आदि अनादिकालदेखि रहँदै आएका सौका जनजाति तिर आजसम्म पनि कसैको ध्यान गएको देखिदैन । विशेषगरी दार्चुला जिल्ला र पछि देशका अन्य भागमा व्यापारको सिलसिलामा बझाङ, कञ्चनपुर आदि स्थानमा समेत बस्दै आएका छन् ।
१.२. बसोवास क्षेत्र
ब्याँसी सौकाहरु पुरानो ब्याँस गा.वि.स.को छाङरु, तिंकर, राप्ला गा.वि.स.को रपाङ, दुम्लिङ, फुलचिम, राङथल तथा सितोला गा.वि.स.को स्याङकाङ र दार्चुला जिल्ला सदरमुकाममा सबै गाउँका ब्याँसीहरु बसोवास गर्दै आएका छन् । दार्चुला जिल्लाको राप्ला र सितोला गा.वि.स.मा बसोवास गर्ने ब्याँसीहरुको इतिहासलाई हेर्दा यिनीहरु पनि ब्याँस उपत्यकाको गव्र्याङ्गको कर्जाङ्गबाट आजभन्दा १५÷१६ पुस्ता अगाडिदेखि नै राप्लाको थिन हुँदै रपाङमा बसोवास गर्दै आएका र बुदीबाट सितोलाका ब्याँसी (स्याङकपा) हरु सितोलाको स्याङकाङ भन्ने गाउँमा बस्दै आइरहेका छन् । ब्याँसी सौकाहरुको जनसंख्या महिला १००१ र पुरुष १०१८ गरी जम्मा २०२१ रहेका छन् ।
१.३. भौगोलिक अवस्था
सौका जाति व्यापारको सिलसिलामा देशमा विभिन्न भू–भागमा बस्दै आए पनि मूल रुपमा भने सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको दार्चुला जिल्लामा बस्दै आएका छन् । यस जिल्लाका पूर्वमा बैतडी र बझाङ, पश्चिममा भारत, उत्तरमा तिब्बत र दक्षिणमा बैतडी र भारतका विभिन्न क्षेत्र पर्दछन् ।
१.४. ऐतिहासिक अवस्था
सौका मूल रुपमा भारतीय आदिवासी हुन् । यिनका पूर्वज मंगोल समुदायका हुन् भन्ने कुरा भारतीय संस्कृतिविद् रतनसिंह रावतले आप्mनो सौका सीमावर्ती जनजाति भन्ने पुस्तकको पृ. ३८ मा उल्लेख गरेका छन् । सौकाहरुकिो बसोवास अहिले पनि भारतको अल्मोडा, चमोली र उत्तरकाशी जिल्लामा रहेको छ र पछि आएर यिनीहरु दार्चुला जिल्लाको हिमाली भेगमा बस्दै आएका छन् । ब्याँसी सौकाहरुका रोतवाल, लाला, तिंकरी, कल्याल, बुढाथोकी, भण्डारी, जुद्धारी, गब्र्याल, बुदियाल र गुन्ज्याल थर रहेका छन् ।
१.५. धर्म र संस्कार
ब्याँसी सौकाहरु प्रकृति पूजकको रुपमा रहेका छन् । ब्याँसीहरुले पूजा गर्ने मन्दिरहरुमा कहिँकतै पनि मूर्ति नराख्ने र ढुङ्गा गाडेर राखेका हुन्छन् । ब्याँसीहरु मन्दिरमा राखेको ढुङ्गाको पूजा गर्ने गर्दछन् । जसलाई यिनीहरु ‘कलिङ’ भन्ने गर्दछन् । मन्दिरमा यिनीहरु शुभकार्यमा सेतो धजा, भेडाको उन चढाउने गर्दछन् भने नराम्रो÷अशुभ यिनै भूत प्रेत भगाउन कालो ध्वजा, उन चढाउने गर्दछन् । परम्परागत झाँक्रीमा विश्वास गर्ने, मन्दिरमा बोका काट्दा पनि हिन्दुहरुले भन्दा फरक ढंगले भूँडी चिरेर कलेजो हेर्ने र त्यसबाट शुभ अशुभ पत्ता लगाउने गर्दछन् ।
ब्यासी शौकाहरु पूजा गर्दा विभिन्न हिमाल, पहाडहरुको पूजा गर्ने गर्दछन् । ब्याँसी शौकाहरुले आप्mनो गाउँमा हिमालयहरुको प्रतिकको रुपमा “सरसौ धुर्बुछी” स्थापना गरेको हुने र त्यसैको नाममा पूजा गर्ने चलन छ । ब्याँस, नमजुङ, अपि हिमाल (अपि दाङ), नम्पा, छिरिङ छेडा, द्विसिगोम्बु आदिको पूजा गर्ने गर्दछन् । यसरी पूजा गर्दा फरक–फरक गाउँले फरक–फरक हिमालयको पूजा गर्ने गर्दछन् । यसरी हिमाल, पहाड र ढुङ्गाको पूजा गर्ने हुनाले यिनीहरु प्रकृति पूजकको रुपमा देखिएका हुने भने कुल देवताको रुपमा नमजुङको पूजा प्रायः सबैले गर्ने हुनाले “बोन” धर्म यिनीहरुको परम्परागत धर्म रहेको प्रमाणित हुन आउँछ । यिनीहरुको मन्दिरमा र घरमा दच्र्यो लगाउने रहेको हुनाले बुद्ध धर्मको नजिक समेत रहेको पनि देखिएको छ ।
