लोक भनेको संसार हो । संसारमा मानवको उत्पत्तिकालदेखि नै जीवन जिउने क्रममा गर्नु परेका संघर्ष, सुखदुख र विविध समयमा घटना तथा समग्र जीवन भोगाइबाट विविध कुराहरुको सिर्जना गर्दै आएको पाइन्छ । यिनै अनुभवहरुले जीवन जिउने कलाको विकास गरी मानव समुदाय अन्य प्राणीहरुभन्दा भिन्न रुपमा परिचित हुन पुगेको देखिन्छ । मानिसले एक अर्कासँग विचार आदानप्रदान गर्न भाषाको सिर्जना ग¥यो । त्यही भाषाका माध्यमले विभिन्न घटनाहरुको वर्णन गर्ने, सुखदुःखका कुराहरु सुनाउने गर्दै जाने क्रम चल्यो । उक्त भाषाका माध्यमले समाजलाई शिक्षा दिन, मनोरञ्जन गर्न विविध किसिमका यथार्थ तथा काल्पनिक रचनाहरु मानिसको मानसपटलमा आए । तिनै कुराहरु पुस्तान्तरण हुँदै लोक साहित्यका रुपमा परिचित हुन पुगे । यसरी लोकमा परम्परादेखि मौखिक रुपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका घटना वर्णन, कथा, गीत आदिले भरिदै गएपछि तिनीहरुलाई मानव जीवनका विविध पक्षसँग जोड्ने परम्पराको विकास भयो । त्यही कुरा निरन्तर रुपमा चल्दै आएपछि त्यसले लोक साहित्यको रुपमा मानिसले ग्रहण गरे । संसारका हरेक भाषा तथा भाषिक समुदायमा आआफ्नै किसिमको रीतिरिवाज, जीवनशैली तथा लोकसाहित्य रहेको हुन्छ ।
दैलेख जिल्ला कर्णाली प्रदेशमा प्रर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार हो। दैलेख जिल्ला कर्णाली प्रदेश क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको पहाडी क्षेत्रमा अवस्थित छ । यसको कुल क्षेत्रफल १५०२ वर्ग कि.मी. रहेको छ । यस जिल्लाले नेपालको कुल क्षेत्रफलको १.०२ प्रतिशत भुभाग समेटेको छ । यस जिल्लाको नाम दैलेख रहनुको पछाडी विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ । पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट “दधिलेक“ नाम रहन गएको र पछि अपभ्रंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको भन्ने किंवदन्ती पाइन्छ । त्यसै गरी यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो र पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको भन्ने किंवदन्ती पनि रहेको पाइन्छ । यहाँ प्रशस्त मात्रामा दहि–दुध पाइने भएकाले “दहिलेक“ भनिदै पछि दैलेख नाम रहन गएको भन्ने भनाइ पनि सुन्नमा आउँछ । जे जस्तो भए पनि यो क्षेत्र पहाड, नदी, ताल तथा वनजङ्गल आदिले यस जिल्लाको प्राकृतिक सौन्दर्यता बढाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरु परम्परागत कृर्षि पेशामा लागेको पाइन्छ । अधिकांश हिन्दुहरु रहेको यस क्षेत्रमा विभिन्न जातजातीका मानिसहरुको बसोबास रहेको पाइन्छ । दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ । नेपाली