गोपीवन तथा ग्वाल्लेक केदारको घनघोर जङ्गलको भित्रि गर्भमा राज्यको नजरबाट अदृष्य रुपमा रहेको सौकाको पानी धार्मिक तथा पर्यटकिय क्षेत्र, जुन आफैमा प्राकृतिक शृङ्गारले सुसज्जित छ। यसको शिरमा बुडहल्द्याको ठुलो पातल,पाउमा पञ्चेश्वर ०५ जेबलकट्टेको सुन्दर बस्ती छ भने दायाँबायाँ तोलीगडा़ र नसौटकट्या साथै चड़खुट्या नामको घनघोर पातलहरुले घेरिएको एक रमणीय ठाउँ रहेको छ।
हुन त यो भूमि बार्हैमास हरियो शृङ्गारले सजिएकै हुन्छ तर हिउँदे यामको हिउँको घुम्टो उघार्दै वसन्त ऋतुले नौलो जवानी ल्याउँदा कुनै दुलहीले सिउँदो रङ्गाएझैँ लालिगुराँसका फूलहरुले यो भूमिका वृक्षहरुलाई सुसज्जित बनाइदिन्छ। स्वच्छ वायुले ओखर, बाँज,खर्सु र तितमल्याँका पातहरुलाई स्पर्श गर्दा समस्त रुखका हाङ्गाहरु अप्सरा जस्तै नाचेको देखिने र हावाको वेगले जुन यौटा अलौकिक आनन्द आउँछ सायद यस्तो पवित्र देवभूमि ब्रह्माण्डमा बिरलै भेटिएला।
चैत,बैसाखको चढ्दो जवानीमा वनभरि डुलिरहने पुतली र मृगका पाठाहरु साथै कोइलीको कण्ठबाट वेद स्तोत्र गरेझैँ गुञ्जयमान ध्वनिले सम्पूर्ण ग्वाल्लेक क्षेत्र नै मन्त्रमुग्ध बनाउँदछ। घनघोर पातलको बिचबाट बग्ने सौकाको पानी यस क्षेत्रको वर्तमान मात्र नभइ सदियौँदेखिको इतिहासको समेत साँची रहेको छ।
किम्वदन्ती अनुसार बैतडी जिल्ला स्वतन्त्र हुनुभन्दा पनि कयौँबर्ष पहिले यस क्षेत्रका आसपासका जिल्लाहरुमा समेत बिकाशका पुर्वाधार तथा दैनिक उपभोगका लागी उचित बजार नहुँदा मध्य-पश्चिम नेपालका सौका जातिहरु यसै जङ्गलको बाटो भएर भारतको लोहाघाट,चम्पावत लगाएतका बजारहरुबाट नुन तेल लगायतका सर-सामान बोकेर जिविकोपार्जन गर्थै। त्यो कालखण्डमा यस क्षेत्रबाट जाँदा भारतीय बजार नजिक पर्नेहुँदा यो बाटोमा धेरै चहलपहल हुने गर्थ्यो। यात्राबाट थाकेका सौका बटुवाहरु यहीँ ठाउँमा बिश्राम गर्ने र पानी पिएर तृप्त हुँनेहुँदा कालान्तरमा यो ठाउँको नाम नै सौकाको पानी रहन गएको भन्ने सुनिन्छ। हुनपनि यो ठाउँको जलाशयमा पाइने अमृत आनन्दले कसको प्याँस नमेटिएला र! हजारौँ बर्षौदेखि बग्दै आएको सौकाको पानीले यस ग्वाल्लेक वनका अनगन्ती प्राणिहरुलाई जीवन दान दिएको ज्युँदो इतिहास छ।
यस क्षेत्रमा पाइने दर्जनौ जङ्गली जडिबुटीहरुले पुर्खाहरुदेखि लिएर आजसम्म स्थानिय जनमानसको प्राण रक्षा गरेका छन्। दतौन्या र मछाइन जस्ता बिरुवाहरुले गाईवस्तु बाँध्ने किला बनाउन र अन्य बिरुवाहरुले दैनिक दिनचार्याका लागि आवस्यक पर्ने काठपात हलो,हल्यानो,गिरेठा,आदि जस्ता घरेलु औजार निर्माणमा निशुल्क सेवा निर्वाहको भुमिका खेल्दै आएका छन्। सौकाको पानीकै किनारका क्षेत्रहरुमा पाइने दुर्लभ वनस्पति ‘बडुवा’ जसका रसादार लामा (लोत)बोक्राहरुले हिजोका दिनहरुमा पुर्खाहरुले पाती बनाउनुको साथै विभिन्न प्रकारका कागजहरुको रुपमा प्रयोग गर्दै आईरहेको इतिहास अझैँ शेष छ।
यदि यो जङ्गलको बिचमा कुनै अन्जान व्यक्तिलाई छोडिदियो भने दुई /तिन दिनसम्म बाटो नै नपाउने यस्तो बाक्लो घनघोर पातलको गर्भमा अनेकौँ थरिका जङ्गली जनावरहरु आप्नो जीवनकाल व्यतित गरिरहेका हुन्छन्। जब सौकाको पानी ग्वाल्लेकको शिर्षबाट झरेर तल सिमारको गाड़ हुँदै महाकाली नदीमा मिसिन्छ तब यो शिवस्थलिमा साक्षात शिवको जडाबाट गङ्गा प्रवाह भएर धर्ती माताको काखमा बग्दैछिन् जस्तो दृष्यको साक्षात अनुभुति हुन्छ। हिजोको दिनहरुदेखि यो क्षेत्रमा गोठालाहरुले वस्तुभाउ चराउँदै, स्याउला सोत्तर गर्दै आएपनि एक गाउँबाट अर्कोगाउँ आवतजावत गर्न एक्लै यात्रा गर्न सबैले सक्दैन्थे तर हाल यो पानीको मुलकै फेदबाट लामालेक,मेलौली-जेबलकट्टे सडक सुचारु भएको छ। दैनिक रुपमा आन्तरिक पर्यटकहरु आवतजावत भएपनि जङ्गल फडानिको रोकथाम गर्न सकिएको छैन। स्थानिय सरकार र यहाँको जनसमुदायका युवावर्गले यो क्षेत्रको संरक्षण गर्नसके अझैँ पर्यटकिय तथा स्वच्छ हावापानीको दीर्घकालीन लाभ लिन सकिने छ।
.gif)