सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा


पश्चिम प्रेस
सोमबार, असोज १७ २०७९
  • 775
    Shares

  • images
    images
    प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा

    बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज जात्रा सुरु भएको छ । निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्यपूजा भइरहेको मन्दिरमा महासप्तमीका अवसरमा विशेष पूजाआजासहित जात्रा सुरु भएको हो ।

     हरेक वर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पु¥याउने चलन रहिआएको छ । महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडकै बढी सङ्ख्यामा यहाँ पशुबलि दिइन्छ । 

     निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरुसमेत आउने गरेको स्थानीयवासी रमेश बोहराले बताउनुभयो । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

      निङ्गलाशैनी भगवती मन्दिरमा एक वर्षमा चारपटक जात्रा हुने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । 

     यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्यरूपमा सम्पन्न गर्नका लागि देहिमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहिमाडौँ बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो ।

     मदिरा सेवन र बिक्रीका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले दसैँको अवधिसम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिराको कारोबार र सेवन गरेमा कानूनअनुसार कारबाही हुने समेत जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # निङ्गलाशैनी मन्दिर
  • प्रतिक्रिया दिनुहोस