भाषाको जन्मथलो । यो क्षेत्र खस सभ्यताको चिनारी दिने थुप्रै ऐतिहासिक सम्पदाहरुको पहिचान बोकेको जिल्ला हो । यस क्षेत्रमा रहेका थुप्रै पुरातात्विक देवलहरु, मठ मन्दिर, विभिन्न प्राचिन अभिलेख र कलाकारिताका उत्कृष्ट नमुनाहरु रहेको पाइन्छ । नेपालकै प्राचीन दुल्लु अभिलेख पनि यसै जिल्लामा रहेको पाइन्छ । यस क्षेत्रमा मनाइने विभिन्न चाँडपर्व, मेला, तथा विभिन्न सँस्कारहरुले यहाँको मौलिकता झल्काएको पाइन्छ । यस क्षेत्रमा विशेष गरी खस भाषाको प्रयोग गरिदै आएको पाइन्छ जुन नेपाली भाषाको पनि जननीका रुपमा परिचित छ । यस क्षेत्रमा बोलिने भाषामा थुप्रै लोकसाहित्य रहेको पाइन्छ । यस क्षेत्रका लोक गाथा, लोक कथा, संस्कार गीत, आदिले यहाँको लोक साहित्यको भण्डारलाई भरिपूर्ण गरेको पाइन्छ । दैलेखी लोक साहित्य लोक गद्य, लोक पद्य र गद्यपद्य मिश्रित गरेर तिन किसिमको रहेको छ । यस क्षेत्रको लोक साहित्यको धेरैथोरै चर्चा एवम् खोज गरिएको भए पनि यसभित्रका थुप्रै कुराहरुको अध्ययन हुनु बाँकी रहेको छ । यस क्षेत्रको लोक पद्यहरुको सैद्धान्तिक अध्ययन विश्लेषण भएको पाइदैन । लोक पद्यमा पनि आधुनिक साहित्य जस्तै छन्द, लय, रस, अङ्कार आदि प्रशस्त मात्रमा रहेको भए पनि त्यसको अध्ययन तर्फ विस्तृत रुपमा कसैले पनि चासो देखाएको पाइदैन । लोक साहित्यले आधुनिक साहित्यको सिर्जनामा समेत महत्वपूर्ण योगदान दिने भएकाले यसमा भएका सैद्धान्तिक पक्षहरुको पनि खोजी हुनु आवश्यक देखिन्छ ।
‘रस’ शव्द संस्कृतको ‘रस्’ धातुबाट बनेको हो । यसको अर्थ कुनै पनि पदार्थका गुण भन्ने बुझिन्छ । रसलाई संस्कृत साहित्यमा विभिन्न सन्दर्भ वा प्रसङ्गमा प्रयोग गरिएको पाइन्छ । व्युत्पत्ति अनुसार रसका दुई अर्थ छन् –१. आस्वादन अर्थमा ः –‘रस्यते आश्वाध्यते इति रस’ २. द्रवत्वका आधारमा ‘रसते इति रसः’ (पौड्याल ः२०६४) । साधारणतया रुपमा यसका विभिन्न अर्थ पाइन्छन् । भौतिक जगतमा हेर्ने हो भने अमिलो, पिरो,गुलियो, नुनिलो आदिलाई षडरस भनेर चर्चा गरिएको पाइन्छ । त्यसै गरी आर्युवेदमा पेय पदार्थ अर्थात औषधिहरुको अनिवार्य गुणलाई रस भनिएको छ । वेदहरुमा पनि सोमरस आदिको चर्चा पाइन्छ । औपनिषद्मा रसो वैशः भनेर बह्म वा बह्मानन्दको प्रतीकलाई रस मानेको पाइन्छ । साहित्यमा भने कुनै पनि साहित्यिक रचना विशेषबाट पाइने आनन्दको अनुभूतिलाई रस भनिन्छ । रसको उल्लेख सर्वप्रथम गर्ने विद्वान आचार्य भरत मुनी हुन उनले आफ्नो नाट्यशास्त्रमा रससुत्रको व्याख्या गर्दै विभाव, अनुभाव, व्यभिचारी भावका संयोगले रसको नष्पित्ति हुने बताएका छन् । यसकारण रससुत्रका प्रवर्तकप पनि आचार्य भरतमुनीलाई नै मानिन्छ । कुनै पनि साहित्यक रचना सुनेर वा पढेर