विश्व पर्यटन दिवसको अवसर आउँदा मलाई १७ वर्ष पहिले पर्यटन वर्ष २००५ मनाइरहँदा कुनै एक कार्यक्रममा गड्डाचौकी नाका हुँदै नेपाल आउने पर्यटन बढाउनेबारे विशेष चर्चा गरिएको सम्झना आएको छ । त्यतिबेला म भर्खर दिल्ली विश्वविद्यालयबाट स्नातक सकेर घर फर्केको थिए । मेरा अग्रज दाजु गजाधर भट्टसँगै म होटल व्यवसायमा लागेको थिए । कञ्चनपुरमा पर्यटन दिवस मनाउने कार्यक्रमले मभित्र एक किसिमको कौतुहलता र उत्साह जागेर आएको थियो । मलाई सम्झना भए अनुसार नेपाल पर्यटन बोर्ड, स्थानीय संघसंस्था, नेतागण, जिल्लाका विभिन्न कार्यालयका हाकिमहरु र केही व्यवसायीहरु सहभागी भएको उक्त कार्यक्रममा केही विदेशी पाहुनाहरुलाई खोजेर स्वागत गरिएको थियो । त्यतिबेला पर्यटन प्रबद्र्धनका लागि केही सामान्य सुरुवात हुन थालेको सङ्केतका रुपमा महशुष गरे पनि मेरो मनमा पर्यटन व्यवसायलाई कसरी अगाडि बढाउन सकिएला ? र यसरी पाहुना खोजेर खादा तथा फूलमालाले स्वागत गर्नुभन्दा पनि यस ठाउँका पर्यटकीय स्थलहरमा साँच्चिकै पर्यटनहरुको भिड कसरी लगाउन सकिएला भन्ने विषयमा त्यही दिनदेखि चिन्तन मनन गर्न थाले । एक्लै मनमा कुरा खेलाइरहँदा कतिपय योजनाका रेखाचित्रहरु डायरीका पानामा पनि कोरिए यद्यपि ती महत्वकांक्षी योजनाहरु कापीकै पानामा सीमित रहे । २००५ देखि म प्रायः हरेक वर्ष २७ सितम्बरको दिन गड्डाचौकीमा आयोजना हुने कार्यक्रममा गइरहन्थे । मैले त्यहाँ जानुको उद्देश्य एउटा प्रर्यटन व्यवसायप्रतिको मेरो मोह हो भने अर्को त्यहाँ पहिलो वर्षको चर्चामा आएका कुराहरु कति लागु भए ? अबको रणनीति के होला ? आदि बुझ्न । आफ्नो व्यवसाय पनि पर्यटनसाग नै सम्बन्ध राख्ने व्यवसाय भएकाले पनि मलाई त्यस विषयमा बढी चासो भएको हुनसक्छ तर त्यो भन्दा पनि विश्वका अन्य विकशित देशहरका पर्यटन सम्बन्धी गरेका प्रयास र सफलताका कथाहरुले पनि मलाई यस क्षेत्रमा रुचि राख्न बाध्य गराएको थियो । उक्त कार्यक्रममा म जति पटक भाग लिन्थे त्यति पटक म एउटै कुरा मात्र सुनेर फर्किन्थे । जसो कि पर्यटन व्यवसाय मात्रै नेपालको विकास गर्ने आधार हो, पर्यटन व्यवसायलाई अगाडि बढाउनु पर्दछ, नेपालको समृद्धिको बाटो नै पर्यटन हो, पर्यटन व्यवसायमा लागे हाम्रा युवाहरुले विदेश पलायनको समस्या भोग्नु पर्दैन आदि आदि । सुरुका एक दुई वर्ष यी कुराहरु सुन्दा त लाग्थ्यो म पनि विदेश नगइ यही व्यवसाय गरी पर्यटन व्यवसायलाई सघाउँछु तर हरेक वर्ष केवल नारा र उही भाषण दोहरिन थाले तर कार्ययोजना अगाडि नबढेपछि भने मैले सरकारबाट आस गर्न छोडे पनि आफूले केही गर्नुपर्छ भन्ने कुरामा भने सचेत रहँदै आएको छु ।
स्नातक सिद्धिएपछि आफ्नो ठाउँमै केही गर्ने अठोटका साथ व्यवसायमा लागिरहँदा मैले यो समाज तथा देशलाई मैले केही दिन सके कि सकेन भन्ने प्रश्न मनमा खेलाइरहन्थे । मैले के कति अवसरहरु गुमाए ? केकस्ता अफ्ठ्याराहरुको सामना गरे ? कस्ता कस्ता मानिसहरुसँग भेट भयो ? व्यवसाय गरिरहँदा मैले के पाए के गुमाए ? आदि प्रश्नहरु मेरो मानसपटलमा खेलिरहन्छन् । म यी प्रश्नहर र पर्यटन व्यवसायको विकास गर्ने सपनाबीच तुलना गरी हेर्छु र के गर्न सके के गर्न सकेन ? अथवा मेरो सपना पूर्णतया साकार नहुनुपछाडिको कारण के हो ? आदि थुप्रै कुराहरु म सोचिरन्छु । यी सम्पूर्ण कुराहर सम्झदा मलाई यस क्षेत्रको विकासको बारेमा सोच्न बाध्य बनाउँछ। मेरो शहर वास्तममा कस्तो छ ? पर्यटन व्यवसाय फस्टाउनका लागि यो शहरको मोडेल तथा संरचना कस्तो हुनुपर्दथ्यो ?भन्ने कुरा पनि मेरो मनमा खेलिरहन्छ । म विश्वको ठूलाठूला शहरमा भएको विकास पनि हेर्छु, त्यहाँ पर्यटकहरुको भिड लागेको पनि देख्छु र सोच्दछु हाम्रो ठाउँको पनि विकास यसरी नै हुँदो हो त अवशय पनि पर्यटकहरु यहाँको विकास हर्न आउँथे होलान् । एकातिर प्रकृतिको कलाकारिता, अर्कोतिर विकासमा पनि अगाडि बढ्न सके त अवश्य पनि मेरो सपनाको पर्यटन पबद्र्धनको सपना साकार हुन्थ्यो होला भन्ने सोच्दछु । यस विसयमा सरोकारवाला र मनमिल्ने केही व्यक्तिहरसाग कुरा पनि राखियो तर पनि सुदूरपश्चिमकै नभएर देशकै ठूला बजारहरुमध्येको एक बजार महेन्द्रनगरको विकास हेर्दा मेरा सपना पनि यिनै गल्लिहरुमा भिडमा कता कुल्चिन्छन् कता ?
