मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बोई लाई नियालेर हेर्दा 


शनिबार, पुस २३ २०७९
  • 1.3K
    Shares

  • images
    images
    बोई लाई नियालेर हेर्दा 

     

    प्रिय सर्जक वसन्त ओली वसन्ती लाई जसरी मैले उहाँको गजल लेखनको सुरुवाती समयदेखि नै एउटा भव्य अनि सरल व्यक्तित्वका रुपमा चिन्दछु । उहाँका गजलका शेरहरूमा पनि उहाँलाई उत्तिकै सभ्य,सरल,तरल अनि गहनताका रुपमा पोख्त भेटाएको छु। उहाँको गजल शेरमा फरक अन्दाज अनि मीठो गलाले सभ्य रुपमा स्टेज तताउने र माहोल बनाउने गर्दछ। गजलकारको मीठो अनि उत्साहपूर्ण गायनले गजलका श्रोताहरूलाई उत्साहित ,रोमाञ्चित ,अनि रसानुभूति गराउँदछ। 

    केही शेरहरू– 
    – व्यर्थमा आफ्नै प्रचारको पर्चा छातीमा टाँस्न थालेछौ
      छोडिदेऊ तिम्रो प्रेमको रङ चिन्नेले आफैँ लिने गर्छ

    – राम्ररी तैयार पार्नुहोस् क्षमता बिक्रीमा राख्नको लागि
     बिक्नुभन्दा एकछिन अघि कपडा पनि प्रायः नापिने गर्छ(ग.२)

    – केही उचाइमा पुग्यौँ भन्दैमा तिमी चुरफुर नगर्नू
      आकाशको विमान पनि आखिरमा जमिनमा बस्नुपर्छ(ग.४)

    – पछाडि हट्न खोज्दैछौ कहाँ यसरी सार थाहा हुन्छ
      बुझौँ जमिन खने मात्रै तरुलको आकार थाहा हुन्छ(ग.६)

    – ठूलाले मात्रै सानालाई पीडा दिन्छन् झुट हो 
      सिलौटालाई लोहोराले हिर्काएको हुन्छ(ग.१०)

    – सँगै हुन्न भन्छ्यौ र नाता रहोस् पनि भन्छ्यौ
      नमन गर्नलाई दुवै हात जोडिनुपर्छ(ग.११)

    – बुझेनौ सहारा फाल्तुले पनि दिने गर्छ
      कुनै चिज थुकेको थुकले पनि टाँसिने गर्छ(ग.१४)

    – स–सानो सफलता मात्र पाएँ भनी रुन्छौ
      ढोका खोल्नुभन्दा अघि चुकुल खोलिने गर्छ।

    – आफूभित्र म ठूलो हूँ भन्ने घमण्ड जसले जतिखेर राख्दछ 
     उसले सम्झिन सकोस् इँजारले सुरुवाललाई बाँधेर राख्दछ।(ग.१५)

    – आफू सक्षम भए कसैले मिल्काए पनि निराश नभैदिनू
     पैसालाई गोजीबाट खसाले नि कसैले टिपेर राख्दछ

    – तिमीलाई आफ्नैले चोट जब दिन्छ के को याद आउँछ
     मलाई गुच्चाले हानेर गुच्चा फुटेको याद आउँछ(ग.–१६)

    – रुख हरियो जन्मिएपश्चात् कसैले भन्दै’थ्यो
      शङ्काको दृष्टिले हेर्दा ’वसन्त’ जस्तै छ(ग.१७)

    – म फूलजस्तै बन्न कहाँ सक्छु कसैले छोड्दा
      जवान रुख पनि पात झरेपश्चात् कुरुप देखिन्छ(ग.१९)
    – यदि आँटेको पूरा हुने भए प्रयासबाट 
      म त बा–आमा निर्माण गर्दथेँ विकासबाट(ग.२१)

    – छोराले सोध्यो–“बा त्यसपछि के भएर पढ्नु भएन?“
      जवाफमा भनेँ–“छोरा गरिबी भन्ने बिषय लागेर हो“(ग–२७)

