महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आजदेखि रेस्टुरेन्ट तथा बारहरुको स्तर व्यवस्थापन सम्बन्धी तिनदिने तालिम सुरु भएको छ । महेन्द्रनगर स्थित गंगोत्री गोल्डको शभाकक्षमा भीमदत्त नगरपालिका वडा नं. ४ का अध्यक्ष शुसील भट्टले उक्त तालिमको उद्घाटन गरेका छन् । होटल एसोसिएसन नेपालको आयोजनामा सुरु गरिएको उक्त तालिमको संयोजन होटल व्यवसायी संघ कञ्चनपुरले गरेको छ । पर्यटन क्षेत्र विशेषज्ञ एवम् होटल संघ नेपालका पूर्व सिइओ प्रवेश अर्याल, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट तथा नरेश ऐर प्रशिक्षकका रुपमा रहेको उक्त तालिममा कञ्चनपुरमा रहेका करिब तिन दर्जन बढी होटल व्यवसायीहरु तालिममा सहभागी भएका छन् । शुक्रबारदेखि लगातार तिन दिनसम्म सञ्चालन हुने उक्त तालिममा होटल व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड अनुरुप टेबल सजावट, सेवाको वितरण लगायत ग्राहकहरुलाई कसरी सन्तुष्ट पार्ने जस्ता विभिन्न सीपहरुको प्रशिक्षण गरिने होटल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्ट भट्टले बताउनुभयो । उहाँले भन्नुभयो –“होटल व्यवसाय पर्यटन व्यवसायको मुख्य अंग भएकाले होटलहरुको स्तरोन्नतिबिना पर्यटनको विकास सम्भव हुँदैन, त्यसैले यस क्षेत्रको पर्यटनको विकासका लागि पनि सबैभन्दा पहिले होटल व्यवसायको विकास तथा स्तरोननति गर्नु अति आवश्यक रहेको छ । त्यसका लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुप होटल तथा बारहरुको व्यवस्थापन सीप सिक्नु जरुरी रहेको छ ।” उहाँले भन्नुभयो –“सुदूरपश्चिम पर्यटकीय सम्भावनाले भरिपूर्ण प्रदेश भएकाले पर्यटकहरुलाई आकर्षित गर्न सबैभन्दा पहिले होटल व्यवसायको स्तरोन्नति हुनुपर्दछ । यस तालिममा होटल कसरी सञ्चालन गर्ने ? होटल र बारहरुलाई कसरी सजाउने ? टेबल कसरी सजाउने ? ग्राहकले चाहेको सेवालाई कसरी वितरण गर्ने ? उहाँहरुसँग कस्तो व्यवहार गर्ने ? उहाँहरुलाई चाहेका सूचना तथा जानकारी कसरी सहजै दिने ? लगायत अन्तराष्ट्रिय स्तरमा होटेलहरुमा कस्ता कस्ता सेवा कसरी प्रवाह गरिन्छन् भन्ने विषयमा जानकारी गराइने छ ।” अन्तराष्ट्रिय मापदण्ड एवम् स्तरलाई ध्यानमा राख्दै होटलहरुको व्यवस्थापन सीप सिकाउने तथा होटल व्यवसायको स्तरोन्नतिका माध्यमले पर्यटन व्यवसायलाई टेवा पुगाउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले होटल सञ्चालक तथा व्यवसायीलाई मात्र नभएर अन्य कामदार तथा विद्यार्थीहरुलाई समेत लाभ मिल्ने उहाँले बताउनुभयो ।
.gif)