मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :
पोइट आइडल

द पोइट आइडलमा चम्किरहेका कञ्चनपुरका न्याथन रायन


शुक्रबार, फागुन २६ २०७९
  • 2.6K
    Shares

  • images
    images
    द पोइट आइडलमा चम्किरहेका कञ्चनपुरका न्याथन रायन

    ‘साइबेरियाका चराहरु नेपाल आउँछन, तर नेपालका चराहरु (युवाहरु) खाडीतिर उडिरहेका छन्।’ फेशबुकको रील र टीकटकमा भाइल यो लाइन संसारभरिका करोडौँ नेपाली भाषिले सुने होलान्। नाटकघरमा जस्तो अभिनय अनि मेहफिलमा जस्तो कविताको अनुभव एकैपटक दिन्छन कवि न्याथन रायनले। दी पोइट आइडलमा टप ८ मा पुगिसकेका न्याथनको प्रस्तुति र शब्दहरुले कार्यक्रमका जज र अतिथीमात्र होइन आम दर्शक पनि मोहित छन्।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झरारी स्थायी घर भएका नरेश भण्डारी पढाइमा औसत तर क्रिकेटमा अब्बल थिए। उनले विस्तारै पढाइ त सुधारे तर विविध कारणले क्रिकेट छुट्दै गयो। भण्डारीले थाहा पाए केही पाउन केही गुमाउनै पर्दो रहेछ। अनि उनले तय गर्न थाले ‘मैले जीवनमा के पाउने, के गुमाउने।’ उनले महेन्द्रनगरको प्रतिष्ठित कलेजबाट बिबिए गरे। स्नातक पढ्दापढ्दै राजनीति बुझे। देश बुझे। समाज बुझे। उनले तत्कालिन विवेकशील नेपाली दलमा सक्रिय भएर योगदान पनि गरे।

    उनका साथीहरुले बैंकमा जागिर खाए तर उनी स्वत्वको खोजितिर लागे। काठमाण्डौँ आए। परिचय खोजे। संघर्ष गरे। आफ्नो अन्योलता, भविष्य र देशकाबारे आफ्ना भावनाहरु शब्दमा लेख्न थाले। जब लेख्न थाले उनले आफ्नो लेखाइमा आफ्नो परिचय देख्न थाले। थिएटर जोइन गरे। कविताको भिडियो बनाएर अपलोड गर्न थाले। कतिले उनको कविताको शैली र शब्दमा खोट देखाए, कतिले उनको स्वरमा दम देखेनन्। तर उनी लागिरहे। निरन्तर। एक दिन होइन्। दुई दिन होइन्। बर्षौँ सम्म। नाटक सिके। कविता लेखे र उनले नयाँ परिचय बनाए, ‘न्याथन रायन’।

    लामो र बाक्लो दाह्री। लठ्ठा परेको लामो कपाल। ओजीलो आवाज र अलग्गै पहिरनले मात्र हैन न्याथनका शब्द र शैलीले उनले प्रशंसा पाइरहेका छन्। पोइट आइडलको पछिल्लो शृङ्खलामा उनले आफ्नै जीवनको अनुभव मिसाएर कविता सुनाए- सपना, सहर र संघर्षको कविता। उनले आफैलाई खोज्दै हिँडेको काठमाडौं सहरमा उनलाई भोकै बसेको अनुभव छ। लकडाउनका चाउचाउको झोल र चिउरासँग रात बिताएको अनुभव छ। अधिकांश बेला डोट्याली भाषामा बोल्ने उनलाई काठमाडौँले कर्णाली पारिको नेपाललाई हेर्ने यहाँको दोषि नजरको हिसाब छ।

    अहिले त उनी युवाहरुमाझ लोक्रिय भैसकेका छन्। पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमीका पाएपछि उनी ठूलो पर्दाको समेत अनुभव छ। उनीसँग अब पीडा र दुःखमात्र हैन अनुभव र आशा पनि छ। न्याथनसँग सबैभन्दा धेरै झलारीको असैना गाँउमा घाँस काटेर गाइ पालिरहेका इजा-बाबाको दुःख र आफ्नो पढाइ र सुखका लागि आमाबाले गरेको संघर्षको पोको छ। यही पोकोलाई आफ्ना शब्दहरुमार्फत फुकाएर परदेशीएका कयौँ नेपाली आमाबुबा र आफूजस्तै कोह्यी देशमै अन्यौलमा त कोही परदेशमा पीडामा रहेका युवाहरुलाई जगाउने र रुवाउने गर्छन न्याथन।

    पीडा, प्रेम र आशाका कविता कथ्ने न्याथन रायनले सुदूरपश्चिमको मात्र हैन समग्र मुलुका प्रशंसकहरुबाट प्राप्त मायाबाट प्रेरित हुँदै टप ६ मा पुग्ने र यस रियालिटी सोको उपाधि जित्ने सोच बनाएका छन्। यस प्रतियोगिताबाट फराकिलो बनेको पहिचानलाई कलाकारिता र कवितामै स्थापित गराउने उनको योजना छ।




    प्रतिक्रिया दिनुहोस