महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरुको संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।
विश्वविद्यालयका उप–कुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिहरुमा यस क्षेत्रका भाषा,संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाहरुको संकलन गरेर प्रकाशन कार्य भइरहेको बताए । “यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ ।” उप–कुलपति जोशीले भने–“लोककथा संकलन संगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाढी बढाएको छ ।”
सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा.हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथाहरु प्रकाशन गर्न लागेको बताए । “सौका,भोटे,राउटे,मगर र रानाथारु र डगौराथारुका लोककथाहरु संकलन गरेर प्रकाशनको चरणमा छन ।” निर्देशक भट्टले भने–“हामीले सबै कथाहरु स्थानीय भाषा र नेपाली भाषा दुबैमा प्रकाशन गरिरहेका छौ ।”
उनले रानाथारुको लोककथाहरु रानाथारु भाषामा,मगरहरुका कथा मगरहरुका भाषामा प्रकाशन हुने बताए । “दार्चुला,बझाङ बैतडी,बाजुरा लगायत यहाँका नौ जिल्लाका लोककथाहरु स्थानीय भाषा र नेपाली दुबै भाषामा प्रकाशन हुनेछन ।” उनले भने–“हाम्रो धर्म संस्कृति रितिरिवाज हिजो हाम्रो हाम्रो समाज कस्तो थियो कथाका माध्यमबाट के सन्देश दिन खोजेको त्यसको जानकारी मिल्छ ।” उनले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको जानकारी दिए ।
सुदूरपश्चिमका अग्रज साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले लगर्न लागेको लोककथा संकलन अत्यनतै सकारात्मक रहेको बताए । “लोकथामा लोकजीवनका हरेक पाटाहरु भेटिने,स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रितिरिवाजका बारेमा यथार्थता सहितको जनस्रुतिहरु निहित हुन्छन ।” लेखकले भने–“यसले लोक जीवनलाई बुझ्न सहजता हुन्छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीब्रता दिएको छ ।
.gif)