    – पीडाको निर्यात गर्दै हर्षको आयात गर्ने मन छ
     झुपडीलाई यी दुइटा कामको सुरुवात गर्ने मन छ(ग.३२)

    – खडेरीमा भेट्दैनन् वर्षा हुदा खुब भेट्छन्
      किनारा प्रेमी रै’छन् खोला नदीका लागि(ग.३३)

    – ’घडी जिउँदै छ’ को मूल सूचना टिकटिक हो
      निदाएको भए कारण केही आर्थिक हो(ग.३४)

    – यौटा जवान ढल्दा सब सक्किए नसोच्नू 
      यो वीरको मुलुक हो अर्को तयार हुन्छ(४६)

    – वर्षौँ पछाडि आयौ किरिया बसेको बेला
      तनले नछोए के भो आँखाले प्यार हुन्छ 

    – छाला निकाल मेरो आमाको सल बनाऊ
      टुक्रा बचे नफाल्नू बा’को इँजार हुन्छ

    – कसैले सत्यलाई झुट लेखोस् या लेखोस् जे पनि
      उज्यालो हुन्छ नै भाले बासे पनस नबासे पनि

    – म पत्थरझैँ थिएँ आखिरमा ईश्वर बनाई दिए
      तिमी भन्छौ केही गर्दैनन् आमा र बा’ले पनि (ग.९८)

     “बोई“ गजल सङ्ग्रह भित्र समावेश गरिएका १०१ गजलहरूमध्ये प्रायः गजलका शेरहरूमा काव्यिक चेत मीठो तरिकाले प्रयोग भएको छ।

    स्वछन्दतावाद भित्र रहेर लयबद्ध तथा बहरबद्ध गरि लेखिएको ’बोई’ सङ्ग्रहमा प्रयोगवाद, परिष्कारवाद, स्वछन्दतावाद, छन्दशास्त्र, रस,लगायतका कुराहरू समेटिएको छ। नेपाली गजल अहिले दुई फरक धारबाट अगाडि बढिरहेको बेला आफूलाई यसरी उभ्याउने प्रयास नै ठूलो सफलता हो। यसरी ’बोई’ उत्कृष्ट त बनेको छ नै त्यसका साथसाथै चुनौतीपूर्ण कार्य हो र थप चुनौतीपूर्ण बनेको पनि छ। 

    यति लेख्दै गर्दा सङ्ग्रहभित्र त्रुटि छदै छैन् भन्न चै खोजिएको होइन, त्रुटि छन्। कतिपय शेरहरू शेर बन्न सकेका छैनन् केवल पूर्ण गजल बनाउनका लागि मात्रै लेखिएको हो कि जस्तो देखिन्छ भने लेखकमा भाषाज्ञान हुदाहुदै पनि आफू अनुकूल तथा बहर अनुकूल बनाउन खोज्दा त्यो कमजोरी देखिएको छ। जसले गर्दा आउँदो पुस्तामा गलत धारणा बस्न सक्छ भन्ने समस्याको देखिएको छ। 

    नयाँ बिम्बको प्रयोग गर्ने अभ्यास नै हो बहुत चित्त बुझेको पक्ष। तर भाषिक चेत हुदाहुदै पनि भाषिक पक्षलाई बेवास्ता गरेको भेट्दा मन खिन्न पनि भयो। उहाँमा यति पनि चेत छ कि भाषाकै प्रयुक्तिले लय, मात्रा सृजना गर्छ र सँगसँगै अन्तर्लयको समेत राम्रोसँग बोध  गराएर रसानुभूति गराउँछ भन्ने कुरा। तर किन यति चेत हुदाहुदै पनि चुक्न पुगे?कसरी? भन्ने अनेकन प्रश्नहरूले मलाई बारम्बार घोचिरहेको छ। यो मेरो जिज्ञासाको उचित जवाफ पाउनेमा पनि म ढुक्क छु ।
    गल्ति कमजोरीलाई नयाँ सिकाईको पाठका रुपमा लिदै अझै अब्बलताका साथ नयाँ कुराको स्वाद छिट्टै लिन पाउनेछौँ भन्ने आशाका साथ सफलताको कामना।




    प्रतिक्रिया दिनुहोस