सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

फूल खेतीमा कृर्षि प्राविधिक


पश्चिम प्रेस
बुधबार, कात्तिक ९ २०७९
  • 753
    Shares

  • images
    images
    फूल खेतीमा कृर्षि प्राविधिक

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उहाँले फूलखेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उहाँले बताउनुभयो ।

    “अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।” उहाँले भन्नुभयो,“हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।” उहाँले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताउनुभयो । 

    “जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।” उहाँले भन्नुभयो–“दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछाँै ।” उहाँले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताउनुभयो । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उहाँले बताउनुभयो । 

    “प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ” उहाँले भन्नुभयो “एक किलो फूलको  पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।” दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उहाँले बताउनुभयो । “फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ” उहाँले भन्नुभयो “यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।” उहाँले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताउनुभयो ।

     “विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ” उहाँले भन्नुभयो “अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।”


  • सम्बन्धित विषय:

  • # फूल खेती
  • # कृर्षि प्राविधिक
  • प्रतिक्रिया दिनुहोस