महेन्द्रनगर । देशमा संघ र प्रदेशको निर्वाचन मुखनिरै पुगेको छ । उम्मेदवारहरु नयाँ विचार र नयाँ आधार सहितका एजेण्डा पस्कनुको साटो विगतमा भएका केही राम्रा कामलाई नै हामीले गरेको भन्ने दाबी गर्दै मत मागिरहेका छन् । कञ्चनपुरकै कुरा गर्ने हो भने महाकाली प्रादेशिक अस्पताल हामीले बनाएको नभन्ने कुनै दल तथा नेता भेटाउन सकिएको छैन् । जबकी प्रादेशिक अस्पताल सुधारका लागि आम नागरिक तथा विकासप्रेमी नागरिकहरुले आफै केही रचनात्मक काम गर्दै र दबाद दिदै गर्दा भएको सत्यलाई कसैले पस्किन सकेका छैनन् । महाकाली प्रादेशिक अस्पतालको सुधारका लागि कञ्चनपुरका केही सामाजिक व्यक्तित्व तथा युवाहरले सुरु गरेका थिए ।
विभिन्न समयमा अस्पतालको सरसफाइ गर्नेदेखि लिएर पार्क निर्माण लगायत अन्य दवाबका कार्यक्रमहरु यस क्षेत्रका सामाजिक व्यक्तित्व तथा विकास एवम् परिवर्तन चाहाने युवाहरुले गर्न थालेका थिए । त्यसपछि बल्ल सरकारी स्थरबाट र राजनीतिक स्थरबाट पनि यसतर्फ ध्यान दिन थालिएको हो । त्यही एउटा कामलाई सबै दल तथा उम्मेदवारहरुले आफूले गरेको उत्कृष्ट काम देखाउँदै आसन्न निर्वाचनमा भोट माग्ने आधार कुनै वैज्ञानिक आधार होइन । आम नागरिकले अबको विकासका योजना के हुन ? कसरी यस क्षेत्रको विकास गर्नुहुन्छ भन्ने कुरा मुख्य हो । दल तथा सरकारले गरेका राम्रा काम कसैले देखाइरहनु पर्दैन त्यसका लागि आम नागरिक आफै मूल्यांकन गर्छन । तर एउटा आधारयुक्त एजेण्डा सहित कुनै पनि दल तथा उम्मेदवारले आम नागरिकककाने मन बुझाउन सकिएको देखिदैन ।
दल तथा उम्मेदवारहरुले आफ्ना घोषणपत्र तथा एजेण्डाहरु सार्वजनिक गरिरहँदा कुनै नयाँ विचार र भुगोल अनुसारका युग सुहाँउदा एजेण्डाहरु देख्न पाइएनन् । यसपालिको निर्वाचनमा पनि विगतमा जस्तै संस्कारगत रुपमा देखिएका उस्तै एजेण्डाहरु बोकेर उम्मेदवारहरु जनतासामु प्रस्तुत भइरहेका छन् । विगतमा गरेका केही राम्रा कामहरुलाई सबै दल तथा पार्टीका उम्मेदवारहरुले आफूले गरेको काम भनेर जनतालाई ठग्दै हिडिरहेका छन् । चुनावी प्रचारप्रसारको क्रममा आफ्ना प्रमुख एजेण्डाहरु प्रस्तुत गर्नुको साटो एकअर्का पार्टी र व्यक्तिका टिकाटिप्पणीहरु गर्दै आफू र आफ्नो पार्टीलाई चोख्याउने काम मात्रै भइरहेको छ । पार्टीका शीर्ष नेताहरु नै एक अर्काका घोषणापत्रहरुबारे दोहरी खलिरहेका छन् ।
आफ्नो पार्टीको विचार र सिद्धान्तमा अडिग भएर आफ्ना युग सुहाउँदा योजना तथा एजेण्डाहरु जनतासामु प्रस्तुत गर्नुको साटो कुनै कृतिको समालोचक जस्तै बनेर त्यसका दोषहरु खोतल्ने कार्य मात्रै गरिएको देखियो । शीर्ष तहमा त केही दलहरुको घोषणपत्रलाई लिएर शिक्षक विद्यार्थी बन्ने सम्मका अभिव्यक्तिहरु समेत सार्वजनिक भइरहेका छन् । जनताका सामु गएर विगतका कमिकमजोरीहरुको समीक्षा गर्दै अबका दिनमा यसरी अगाडि बड्ने भन्ने प्रष्ट भिजनहरुद्वारा जनताको मन जित्नुको साटो एक आपसमै दोहरी खेलिरहँदा वर्तमान राजनीति भिजन रहित बनेर केवल टिकाटिप्पणीमै सीमित बनेको छ । आम नागरिकले समय सुहाउँदो विकासको आस गरिरहेका बेला दलहरुको जुहारी मात्र सुन्नुपर्दा वर्तमान राजनिितप्रति नै वितृष्णा जागिरहेको छ ।
दल तथा नेताहरुले ल्याएका केही एजेण्डाहरु पनि विगतकै बाटोघाटो, पुलपुलेसो, खानेपानी आदिमै सीमित रहेका र वर्तमान आवश्यकता अनुसारको शिक्षा र विकासको नयाँ मोडेल कही कतै पनि देख्न सुन्न पाइएको छैन । रोजगारीको अभावमा लाखौँ युवाहरु दिनानुदिन विदेशीदै जानुपर्ने अवस्थालाई रोक्न युग अनुसारको प्रविधिमैत्री शिक्षा र स्वरोजगारका कार्यक्रमहरु घोषणपत्र मुख्य विषवस्तु बन्न सकेका छैनन् । कही कतै यस्ता विषय प्रवेश भए पनि तिनीहरुलाई कसरी प्रयोगमा ल्याउने भन्ने स्पष्ट भिजन भने कतै पनि देखिदैन ।
भुगोल अनुसार कुन ठाउँको विकासका लागि कस्ता योजना उपयुक्त हुन्छन् भन्ने कुरामा ख्याल नगरी हावाको भरमा राखिएका एजेण्डाहरु भोलिका दिनमा पुरा हुने नहुने भन्ने कुरामा पनि शंका गर्ने प्रसस्त ठाउँ रहन्छ । नेपालका कयौँ दुर्गम बस्तिहरुमा अझै पनि भोकमरीको समस्या रहेको छ । त्यस्ता ठाउँहरुमा फ्रि वाइफाइ प्रदान गर्ने जस्ता हावादारी र औचित्यहीन एजेण्डाहरु प्रस्तुत गरिनु हास्यास्पद मात्रै हो । कुन भुगोलमा कस्तो किसिमको विकास आवश्यक छ ? कुन ठाउँको आवश्यकता के हो ? कसरी स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै कसरी प्रयोग गर्न सकिन्छ ? आदि जस्ता विषयको अध्ययन गरी परिवेश सुहाउँदा एजेण्डाहरु समावेश गरिनु वर्तमान समयको आवश्यकता हो ।
.gif)