१.५.१.प्रमुख चाँडपर्वहरु
ब्याँसी समुदायमा विभिन्न चाँडपर्वहरु धुमधाम साथ मनाउने चलन छ । परम्परागत चाँडपर्वहरुमा किर्जीदाम, धवला, सिकब्जे चाँड, मिलोथेमो किपाङ पर्व, नमजुङ बढानी र ब्याँसऋषि आदि रहेका छन् ।
१.५.२. सामाजिक संस्कारहरु
आप्mनो परम्परागत संस्कृतिमा धेरै विश्वास लाग्ने ब्याँसी सौका समुदायमा प्रायः कुनै पनि शुभकार्यमा ‘उवा’ (हिमाली क्षेत्रमा फल्ने गहुँ जस्तै एक प्रकारको अन्न) लाई भुटेर बनाइएको पिठो (सातु) पानीमा मुछेर तयार गरिएको उल्लो जसलाई शौका समुदायको स्थानीय भाषामा ‘दलाङ’ भनिन्छ को प्रयोग अधिक मात्रामा गरेको पाइन्छ । यो ‘दलाङ’ र बरछ्याङ बोतल बीचमा राखी उपस्थित सबै जनाले जौको दानाहरुको अक्षताले आप्mना देव देवता र पितृहरुलाई सम्झी सामूहिक रुपले त्यो दलाङ बरछ्याङको पूजा गरी त्यहाँ उपस्थित सबै जनाले पूजा गरेकाले आपसमा बाँडेर प्रसाद स्वरुप ग्रहण गर्ने चलन छ । अरु जातिको जस्तो यो समुदायको कुनै पनि धार्मिक अनुष्ठानमा विशेष किसिमको पुरोहित हुँदैन । कुनै पनि कार्य दलाङ र बरछ्याङ राखी पूजा गरेपछि प्रायः सम्पन्न भएको मानिन्छ । ब्याँसी समुदायमा जन्म संस्कार, बच्चा बोक्ने संस्कार (बुमो), बच्चालाई मन्दिर लग्ने संस्कार (किपाङ्ग), पुस्या वोभो संस्कार (पहिलो पटक कपाल काट्ने), ब्रतबन्ध संस्कार, विवाह संस्कार, सम्बन्ध विच्छेद र मृत्यु संस्कार आ–आप्mनै परम्परानुसार मनाउने गर्दछन् । जाँड, रक्सी शौका समुदायमा पूजाआजा, विवाह, मृत्यु संस्कारहरुमा चाहिने हुनाले यसले अत्यन्तै महत्व राख्दछ । जाँड, रक्सी आफै बनाउने गर्दछन् । शौका समुदायमा परम्परागत रुपमा गलैचा, चयुङवाला, चुटका पै र कोट बुन्ने गर्दछन् तर हाल आएर औद्योगिकीकरण र शहरीकरणको प्रभावका कारण बुन्ने काम कम भएको पाइन्छ । ब्याँसी शौका समुदाय फरक विशिष्ट पहिचानको रुपमा उनीहरुको शिष्ट व्यवहारलाई पनि लिन सकिन्छ । विशेषगरी पाहुनाको शिष्टताका साथ सम्मान गर्दछन् । शौका समुदायको परम्परागत खाना ‘टकलङ’ थुक्पा, खाने चलन छ । त्यस्तै तिनै फापरको रोटी र ढिँडो समेत खान्छन् । तर हाल आएर रोटी, भात, सेल रोटी खाने चलन बढेको छ । शौकाहरु बिहान नुन चिया र कहिल त त्यसमा घ्यू समेत राखेर खान्छन् । साथै शौका समुदायमा पूजाआजा र अन्य संस्कारमा अनिवार्य बनाउने पुरीमा तीन प्रकार छन् । मृत्यु संस्कारमा सिङ नभएको र अरु बेला सिङ भएको त्यसमा पनि सामान्य वेला दुई सिङ भएको र पूजामा ५,७,९ वटा सिङ भएको पुरी पकाउने चलन छ । त्यस्ता पुरी पुरुषले मात्र खाने र महिलाले नखाने चलन छ ।
