महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।
प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना धान जोन कञ्चनपुरका अनुसार जिल्लामा ५० हेक्टरमा चैते धान लगाउने लक्ष्य रहेपनि चैते धान लगाउने किसानको संख्या न्युन छ । प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृर्षि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धान भन्दा चैते धान बढी फल्ने भएपनि किसानहरु यसतर्फ आकर्षित नभएको बताउनुभयो ।
कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहेपनि पछिल्ला वर्षहरुका दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको छ । “कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिएपनि त्यति खेती पुगाउन सकस छ ।” उहाँले भन्नुभयो–“छाडाचौपाया र सिचाँइ अभावका कारण पनि खेती कम हुदै गएको छ ।”
चैते धानलाई सिचाँइ बढी चाहिने भएकाले सिचाई असुविधाका कारण किसानहरु यसतर्फ आकर्षित नभएको उहाँले बताउनुभयो । “चैते धान लगाउदा धेरै फाईदा हुन्छ ,तीन वटा बालि लगाउन मिल्छ अन्य बाली भन्दा बढी फल्छ ।” उहाँले भन्नुभयो–“चैते धानलाई सिचाइ बढी चाहिन्छ उत्पादकत्व पनि बढी छ ।” दुई वर्षयता बर्खे धानबाली भित्राउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानहरु अहिले चैते धान खेती गर्न आकर्षित हुदैछन । “अहिले बेर्ना राख्ने समय भएको छ किसानहरु बिउको लागि आउनेक्रम जारी छ ।” उहाँले भन्नुभयो–“बेमौषमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउने किसान आउन थालेका छन ।”
कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागू अनुसार ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध हुने भएपनि चैते धान खेती तर्फ भने किसानहरुको आकर्षण वढ्न सकेको छैन । बढी पानी जम्ने खल्ला, नहर क्षेत्र, तथा डुवान हुने क्षेत्रमा चैते धान उत्पादन पनि बढी हुने र बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ । किसानहरु भने सिंचाई असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन । बेदकोट नगरपालिका–७ का खुसी रानाले चैते धान लगाउने समयमा गहु खेती हुने भएकाले चैते धान लगाउने किसान न्युन रहेको बताउनुभयो । “हामीले गहुँखेती पनि गर्नेपर्छ बिउ राख्नका लागि पनि तरकारी खेती गरेकाले ठाउँ अभाव हुन्छ ।” उहाँले भन्नुभयो–“उत्पादन बढी हुने भएपनि सिचाइ बढी चाहिन्छ हाम्रो यहाँ सिचाइ सुविधा छैन ।”
सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरेपनि यसको फाईदा बारे जानकारी नहुँदा यसप्रति किसानहरुको आकर्षण नभएको हिरुलाल डगौराले बताउनुभयो । “चैते धानको फाईदा बारे किसानहरुलाई जानकारी छैन ।” उहाँले भन्नुभयो–“राम्रो उत्पादन भएन भने किसान मार्कामा पर्छन यसको बीमाको सुविधा पनि सरकारले गर्दा राम्रो हुन्छ ।”
उहाँले पर्याप्त सिचाइ अभाव,समयमा मलखाद र बिउविजन पाउन मुस्किल पर्ने भएकाले पनि किसानहरु आकर्षित नभएको बताउनुभयो ।