मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली गङ्गाको उत्पत्ति र तटीय तीर्थस्थलहरुको महत्व


आइतबार, माघ १ २०७९
  • 936
    Shares

  • images
    images
    महाकाली गङ्गाको उत्पत्ति र तटीय तीर्थस्थलहरुको महत्व

    ससर्ज मनसा ब्रह्मा मानसाख्य सरोवरम् ।

    ऋषीणामाश्रमै पुण्यै सेवितं सुमनोदरम् ।। (मानसखण्ड संहिता)

            जगत्पिता ब्रह्मा, जगल्पालक विष्णु एवम् जगत् नियन्ता महेशको पावन स्थल सुमेरु कैलास पर्वतको पटकनमा पितामह ब्रह्माले ऋषिहरुको अनुरोधमा एउटा सरोवरको निर्माण गरी मन्दाकिनी गङ्गाका जलले त्यसलाई भर्नुभयो । उनको मानसिक सङ्कल्पबाट निर्मित उक्त जलाशयलाई ‘मानससर’ भनिन्छ । त्यसै सरोवरको तटमा मानवको प्रथम सृष्टि भएको हो । यही मानससरोवर उत्तर भारतवर्षका सम्पूर्ण ठूला, साना नदीहरुको मूलस्रोत हो भने यसको पूर्वतिर ब्रह्मपुत्रनद, पश्चिमतिर सिन्धुनदी, उत्तरतिर शतलज नदी तथा दक्षिणतिर मानसीगङ्गा प्रवाहित भएका छन् । दक्षिणतिर प्रवाहित मानसीगङ्गाका दुईवटा धारा छन् । जसमा पूर्वीधारालाई कर्णाली महानदी एवम् पश्चिमी धारालाई श्यामा गङ्गा अर्थात् महाकाली नदी भनिन्छ ।

    मानसी गङ्गाको पूर्वी धारा कर्णाली महानदी

            कणाली महानदीको बारेमा मानसखण्ड संहिता स्कन्दपुराणमा यसरी उल्लेख गरेको पाइन्छ–

            गौरीपर्वत संलग्नात् स तत्रैवालिषर्वतात् ।।

            तथेत्युक्त्वा स भगवान् मानसोत्थां महानदीम्

            तस्मै प्रदर्शयामास दिननाथो जगत्पतिः ।।

    कर्णन प्रार्थितां दिव्यामलिपर्वत सम्भवाम् ।

    ततः सिद्धगणाः प्राहुः कर्णाली सरिद्वराम् ।

    अर्थात् गौरीपर्वतसँग जोडिएको अलिपर्वतमा सूर्यले मानसरोवर मूल भएको महानदीलाई साधरारत आफ्ना पुत्र कर्णलाई देखाउनु भयो । दानवीर कर्णको प्रार्थनाले अलिपर्वतबाट प्रवाहित श्रेष्ठ नदीलाई सिद्ध गणहरु ‘कर्णाली’ भन्दछन् । जो मानसखण्डको पूर्वी सीमानाका रुपमा रहेको छ भन महाकाली (शारदा) नदीमा मिलेर घाघरा नदी एवम् सरयू गङ्गाका नामले सुप्रसिद्ध भई भागरथी गङ्गामा मिसिएर बङ्गालको खाडीमा समुद्रमा सङ्गमित हुन्छ ।

    मानसी गङ्गाको पश्चिमी धारा श्यामागङ्गा अर्थात् महाकाली नदी

            महाकाली (शारदा) नदीका रुपमा प्रसिद्ध श्यामागङ्गाको माहात्म्य मानसखण्ड संहिता स्कन्दपुराणमा यसरी उल्लिखित छ –

    भगीरथेन या पुण्या प्रार्थिता वै सरिद्वरा । मन्दाकिनी महापुण्या पतिता मुनिसत्तमः ।