मानिसमा उत्पन्न हुने भाव अर्थात साहित्यको आस्वादन पछि मानिसको मनमा मिल्ने आनन्द नै रस हो । साहित्यको आस्वादनबाट मिल्ने एक किसिमको आनन्द हो भन्न सकिन्छ । शव्द र अर्थको चमत्कारले मानव मनमा दिने आनन्द नै रस हो । रसका प्रकारहरुका बारेमा पूर्वीय आचार्यहरुमा मतभेद देखिन्छन् । आचार्य भरतले मूलतः श्रृङ्गार, वीर, रौद्र र विभत्स यी चार रसबाटै अरु रस पनि सहायकका रुपमा आउँछन् भनेका छन् । त्यसै गरी उद्भट र आनन्द वर्धनले श्रृङ्गार, वीर, रौद्र र विभत्स हास्य, करुण भयानक र शान्त गरी नौ रस मानेका छन् । त्यसै गरी गोस्वामीले भक्तिरस थपी रसको संख्या दस भनेका छन् । समग्रमा भन्दा श्रृङ्गार, वीर, रौद्र, विभत्स, हास्य, करुण, भयानक, अद्भुत र शान्त गरी नौवटा रसहरुको व्याख्या गरिएको पाइन्छ ।
यस क्षेत्रमा बोलिने भाषामा थुप्रै लोकसाहित्य रहेको पाइन्छ । यस क्षेत्रका लोक गाथा, लोक कथा, संस्कार गीत, आदिले यहाँको लोक साहित्यको भण्डारलाई भरिपूर्ण गरेको पाइन्छ । दैलेखी लोक साहित्य लोक गद्य, लोक पद्य र गद्यपद्य मिश्रित गरेर तिन किसिमको रहेको छ । दैलेखी लोक पद्यहरुमा विभिन्न रसहरुको प्रयोग भएको पाइन्छ ।
क) श्रृङ्गार रस
परस्पर प्रेममा बाधिएका नायक नायिकाको एकअर्काप्रतिको अनुरागको वर्णन भएमा श्रृङ्गार रसको उत्पत्ति हुन्छ । श्रृङ्गारको अर्थ कमोद्रेकको अवस्था हो । यो संयोग र वियोग गरी दुई प्रकारको हुन्छ । दैलेखी लोक साहित्यमा ढटाहा गाथा रहेको छ उक्त गाथामा सिँगारमाल नामक कन्याको प्रेम प्रसङ्ग र विवाहका कुरा यसमा आउँछन् सुन्दर सिँगारमाला विवाहको परिनमा सजिदा उसको जवानी रुपसौन्दर्यको वर्णन गर्दा श्रृङ्गाररसको उत्पत्ति भएको पाइन्छ ।
शिरकी घयता त टलकन लागि
डोटीहार सिँगारमाला मलकन लागि
उपरिको बाँनिया त धन्न लोभ लाग्यो
शिरको सिन्दुर पहिरी टलकन लागि (तिमिल्सेना : २०७७)
ढटाहाले बासुरीको धुन सुनाएको सिगारमालालाई देखेर लोभिएको र अंगालो हालेको प्रसङ्ग पनि यसै गाथामा आउँछ । यसमा पनि श्रृङ्गार रसको उत्पत्ति भएको पाइन्छ ।
बजाइ अल्या बाँसुरीअ ढुङ्गिमाथि बसी
बाासुरीका स्वरले त सिगारमाला उठी
खुशस्भया ढटाहाज्यू अंगालो मारी हाल्या
खुशीभैन सिगारमाला अंगालो हालिन
ख) हास्य रस
शारीरिक, मानसिक, भाषिक आदि विकृति र विसङ्गतिहरुलाई देख्दा हास्य रस उत्पन्न हुन्छ । हास्यास्पद व्यक्ति वा वस्तु आलम्वन विभाव, विकृत रुप क्रियाकलाप उद्दिपन, मुख बाउनु आदि अनुभाव र रोमान्चआदि व्यभिचारी भाव र हासो स्थायी भाव हो । दैलेखी लोक साहित्यमा बच्चाहरुलाई खुशी गराउन गाइने काउकुती गीतमा हास्य रस पाइन्छ, जुन यसप्रकार छ :
ए चिल्या बुढी आइछ
ए केटाकेटी ल्याइछ
ए भात पकाइछ
ए काउकुती लाइछ (तिमिल्सेना :२०७७)