शौका समुदायमा पुरोहित÷पण्डितका रुपमा प्रायः प्रत्येक मन्दिरमा फरक–फरक धामी हुने गर्दछन् । एउटा देवताको धामी हुने र मन्दिरमा पूजा गर्दा सोही धामीले गर्ने गर्दछन् । धामी नभएको अवस्थामा “बुढा” ले पूजा गर्ने चलन छ । यिनीहरुका परम्परागत सामाजिक संस्थाहरु एकताको प्रतीकका रुपमा आप्mनै प्रकारका संघ संस्थाहरु गठन गरिएका छन् यसले उनको एकता एवं सबै मिलेर काम गर्नु पर्दछ भन्ने मान्यता प्रष्ट हुन्छ । जसमा ग्राम सभा, महिला संघ, नवयुवती संघ र युवक संघ रहेका छन् ।
१.७. सांस्कृतिक अवस्था
शौका समुदायमा संयुक्त कुटुम्ब प्रणाली रहेको हुन्छ । आप्mनो परम्परागत भेषभूषा र संस्कृतिका धनी शौका समुदायमा महिलाहर पुरुषहरु सामान्यतया दैनिक जीवनमा दार्चुलावासी अन्य महिला र पुरुष जस्तै लुगा लगाउँछन् भने चिसो ठाउँमा प्रायः ऊनको लुगा लगाउने चलन छ । विशेष किसिमको धार्मिक, सांस्कृतिक, विवाह, ब्रतबन्ध आदि अवसरहरुमा भने आप्mनै परम्परागत पोशाक लगाउँछन् । ब्याँसी समुदायमा महिलाको पहिरन (च्युङबाला) घाग्री, पुरुषको पहिरन (बेन्ठलो) पगरी, छिरावैरा, ढाल, तरवार, गहना (महिला), कानमा लकछ्यण वाली, नाक–बीरा, घाँटी–ढलोसाले, खोङ्ले, कठ्ठी साले, चन्द्रहार, बलडाङ, हातमा– नङ, वहा विरा सुनको हुन्छ भने अरु सबै चाँदीका हुन्छन् । महिलाको खुट्टामा कुनै पनि गहना लगाउँदैनन् । साथै यो समुदायमा मानिसहरु दाउरा काट्नका लागि विशेष किसिमको हतियार प्रयोग गर्दछन् । त्यस हतियारलाई ‘आथम’ भन्ने गरिन्छ । आथम फलामको हुन्छ र स्थानीय लोहारले बनाउने गर्दछन् । यस बाहेक घाँस काट्न आखन, खेतबारीमा काम गर्न डण्डाली तोक बौसी एवं घरायसी काम गर्न चलासी, छप्पु तेपली आदिको प्रयोग हुन्छ ।
१.७. भाषिक अवस्था
भोट वर्मेली परिवार अन्तर्गतको भोटे शौका भाषाको प्रयोग गर्ने शौका समुदायका आप्mनै मौलिक भाषिक शब्दहरु रहेका छन् । शौका भाषाका विचार विनिमयका मौलिक शब्दहरु झिल्दै, मुल्झिदै, झिइशी, फुन्दै, नत्तैm, फुक्तै, खादै, न्यम्दै, थोक्पा, तपशिल, ल्दु, वैरा, ठिम्मो, ल्हाँमो, कम्मो, पुगिनो, सल्लाग दोमा, खुइ, खुमे, सालेन्च्पे, सोलेन्ची, पुनी, थमी आदि रहेका छन् ।
१.८. शैक्षिक अवस्था
ब्याँसी शौका समुदायमा सत्प्रतिशत शिक्षित व्यक्तिहरु रहेका छन् । सरकारले घुम्ती विद्यालयको व्यवस्था गरेर झन् यस समुदायका व्यक्तिको शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको देखिन्छ । यस समुदायबाट भीमसेन तिंकरी र कृष्णसिंह बोहरा डाक्टर छन् भने शिक्षक, सेना र प्रहरी सेवामा समेत थुप्रै व्यक्ति संलग्न रहेका छन् ।
१.९. स्वास्थ्य अवस्था
ब्याँसी शौका समुदायमा परम्परागत औषधोपचार पद्धति रहेको पाइन्छ । यिनीहरुको समुदायमा कोही बिरामी भएमा ‘उसो धाहदै’ (औषधी दिने वैद्य) को मा गएर जाँच गराउने र उनले नै बिरामीको जाँच गरी औषधी दिने गर्दछन् । यदि कसैलाई ज्वरो आएमा, हातखुट्टामा चोटपटक लागेमा, पेट दुखेमा, आँखा पाकेमा, खटिरा आएमा, दाँत दुखेमा, हातखुट्ट मर्केमा “उसो धहदै” औषधिले निको गर्दछन् । हाल स्वास्थ्य चौकी र अस्पतालको सुविधा आएपछि धेरैजसो स्वास्थ्य र अस्पताल जाने गर्दछन् । यिनीहरुमा साक्षरता दर बढी भएका कारण र व्यापार गर्ने हुनाले सरसफाई सम्बन्धमा सचेत रहेको पाइन्छ । यिनीहरु बसोवास गर्ने धेरै गाउँमा खानेपानीको सुविधा पुगेको छ । शिशु तथा बाल मृत्युदर र मातृ मृत्युदर अन्य जातजाति भन्दा कम रहेको छ ।