महेन्द्रनगरको बजारको आजको अवस्था हेर्दा यहाँको सौन्दर्य हराएको छ । गल्लिहरुमा खाल्टाखुल्टी, अव्यवस्थित पार्किङ, छाडापशुचौपायाहरुको बथान, ठेलागाडाहरुको अव्यवस्थित भिड, वर्षामा भरिएको पानी, लामखुट्ेहरुको बृद्धि,त्यसैमा मानिसहरुको अनियन्त्रित हिडाइ आदि देख्दा दुःख लाग्छ । अध्यारो हुन थालेपछि बजारक्षेत्रको अवस्था र संन्त्रासमय वातावरण देख्दा अचम्म लाग्दछ । व्यापारी साथीहरुले राती एउटा वल्ब बालेर छोडिदिनुपर्ने अवस्था छ । मैले यहाँ व्यवसाय सुरु गरेदेखि भनौं या पर्यटन प्रबद्र्धनको सपना बोकेर यस ठाउँमा केही गर्छु भन्न सोच मनमा बोकेदेखि अहिले सम्म कति जिल्ला हाक्ने हाकिम साहेबहरु आउनु भो कति जानु भो । कतिपयले केह िगर्नु भो कतिपय त्यत्तिकै फर्कनु भो । कतिपय व्यक्तिहरले आफूलाई धेरै जानने सम्झेर हरेक पाठ पढाए तर यहाँका मानिसलाई लाटासिधा सम्झेर उनीहरुका कुराहरुप्रति त्यति चासो नै राखेनन् । जनप्रतिनिधिहरुले पनि आफ्नो दुनो सोझ्याउँदै आए तर मेरो सपना र यस क्षेत्रको विकास र पर्यटन भने अहिलेको अवस्था पनि त्यही बाटो हिडिरहेका पर्यटनलाई समातेर माला लगाइदिएको दिनको जस्तै छ, केही सुधार हुन सकेन । यसरी आफ्नो सुन्दर भविष्यलाई समेत दाउमा राखेर यही ठाउँमा केही गर्नु पर्छ भन्ने सोच लिएर व्यवसाय सञ्चालन गरी बसिरहँदा मलाई अझ पनि मेरो सपना पुरा गर्न लाग्नुपर्छ भन्ने अठोटमै बसिरहेको छु । सकेको केही गरियो र धेरै गर्नु पनि बाँकी छ । यो मेरो मात्रै सपना नभएर यस ठाउँ तथा समग्र देशवासीको सपना भएकाले म एक्लैले भने केही गर्न सक्दैन भन्ने मलाई लाग्दछ । यसका लागि दक्ष जनशक्ति र केही गर्नुपर्दछ भन्ने जुनुन बोकेका युवाहरुको साथ सहयोगले मात्र सम्पन्न हुन सक्दछ । हामी कोही आउला र गरिदेला भनेर पर्खियौं भने मेरोजस्तै १७ वर्ष अझैं पर्खिएर फेरी उही अवस्था हेनुपर्ने दिन आउन नसक्ला भन्न सकिदैन । हाम्रो समुन्नेमा दुहुनो गाई छ तर हामी डेरीबाट दुध ल्यार खाँदैछौ, आफै दुहेर खाने रहर कहिल्यै गरेनौ । जबसम्म हामी घरको लैंडो गाई आफै दुहुन सक्दैनौ तबसम्म शुद्ध दुध पिउने सपना पनि पुरा हुँदैन । हामीलाई प्रकृतिले सबथोक दिएको छ छ त केवल त्यसको सदुपयोग गर्नु, यसकारण हामी सबैले लागे नहुने भन्ने के छ ? सानोबाटै भए पनि सुरुवात गरौं, आगामि रणनीति बनाऔं, विकासका लागि पहल गरौँ र सुन्दर शहर बनाउनमा सबै हातमा हात मिलाऔँ । व्यवसायहरको स्तरोन्नति गरौँ, अनि मात्र तपाई हामीले कल्पना गरेको पर्यटन व्यवसाय फस्टाउन सक्छ ।
.gif)