अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीमा सुदूरपश्चिमका तीर्थराज पाण्डेय उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । विगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली भाषा साहित्य तथा लोकसाहित्यका क्षेत्रमा कलम चलाउँदै आउनुभएका पाण्डेय बोर्ड अफ ट्रष्टीमा पुरस्कार संयोजकका रुपमा जिम्मेवारी बहन गर्नेछन् । डिसेम्वर १२ र १३ मा भएको भर्चुअल मतदान प्रक्रियामा पाण्डेय उपाध्यक्षमा चयन भएका हुन् । कूल १२२ सदस्य रहेको बोर्ड अफ ट्रष्टीमा डिसेम्वर १२ र १३ मा भएको भर्चुअल मतदानमा साहित्यकार पदम विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
अनेसासको विधानको सातौँ संशोधन २०२१ अनुसार नौ सदस्यीय ट्रष्टीको कार्य समितिको उपाध्यक्षमा जापानका विष्णुप्रसाद घिमिरे र अमेरिकाका तीर्थ पाण्डेय निर्वाचित भएका छन् । यसैगरी महासचिवमा अमेरिकाकै प्रकाश नेपाल,सचिवमा अमेरिकाकै नारायण अधिकारी र सदस्यहरुमा अमेरिका निवासी रश्मी भट्ट र धर्मराज कोइरालासहित नेपालका ऋषिराम बराल चयन भएका छन् । बोर्ड अफ ट्रष्टीको कार्यकाल चार वर्षको हुनेछ ।
उपाध्यक्षमा निर्वाचित दुई उपाध्यक्ष मध्ये एक जनाले प्रतिष्ठानको जिम्मेवारी सम्हाल्नेछन् । घिमिरेले यो जिम्मेवारी सम्हाल्नेछन् भने अर्का उपाध्यक्ष पाण्डेयले पुरस्कार समितिको संयोजकको रुपमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । प्रतिष्ठान अन्तर्गत विभिन्न अनुवादक कृति प्रकाशन र अन्य जिम्मेवारी पर्दछन् भने पुरस्कार उपाध्यक्षले अनेसासले वितरण गर्ने विभिन्न पुरस्कारको व्यवस्थापन संयोजन गर्नेछन् । पाण्डेय यस पहिले पनि अनेसासले वितरण गर्ने विभिन्न पुरस्कार समितिको जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।
हाल अनेसासको केन्द्रीय कार्य समितिको अध्यक्ष गोवर्द्धन पूजा रहेका छन् । अनेसासले विश्वका विभिन्न ४६ देशमा आफ्ना च्याप्टरहरु स्थापना गरेको छ ।
को हुन् उपाध्यक्ष निर्वाचित पाण्डेय ?
पुरस्कार व्यवस्थापनको मूख्य जिम्मेवारी बोर्ड अफ ट्रष्टीका दुई उपाध्यक्ष मध्ये एक पाण्डेयको काँधमा आइपरेको छ । जसलाई अनेसासको एक महत्वपूर्ण जिम्मेवारी मानिन्छ । अनेसासले हरेक वर्ष विभिन्न विधाका उत्कृष्ठ कृतिहरुको छनौट गरी नगद राशीसहित पुरस्कार प्रदान गर्दै आइरहेको छ । अबको चार वर्ष पुरस्कार सम्बन्धी सबै व्यवस्थापकीय संयोजन बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थ पाण्डेयले गर्नेछन् । पाण्डेय बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सिफारिश समिति गठनदेखि छनौटसम्म र पुरस्कारको व्यवस्था गर्नेसम्मका काम उनकै हुनेछ। पाण्डेयले यस पहिले पनि पुरस्कार समितिको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका छन् । सबैसंग मिलनसार पाण्डे अमेरिकाको मेरिल्याण्डमा बसोवास गर्छन्। उनी अनेसासको मेरिल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष र हाल सल्लाहकार छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा अनवरत क्रियाशील पाण्डेय प्रमूख रुपमा नेपालको सुदूर पश्चिम क्षेत्रको भाषा,साहित्य र कलाको क्षेत्रमा समालोचनात्मक ढंगले कलम चलाउँछन् । पाण्डेयका दुई खण्ड काव्य र एक उपन्यास प्रकाशित छन् ।
विगत डेढ दशकदेखि अनेसासको ट्रष्टी रहेका पाण्डेय प्रवासी भूमिमा नेपाली भाषा,साहित्यको संरक्षण र सम्वर्द्धनमा क्रियाशील छन् । ‘म मेरो क्षमताले भ्याएसम्म अनेसासमार्फत्न नेपाली भाषा र साहित्यको सेवामा लागिरहनेछु र अनेसासको गरीमा उँचो बनाउन पनि क्रियाशील हुनेछु’ उपाध्यक्षमा निर्वाचित भएका पाण्डेयले भने ।
.gif)