    धनदस्य महायज्ञे समाहूता हि सा मया । आविर्वभूव तत्रैव सुपुण्ये लिपि पर्वते ।

    मानसोत्था पुण्यतीर्था श्यामला लिपिपर्वत । वभूव मुनिशार्दूला सर्वपापप्राणाशिनी ।

    सरयूसङ्गमे पुण्या पावयित्वा ममाश्रमभ्

            अर्थात राजा भगीरथले वैकुण्ठलोकमा रहेकी गङ्गालाई प्रशन्न गरी प्राप्त गरेकी मन्दाकिनी गङ्गा शिवको जटा अर्थात् कैलासबाट प्रवाहित भएर ब्रह्माजीको मानसिक सङ्कल्पले निर्मित मानसरोवर भरिएको थियो । त्यही मानसरोवरबाट गुप्त रुपमा प्रवाहित हुने मानसी गङ्गाको पश्चिमी धारा धनाध्यक्ष कुबेरद्वारा उत्तरकौशल प्रान्तको अलकापुरीमा गरिएको वाजपेय यज्ञमा उपस्थित अभ्यागत ऋणिमुनिहरुको स्नान, सन्ध्या गर्नका लागि महर्षि वेदव्यासले लिपिपर्वत पश्चिमतिरबाट प्रकट गर्नु भएको थियो । महाकाल शिवको शिरबाट बगेको हुनाले महाकालको क्रोधले मन्दाकिनी शारदा गङ्गा नै श्यामा अर्थात् काली भई महाकाली नाम पर्न गएको हो । यिनै काली गङ्गा अगाडि गएर व्यासी, धौली, गौरी, चौलानी, ईश्वरी गङ्गा, सर्जु, सुरनया, रामगङ्गा (रङ्गुन) आदि साना ठूला नदीहरुलाई आफूमा मिलाउँदै भारत उत्तरप्रदेशको सीतामडी जिल्लाको ब्रह्मघाटमा कर्णाली नदीमा सङ्गमित भई घाघरा नदीका नामले चिनिदै पापनाशिनी सरयूका नामले प्रसिद्ध भई पटना विहारमा भागरथी गङ्गामा मिलेर बङ्गालको खाडीमा समुद्रमा समाहित भई गङ्गा सागरको नाम पर्न गएको छ । मानससरोवरबाट प्रवाहित यस्ता पावन यी दुई महाकाली गङ्गा र कर्णाली महानदीको जलाधार क्षेत्रबीचको भू–भागलाई नै मानसखण्ड भनिन्छ । यस अन्तर्गत नै वर्तमानको सुदूरपश्चिम प्रदेश पर्दछ । ‘चत्वारिंशत् सहस्त्राणि सन्ति तीर्थाणि मानसे । अर्थात् जुन मानसखण्डमा चालीस हजार तीर्थस्थलहरु रहेका
    छन् । ती मध्ये महाकाली गङ्गा तटमा केही तीर्थस्थलहरुको सङ्क्षिप्त चर्चामा यसमा गर्ने प्रयास गर्दैछु ।

     

     

    १. महाकाली गङ्गा तटका तीर्थस्थल तथा सङ्गमहरु

            पवित्र महाकाली गङ्गाको तटीय क्षेत्रमा अनेकानेक तीर्थस्थल ऋषिमुनिका आश्रम, त्रिवणी सङ्गम तथा स्नानघाट एवम् मानसघाटहरु रहेका छन् – चतुर्टष्ट्र तीर्थ (चौदास), व्यासतीर्थ (व्यास क्षेत्र) हंसेश्वर तीर्थ (दार्चुला) कालीगोरी सङ्गम (जौलजिवी) महाकाली–चौलानी सङ्गम (सेरा बैतडी, ईश्वरी गङ्गा–महाकाली सङ्गम (बैतडी), कटङडी ताल (झुलाघाट), लाटाको थान (बल्तडी) पेउल्या पीताम्बर घाट, नीलगढ–महाकाली सङ्गम, सरयू–काली सङ्गम (पञ्चेश्वर), धरमघाट सुननया–महाकाली सङ्गम, ठूलीगाड–महाकाली सङ्गम (पूर्णागिरी), रामगङ्गा (रङून), महाकाली सङ्गम (परशुराम क्षेत्र), ब्रह्मघाट (ब्रह्मदेव), रामघाट (वनवासा–गड्डाचौकी), एकनम्बर घाट, मुक्तिघाट (आर्यघाट), सप्तऋषि घाट (भुजेला), हरिहर घाट (ओदालीऐरी) महाकाली पुल, रामानुज–मानसघाट (झोलुङ्गे पुल), गोघाट (दोधारा), कञ्चनघाट (कञ्जभोज), ब्रह्मघाट (महाकाली–कर्णाली सङ्गम) आदि रहेका छन् 

    २. महाकाली गङ्गातटमा गरिने धार्मिक क्रियाकलाप

            गङ्गातटको ठूलो महत्व हुन्छ । त्यसमा पनि नदी सङ्गम तटीय मन्दिर एवम् घाटहरुमा गरिने धार्मिक क्रियाकलाप तथा दानको महत्व सामान्य ठाउँको भन्दा दशौं गुना बढी हुन्छ । मानसवंशीहरु प्राचीनकालदेखि नै महाकाली गङ्गाका अनेक घाट तथा सङ्गमस्थलहरुमा स्नान, दान, पूजा, पाठ, चूडाकरण, मुण्डन, ब्रतबन्ध, अन्त्येष्टिकर्म, दाहसंस्कार, अस्तुक्षेपन, गयाँप्रयाग, पिण्डदान, श्राद्ध, त्रिपिण्डी श्राद्ध, नागबलि, कालसर्प शान्ति, नारायणबलि आदि देव तथा पैतृक क्रियाकलाप गर्नुका साथै मृतक व्यक्तिको भूसमाधी र जलसमाधी पनि महाकाली तटीय धाराहरुमा हुने गरिन्छ ।

