महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का माया जोशीले गड्यौला मलबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
व्यवसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि उहाँले मनग्गे आम्दानी गर्न थाल्नुभएको हो । दुई वर्षअघि रु पाँच लाख लगानीमा गड्यौला मल उत्पादन र बाख्रा पालन सुरु गरेका उहाँले अहिले मल बिक्रिबाटै आत्मनिभएर बन्नु भएको छ । “रु पाँच लाख रुपया बैंकबाट ऋण लिएर बाख्राको खेर र गड्यौला मल उत्पादन सुरु गरेका हौ ।” उहाँले भन्नुभयो–“अहिले मलको माग पुगाउनै सकस छ ।” कृर्षिमा कर्ममा लाग्दा कृर्षि प्राविधिक हेमन्त अवस्थीको सहयोग मिलेपछि झन उत्साह थपिएको उहाँ बताउनुहुन्छ । “घरमै कृर्षि प्राविधिक भएपछि उहाँले नै कृर्षिमा लाग्न प्रोत्साहन गर्नु भएको हो ।” उहाँले भन्नुभयो–“ पछिल्लो सयम त यो मलको माग धेरै आउँछ ।” उहाँले एक वर्ष अघि उहाँले तीन महिने कृर्षि सहायक तालिम समेत लिएको बताउनुभयो ।
अहिले मल उत्पादनसंगै बाख्रापालन र तरकारी खेती समेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गँड्यौला मलको प्रयोग गर्दा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । “गँड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उहााले भन्नुभयो–“यहाँ यसबारे ज्ञान नभएर रसायनिक मल प्रयोग गर्छन ।” पछिल्लो समय केहि किसानले धान, गहुँ, उखु र तरकारी खेतीमा गँड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको छ । “अहिले मलको माग धेरै छ हाम्रो यसबाट गड्यौला लगएर धेरैले मल उत्पादन थाल्नु भएको छ ।” उहाँले भन्नुभयो–“ तरकारी र फुलमा प्रयोग गर्नका लागि यो मल लग्ने गरेका छन ।” उहाँले मल र बाख्राबाट वार्षिक ४÷५ लाख आम्दानी हुने गरेको बताउनुभयो ।
गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्दै आएको बताउँदै उहाँले माटोको उर्वराशक्ति बढाउन तथा कम लागतमा उत्पादनमा वृद्धि ल्याउनका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका निम्ति गँड्यौला मलको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले गँड्यौला मल प्रति किलोग्राम रु ३५ का दरले बिक्रि हुने गरेको बताउनुभयो ।