खेली खेल अनेक शव्दहरुको, रोपेर दुःशासन
के के नै बिरुवा बढेर रसिलो पाक्ला कि खै रासन
जाली,शोषक खोजि हेर सब लौ, कुन ठाउँमा छैन र
आफ्नै बीच दलाल,शासकहरू, खेल् खेल्दछन हैन र
सामन्ती म त देख्दछू बुझ सखे, प्रत्येक नै भेषमा
स्वाङी भैकन बुर्जुवा जलपका, देख्दैछु यो देशमा
हत्यारा कति छन त हिंसक बनी, जातीय संस्कारले
कोही छन धनले त स्वार्थबसले, कोही अहंकारले
झूटा बात गरेर ठग्न नसकी, हल्ला गरी दिन दिन
आफ्नै दोष छ, देखिदैछ सहजै, देखिन्न आफै किन
डाकू, तस्कर, चोर, जालि, फटाहा, तिम्रै भए चाकर
जस्तो नाच नचाउछौ खुसि भई, नाच्छन सजी खाँकर
साँच्चै देश सजाउने मन भए, जोगी भई आउन
निर्धाका घरमा पसेर बलियो, नीति कुनै ल्याउन
पहिले नीति बनाउ सु न्दर सखे, सिद्धान्त होस् शाश्वत
यस्तो धर्म हवस् जहाँ जनमहाँ, आस्था जमोस् है स्वतः
कानूनै बलियो भएन कसरी, होेस् राज्य संचालन
आस्था पूर्ण जगाउ हुन्छ अनि पो, कानूनको पालन
आफ्नो देश बनाउनू सब मिलि, पहिले कुरा जान्नुछ
त्यागी, जोगि भएर बस्नुछ बुझी, सिद्धान्त यो मान्नुछ
जो त्यागी हुन सक्छ राज उसले, मात्रै गरोस् ठान्दछु
भोगी दूर हउन गरून् अरुकुनै, सत्कर्म नै मान्दछु
सच्चा शान्ति हुने सबै सुख हुने,सत्मार्ग पैल्याउन
राम्रो देश बनाउने छ कि कुनै, सक्छौ भने आउन
.gif)