ग) बीर रस
युद्ध, दया, दान र धर्म सम्बन्धी कार्यमा उत्साह र सक्रियतापूर्वक काम भयो भने वीर रस उत्पन्न हुन्छ । यसको स्थायी भाव उत्साह हुन्छ । शत्रु, माग्ने आदि आलम्बन विभाव, उनीहरुले गरेको प्रशंसा आदि उद्दिपन, सत्कार, रोमाञ्च आदि अनुभाव, धैर्य गर्व आदि व्यभिचारी भाव हुन् । दैलेखी लोक गाथामा बाला राजा काशीरामको भारतमा मोरङका राजा हिन्दपति सेनसँग लडाँई गरेर आफ्ना चार पुर्खा मारेको बदला लिने अठोटमा युद्धको तयारी दर्गाको प्रसङ्गमा बीर रसको लोक पद्य प्रस्तुत गरिन्छ जुन यसप्रकार रहेको छ :
उफड मा¥या राजाले गरख्याका जसो
समर दन्दुभी घन्कन लाग्या, समर दुन्दुभी
जोडी हुड्का बाज्या शैया जोडी हुड्का
छत्तिस नगारा बाज्या शैया बत्तीस डगरा बाज्या (मिमिल्सेना :२०७७)
घ) करुण रस
पुत्रादी प्रियजनसितको वियोग वा तिनको विपित्ति वा मरण देखेर सुनेर मनमा हुने विकलताबाट करुण रसको उत्पत्ति हुन्छ । यसमा शोक स्थायी भाव रहेको हुन्छ भने मृत प्रियजन आलम्वन विभाव मुख दर्शन, शवदर्शन उद्दिपन विभाव, रोदन, विलाप अनुभाव र चिन्ता मुर्छा व्यभिचारी भाव यसमा देखिन्छन् । दैलेखी लोक पद्यमा बालाराजा काशीरामको भारतमा राजा काशीरामकी आमाले आफ्ना आफन्तहरु युद्धमा मारिएकोमा शोक प्रकट गरेको पाइन्छ जसमा करुण रसको उत्पत्ति भएको पाइन्छ ।
तम्रा बराजु चन्द्रभान गया मोरङै रह्या
तम्रा जिजु सूर्यभान गया मोरङै रह्या
तम्रा काका कालिभान गया मोरङै रया
हो बाला काशीराम मेरो बोल सुन (तिमिल्सेना : २०७७)
ङ) रौद्र रस
शत्रुको अपमानपूर्ण व्यवहार, देश र धर्मको अपमान आदि घृणित कुराबाट रौद्र रसको उत्पत्ति हुन्छ । यसको स्थायी भाव क्रोध वा रिस हो । शत्र् आलम्बन विभाव, विपक्षीका अनुचित व्यवहार उद्दिपन विभाव, आँखा, मुख रातो हुनुअनुभाव प्रतिकार गर्ने चाहाना व्यभिचारी भाव हुन् । दैलेखी धमारीमा सिता रावणले सिता हरण पश्चात भएको राम रावण युद्धमा हनुमान, लक्ष्मण आदि रिसाएर रावणमाथि प्रहार गर्न खोजेको पसङ्ग्रमा रौद्र रसको उत्पत्ति भएको पाइन्छ , जुन यसप्रकार छ :
छोडिदेन गडलैका रावन
छोडिदे गडलैका
जैसे हनुमान अगौली जुजे
तैसे बरसला साउन (तिमिल्सेना : २०७७)
च) भयानक रस
डरलाग्दो वस्तु देख्नाले वा स्मरण गर्नाले भयानक रस उत्पन्न हुन्छ । यसको स्थायी भाव भय हो । डरलाग्दो रुप आलम्बन विभाव, हिंसात्मक कार्य उद्दिपन विभाव, पसिना आउनु, कराउनु व्यभिचारी भाव र त्रास, आवेग सञ्चारी भाव हुन् । दैलेखी लोक गीतमा भयानक रस यसरी उपस्थित भएको पाइन्छ ।
राक्षस मार्नलाइ आयो ठूला खुट्टा टेकी
बानर भागन लाग्या कुम्भकर्ण देखी
छ) बीभत्स रस