१.१०. आर्थिक अवस्था
ब्याँसी शौकाहरुको परम्परागत पेशा तिब्बतसँगको व्यापार र पशुपालन रहेको छ । पशुमा भेडा, च्याङ्ग्रा, बाख्रा, घोडा, खच्चर, याक पाल्ने गर्दछन् र यी जनावरहरुको सहायताले तिब्बतबाट ऊन र नुन तथा व्यापारिक सामानहरु ढुवानी गर्ने गर्दछन् । नेपालबाट खाद्य सामग्री तिब्बत तिर लाने र त्यहाँबाट तयारी कम्बल, जुत्ता, ऊन, स्कार्य आदि ल्याउने गर्दछन् । तिब्बतबाट च्याङ्ग्रा ल्याएर बेच्ने समेत गर्दछन् । महिलाहरुले गलैचा, चुटका, पङ्खी (सल) बुन्ने गर्दछन् । यी घरेलु सामग्रीहरु खरिद गर्न व्यापारीहरु र प्रयोगकर्ताहरु घरमै आएर खरिद गरी लिने गर्दछन् । हाल तयारी कपडाहरु बजारमा आएपछि यी परम्परागत घरेलु कपडा तथा सामानहरु कम बिक्री हुने हुँदा व्यावसायिक हिसाबले उत्पादन गर्न कार्य कम भएको पाइन्छ । ब्याँसी शौकाहरु हाल सरकारी तथा गैर सरकारी संघ÷संस्थाहरुमा रोजगारीका साथै राजनीतिमा पनि सङ्लग्न रहेका छन् । राप्ला र दुम्लिङ्गबाट शिक्षक, प्रहरी सेनामा जागिर गर्नेहरुको संख्या बढिरहेको छ । परम्परागत रुपमा यी जातिहरु व्यापार र पशुपालन पेशा गर्ने भएका कारण यिनीहरुको आर्थिक अवस्था राम्रो रहेको छ । प्रायः सबैका नाममा घर र धेरथोर रुपमा जमीन रहेको छ । जमीन र घर नभएका मानिसहरु यस समुदायमा पाइदैनन् ।
१.११. निष्कर्ष
ब्याँसी शौकाहरुको परम्परागत र संस्कृतिलाई सरसर्ती हेर्दा यिनीहरु इमान्दार, कर्तव्य, परायण, दक्ष एवम् कुशल व्यापारीका साथै आप्mनो परम्परा र संस्कृतिलाई संरक्षण गर्ने देखिन्छन् । यिनका आप्mनै मौलिक संस्कार, रीतिरिवाज र चालचलन रहेका छन् । अतिथिलाई निकै सम्मान गर्ने परम्परा समेत यो समुदायमा देखिन्छ । मूलरुपमा व्यापार व्यवसायमा संलग्न भए पनि केही शौका परिवार अहिले पनि कृषि पेशा अँगाल्दै आएका छन् ।
सन्दर्भ सामग्री
अग्रवाल, वासुदेव शरण, २००१, आपसी बात दिल्लीः स्वयम् प्रकाशन, पृ. २५ ।
पन्त, जयराज, २०५५, अँजुलीभरी सगुन पाल्टाभरी फाग, काठमाडौँः ने.रा.प्र.प्र. ।
भट्ट, हरिशचन्द्र, २०७५, बझाङी नेपालीका भाषिक भेद, (अप्रकाशित विद्यावारिधी शोध प्रबन्ध) काठमाडौँः त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकाय डिन कार्यालय, बल्खु ।
भट्ट, मोहन र विष्णु जोशी, २०७४, शौका भाषाको अध्ययन काठमाडौँः भाषा आयोग, शंखमूल ।
रावत, रतन सिंह, २००४, शौक सीमावर्ती जनजाति, पिथौरागढः रयिया ब्रादर्श, धारचुला ।
सत्यन्द्र, सन् २००६, लोक साहित्य विज्ञान, राजस्थानः राजस्थानी ग्रन्थाकार, जोधपुर ।
नोट : प्रस्तुत कार्यपत्र महाकाली साहित्य संगम महेन्द्रनगर कञ्चनपुरको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
.gif)