गौरा पर्व पुराणमा उल्लेखित मानसखण्डको मौलिक पर्व हो । यस पर्वले यस क्षेत्रको मौलिक पहिचान चिनाउनुका साथै समग्र लोकजीवनको झल्को दिने गर्दछ । गौरा पर्व एक विशुद्ध सांसकृतिक तथा धार्मिक परम्परासँग जोडिएको पर्व हो । मानसी नारीहरु ब्रतका रुपमा उपासना गरे पनि यसमा पुरुषहरुको पनि उत्तिकै भूमिका रहने गर्दछ । यस पर्व मनाउने तरिका र यसको गरिमा छुट्टै रहेको पाइन्छ । गौरा पर्व स्थानीय देवीदेवता र कूल परम्परासँग जोडिएको पाइन्छ । कुनै पनि संस्कृति कुन समयमा ? कुन स्थानमा ? कसरी मनाउने भन्ने आफ्नो छुट्टै परम्परा रहेको पाइन्छ । उक्त परम्परा र रीति अनुसार मनाएमा मात्रै त्यसको वास्तविक स्वरुप बच्ने भएकाले त्यसलाई त्यसै अनुरुप मनाउनु उचित देखिन्छ । हिजोआज संस्कृति संरक्षणका नाममा थुप्रै विकृतिहरु देखा पर्न थालेका छन् । देवताको पवित्र खलोमा स्थापना गरिने गौरालाई कतै होटेलमा, कतै सडकमा त कतै गौराका लागि अनुपयुक्त स्थानमा पर्वहरु गरिदै आएको पाइन्छ । यसले सांस्कृतिक प्रदर्शनीमा राम्रो भूमिका खेले पनि वासतविकतामाथि भने प्रहार गरेको पाइन्छ । आजभोलि गौरा खेल्ने खलोमा थोरै मान्छे मात्रै सहभागी भएका पाइन्छन् भने यसता कार्यक्रमहरुमा बढी भीड लाग्ने गरेको पाइन्छ । यस्तो अवस्थामा एकातिर गौरा मनाइने ठाउँमा गौरा लोप हुँदै गइरहेको छ भने जहाँ त्यसको त्यति आवश्यकता हुँदैन त्यहाँ अनावश्यक भीड लाग्ने गरेको पाइन्छ । संस्कृतिको प्रचार हुनु र त्यसलाई फैलाउनु अत्यन्त राम्रो पक्ष हुँदाहुँदै पनि गौरा केवल डेउडाका रुपमा चिनिन थालेपछि यसको मूल स्वरुप भत्किदै गइरहेको पाइन्छ । कतिपय पाठ्यपुस्तहरुले समेत गौरालाई केवल डेउडाका रुपमा मात्र परिभाषित गरेको पाइन्छ । वास्तममा गौरा र डेउडा छुट्टै फरक पाटा हुन । डेउडा मनोरञ्जन र लोकसाहितयको प्रस्तुतिका लागि खेलिन्छ भने गौरा एक विशुद्ध धार्मिक तथा सांस्कृतिक पर्व हो । यसमा गरिने सांस्कृतिक प्रस्तुतिहरुको आफ्नो छुट्टै महत्व र गरिमा रहेको छ । वास्तममा गौरा पुत्रदा एकादशीको ब्रत बसिसकेकी विवाहित महिलाहरुले भाद्र महिनाको बिरुडा पञ्चमीका दिन फाग सगुन सहित बिरुडा भिगाउने दोस्रो दिन भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मूहानमा लगेर सगुन गायनसँगै धुने , सप्तमीको दिन गौरा ल्याउने तथा सप्तमी लगाउने, अष्ठमीको दिन गौरा खलोमा अठ्यावाली गायन गरी गौरा पूजा गर्ने , टाउको पूज्ने, धुबधागो लगाउने गर्दछन् भने त्यसपछिका दुईतिन दिन विभिन्न देवीदेवताका मन्दिरमा ढुस्को, धमारी, चैत, ठाडोखेल खेल्ने र अन्त्यमा उपयुक्त साइत हेरी गौरा सेलाउने गरिन्छ । यसरी मनाइदै आएको गौरा मूलमर्ममाथि प्रहार हुने गरी सांस्कृतिक विकृति भित्र्याउने काम कही कतैबाट पनि हुनु हुँदैन । यसका लागि हामी सबैले मिलेर वास्तविक संस्कृतिको समय र स्थानलाई मध्यनजर गर्दै मनाउनु उपयुक्त देखिन्छ ।
.gif)