कुनै घृणित वस्तुलाई देखेर उत्पन्न हुने क्षोभ अथवा जुगुप्सा नै बीभत्स रस हो । घृणित वस्तु आलम्बन विभाव, घिनलाग्दो चेष्टा उद्दिपन, नाक थुन्नु व्यभिचारी भाव र घृर्णा स्थायी भाव हो । दैलेखी लोक गगीतमा बीभत्स रसको प्रयोग यसरी भएको पाइन्छ ः
ख्ट्टामा भएको घाउ पिप घलघल
झिगा बस्या सतै माथि मन थलथल
ज) अद्द्भुत रस अचम्म लाग्दा वस्तु देखेर वा त्यसै किसिमका कुरा सुनेर उत्पन्न हुने आश्चर्यभावबाट अद्भुत रसको उत्पत्ति हुन्छ । यसको स्थायी भाव आश्चर्य, असाधारण व्यक्ति, वस्तु आलम्बन, विश्मयपूर्ण दृश्य उद्दिपन र चञ्चलता आदि व्यभिचारी भाव हुन् । दैलेखी धमारीमा कृण्णले कालीकागको शिरमा नाच्दाको प्रसङ्गमा गाइने भारतमा अद्भूत रसको उत्पत्ति भएको पाइन्छ, जुन यसप्रकार छ :
नाचन लाग्या कृष्णबाला नाचन लाग्या कृष्णबाला
हा हो काली र नागैका शिरैमा (तिमिल्सेना : २०७७)
झ) शान्त रस
संसारको अनित्यता निःसारताको बोधबाट उत्पन्न हुने वैराग्यपूर्ण चित्तवृत्तिबाट शान्त रसको उत्पत्ति हुन्छ । यसको स्थायी भाव वैराग्य हो । निःसार संसार या परमात्मा उद्दिपन, सात्विक रोमाञ्च अनुभाव, हर्ष, स्मृति, विरक्ति व्यभिचारी भाव हुन् । दैलेखी लोकलयमा गाइने हरिभजनमा शान्त रसको उपस्थिति पाइन्छ ।
हरि भजन गाइरहनु होला
फेरी फेरी पाइदैन यो चोला
नेपाली भाषाको जननीका रुपमा मानिने खस भाषा लोक साहित्यका दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको छ । यही भाषा दैलेख जिल्लामा पनि बोलिन्छ । दैलेखी लोक साहित्यमा भएका सैद्धान्तिक पक्षहरुको चर्चा केही मात्रामा भए पनि साहित्य शास्त्रका विभिन्न सिद्धान्तहरुमा यसको अध्ययन कमै भएको पाइन्छ । दैलेखी लोक पद्यमा रस, अलङ्काल आदिको उचित प्रयोग भएको पाइन्छ । यसकारण यसको बिस्तृत अध्ययन हुनु आवश्यक छ । यसको अध्ययनले दैलेखी लोक साहित्यमा भएको विविध महत्वका विषयवस्तुको खोज , संरक्षण र प्रचारप्रसार हुन्छ । यस लोक साहित्यमा भएको ज्ञानराशीलाई अन्य भाषीहरुमा बढुन सकिन्छ । यसकारण यसको सैद्धान्ति अध्ययनमा सबै पक्षले चासो लिनु आवश्यक छ ।
सन्दर्भ सामग्री
तिमिल्सेना, नारायणप्रसाद (२०७७) दैलेखी लोकसाहित्य, दुल्लु नगरपालिका, दैलेख
पन्त, देवकान्त(२०३२), डोटेली लोकसाहित्य, काठमाडौं : एशियाली अनुसन्धानकेन्द्र,त्रिभुवन विश्वविद्यालय ।
पन्त, जयराज (२०६८), लोकगाथा (कार्यपत्र) नेपाली लोकसाहित्य राष्टिय संगोष्ठी, पोखरा : नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौ र पृथ्वी नारायण क्याम्पस ।
पौड्याल, कृष्णविलास (२०६४), साहित्यशास्त्र र नेपाली समालोचना, नवीन प्रकाशन, काठमाण्डौँ
भण्डारी, पारसमणि र डा. माधव प्रसाद पौडेल (२०६८), साहित्यशास्त्र र नेपाली समालोचना, विद्यार्थी पुस्तक भण्डार, काठमाण्डौँ
.gif)