सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उम्रिँदै


पश्चिम प्रेस
शुक्रबार, असोज २१ २०७९
  • 913
    Shares

  • images
    images
    वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उम्रिँदै

    महेन्द्रनगर । कञ्चनपुरसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । 

    छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो ।  “खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भन्नुभयो, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।”

    पाकेर तयार भइसकेको धानबाली दुई हप्ताअघि नै भित्र्याउने तयारी किसानले गरेका थिए । केही दिनदेखि भइरहेको हावाहुरीसहितको वर्षाले भित्र्याउने अवस्था नहुँदा झुलेका बाला खेतैमा ढलेर क्षति पुगेको किसानले बताएका छन् । 

    मुख्य खाद्यान्न बाली धान पाकेर झुलेपछि धेरै किसानलाई दसैँमा रमाउनेभन्दा पनि धान कतिबेला र कसरी भित्र्याउने भन्ने चिन्ता बढेको छ । बुधबार खेतमा काटेको बाली उठाउँदै गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका–१३ का नारायण चौधरीले चाहिने बेला पानी नपर्ने नचाहिने बेला झरी पर्ने समस्याले हैरान पारेको गुनासो सुनाउनुभयो । 

    “छिनछिनमा भइरहेको झरीले निकै समस्यामा पार्यो”, रानाले भन्नुभयो, “गत वर्षको दसैँमा पनि बाली काट्ने समयमै भएको वर्षाले पूरै धनबाली भिजेर खेतमै उम्रिएको थियो ।” बर्सेनि मौसममा९जलवायु० भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीवको समस्या बढ्न थालेको किसानको अनुभव छ । मौसममा छिनछिनमै देखिने अस्वाभाविक परिवर्तनको समस्या पछिल्ला वर्षमा बढ्दै गएको स्थानीयवासीको भनाइ छ । 

    हावाहुरी चलेर आकासमा छिनमै बादल मडारिएर वर्षा हुने र छिनमै बादल हराएर टन्टलापुर घाम लाग्ने सुक्खा मौसम हुने समस्या बढेको अनुभव किसान मानबहादुरले सुनाउनुभयो । “धानबाली भित्र्याउने असोज महिनामा यस्तो झरी र वर्षा भइरहने मौसमको अनुभव यसअघि कहिल्यै भएन”, उहाँले थप्नुभयो, “जलवायु परिवर्तनको असरले यस्तो भएको भनिन्छ, नेट इन्टरनेट र फोनको पहुँच बढ्दा भने किसान पहिलेको भन्दा सचेत भएका छन् ।” 

    रोपाइँ गर्ने समय असार महिनामा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरूपमा सक्रिय हुन नसक्दा भएको पर्याप्त पानीको अभावले कतिपय किसानले बोरिङ पम्पिङ सेटबाट पानी तानेर रोपाइँ गरेका थिए । 

    यसैबीच दुई दिनदेखि भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती र सडक जलमग्न हुँदा आवागमन असहज बनेको छ । धनगढीस्थित विभिन्न सरकारी कार्यालय परिसरमा दुई÷तीन फिटसम्म पानी जमेको छ ।  

    विभिन्न नदीमा आउने बाढीका कारण जिल्लाको टीकापुर, भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, जोशीपुर, पथरैयालगायतका होचो भूभागका बस्ती डुबानमा परी प्रभावित हुने गरेका छन् । दुई हप्ताअघिको वर्षासँगै भएको डुबानको समस्याले भजनी, जानकी, टीकापुर र जोशीपुर क्षेत्रमा बस्ती डुबानमा पर्दा धनमाल भिजेर क्षेति पुगेको थियो । 


  • सम्बन्धित विषय:

  • # धानबाली
  • प्रतिक्रिया दिनुहोस