    ३. महाकाली गङ्गातटमा लाग्ने मेला तथा स्नान

            महाकाली गङ्गातटमा अनेक तिथि र मितिमा मेला तथा स्नान गर्ने गरिन्छ । जसमा बैशाख एक गते विषु पर्व स्नान, बैशाख शुक्लदशमी गङ्गादशहरा स्नान, श्रावण महिनामा मानसब्रत र बोलबम यात्रा, जनै पूर्णिमामा ऋषितर्पणी, भाद्र शुक्ल पञ्चमीका दिन ऋषि पञ्चमी स्नान, नरहरि संक्रान्तिका दिन मकर स्नान र माघ महिनाभरि माघ स्नान, शिवरात्री आदि पर्वहरुमा ठूलो मेला लाग्नुका महास्नान तथा तटमै पूजा पाठ गर्ने गरिन्छ ।

     

     

    ४. महाकाली गङ्गाजलको महत्व र भराण–देउरा स्नान

            महाकाली गङ्गाको उत्पत्ति मानससरोवरबाट भएको हुनाले यसमा स्नान गर्नुको अर्थ मानससरोवरमा स्नान गर्नु नै हो । महाकाली नदीलाई मानसी गङ्गा भनिन्छ । यसको जल भनेको मानससरोवरको नै हो । त्यसैले यस मानसखण्डीय क्षेत्रका देवी देवताका भराण अथवा देउराहरुको स्नान गराउन आ–आफ्नो क्षेत्रका महाकाली गङ्गा तटीय घाटहरुमा आउने जाने गरेको पाइन्छ । जसमा हंसेश्वर तथा काली–गोरी सङ्गम, जोलजिवीमा दार्चुला र धारचुला तटीय क्षेत्रका देवी देवताका भराण–देउराको स्नान
    गराइन्छ । बैतडी त्रिपुरासुन्दरी रणसैनी भगवतीको गातस्नानका लागि पर्वहरुमा नित्य झुलाघाट महाकालीघाटबाट जल ल्याई चप्पल जुत्ता नलगाई पैदल हिँडेर ‘जल बोक्ने’ प्रचलन आज पनि रही आएको छ । त्यस्तै पञ्चेश्वर क्षेत्रमा तल्लीसोराड तथा चम्पावत पिथौरागढका देवी देवताहरुका भराण एवं पण्डा–पुजारी, धामी, कारिवारीहरु स्नानका लागि पुग्दछन् । भित्री मधेशको परशुराम क्षेत्रमा डडेल्धुरा डोटी मण्डलका देवी देवताहरुको देउरा तथा भराण, पण्डा–पुजारी अन्य कारिवारीहरु स्नानका लागि पुग्ने प्रचलन आज पनि छ । कञ्चनपुरको ब्रह्मदेव तथा कञ्चनपुरघाट कञ्जभोजमा प्राचीनकालमा पूर्णागिरी, सिद्धनाथ बैजनाथको भराण तथा पण्डा–पुजारी, धामी, भण्डारेहरु लगायतले स्नान शुद्धी गर्न आउने जाने गर्दथे ।

            यही परम्परालाई कायम राख्न हाल महाकाली तटीय क्षेत्रमा अनेक घाटका पुनर्नामकरण र स्थापना हुन जरुरी देखिन्छ ।

    ५. महाकाली गङ्गातटमा गरिने दानपुण्यहरु

            गङ्गाको किनारामा गरिने दानका धेरै महत्व रहेको छ । ती दानको ठूलो महत्व
    छ । कुनै एक वस्तु दान एक वस्तुको दानदेखि लिएर तीनसय पैसठ्ठी वस्तुको दानको महिमा छ । चौरासी दान, चौसठदान, दशदान, अष्टदान आदिको आफ्नै महत्व छ । धार्मिक दृष्टिले गरिने केही दान यसप्रकार छन् –

            निल–गुडको दान, खिचडी, खीर, कन्दमूल, कम्मल, पिण्डदान लगायत, काकवलि (कन्वारोटो दिने), माघ महिनाभरि माघस्नान, कार्तिकस्नान, श्रावणमा रुद्राभिषेक, बोलबम यात्रा, गङ्गादशहरामा पुतली सेलाउने आदि पुण्य कार्यहरु गरिन्छन् । यस्तो नदीलाई मन्दाकिनी, सत्यवाहिनी, श्यामा, काली, महाकाली, शारदा, कौशिकी, सरयू, मानसी, वैयासिकी, जटागङ्गा, सरोजा आदि अनेक नाम रहेका छन् ।




    प्रतिक्रिया दिनुहोस