मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सपूतकी 'सकम्बरी' बारे


पश्चिम प्रेस
मंगलबार, वैशाख ५ २०८०
  • 760
    Shares

  • images
    images
    सपूतकी 'सकम्बरी' बारे
    'सकम्बरी' प्रकाश सपूतको एक व्यावसायिक लघु गीतिचलचित्र हो । जसमा एकातिर सामान्य सामाजिक चेतनाले बुझ्नेगरी मार्मिक रूपमा कथा प्रस्तुत गरेर व्यावसायिक रूपमा सफल बनाउने यत्न गरिएको छ भने अर्कातिर अधिकतर मान्छेको रुचि र चासोको विषय बनेको यौनलाई केन्द्रीयतामा राखेर यो चलचित्रको निर्माण गरिएको छ । यो भिडियोको कथानकले कताकता विद्या वालनको डर्टी पिक्चरसित समानता राख्छ भन्ने लाग्छ ।
     
    'सकम्बरी' पारिजातको चर्चित उपन्यास शिरीषको फूल उपन्यासबाट निर्मित नारी अस्मिताको बिम्ब हो । सपूतले यो म्युजिक भिडियोको शीर्षक नै सकम्बरी राखेकाले यो चर्चाको विषय बन्नु अस्वाभाविक रहेन । तर शिरीषको फूलभित्रकी सकम्बरी अभावग्रस्त नारीसमाजको प्रतिनिधित्व गर्दिनँ, आपेक्षिक रूपमा सहरिया, लगभग सम्भ्रान्त परिवारकै प्रतिनिधित्व गर्छे, तर ऊ यो चलचित्रका देखाइएझैँ आफूलाई रुन्चे नारीको रूपमा प्रस्तुत गर्दिनँ । यो चलचित्रकी सकम्बरी 'मोडल' बन्ने लालसाले सहर पसेकी छ । यद्यपि परिवार पालम्ला, पैसा कमाम्ला भन्ने अनेक सपनाहरू त्यहाँ देखाइएको छ । तर त्यसका लागि बाटाहरू अनेक हुँदाहुँदै पनि यस गीतकी सकम्बरी आफूलाई मोडलिङ जस्तो सौन्दर्यको व्यापारीकरणमा आफूलाई स्थापित गर्न लागेकी छ । जुन शिरीषको फूलकी सकम्बरीको आदर्शभन्दा नितान्त फरक छ । शिरीषकी फूलकी सकम्बरी नारी आफूलाई सुयोगवीरको आँखाबाट लामो कपाल भएका कारण सुन्दर भएको भनाउन चाहन्नँ र कपाल खुइल्याउँछे, यहाँकी सकम्बरी राम्रो बन्ने लालसाले अफर स्वीकारेर ब्युटी पार्लर जान्छे र गहना अनि सुन्दर परिधानमा सजिन्छे । शिरीषको फूलकी सकम्बरीको नारी अस्मिताको दरिलो बिम्बका अघिल्तिर यहाँकी सकम्बरी बहुत निरीह देखिएकी छे ।
     
    व्यावसायिक रूपमा गीत सशक्त बनेको छ नै । तर यसको विश्लेषण दुई आँखाबाट फरक तरिकाले हुन सक्ने देखिन्छ ।
     
    दाहिने आँखाबाट –
    यस भिडियो वा कथानकले नारीको पक्षबाट वकालत गरेको छ । नारी समाज पुरुषहरूको उपयोगितामा परेको छ, अपहेलनामा परेको छ । बाबुले छोडेर जानु, साहु र सहरिया धनाढ्यहरूको व्यवहार, चलचित्र या म्युजिक भिडियोका क्षेत्रका निर्माता एवं निर्देशकहरूको व्यवहारको मारमा सकम्बरी परेको देखाइएको छ । सकम्बरीले अन्तमा 'इज्जत नारीको मात्र जान्छ र ? पुरुषको किन जाँदैन ? पाप पुरुषलाई किन लाग्दैन ?' भन्ने प्रश्न पितृसत्तात्मक हैकमवादी प्रवृत्तिको प्रखर विरोधमा देखा परेको छ । घटनाहरू सामाजिक धरातलको यथार्थसित सामञ्जस्य राख्ने किसिमका नै छन्, तसर्थ यसको विरोध गर्नु आवश्यक छैन आदि । यो सामान्य आँखाहरूले देख्ने कुरा हो । प्रायः मान्छेहरूका दाहिने आँखा नै बढी सक्रिय हुन्छन् ।
     
    देब्रे आँखाबाट–
     
    के नारीहरू कुनै पुरुषको आश्रविना अघि बढ्नै सक्दैनन् ? छोरी नै छोरी पाएको निहुँमा बाबुले अर्की लिएर हिँडेपछि छोरीको काँधमा जिम्मेवारी आउँछ, तर फेरि छोरीलाई किन कुनै पुरुषको आड भरोसामा अनजान सहर पठाउनुपर्ने बाध्यता देखाइएको छ ? किन असुरक्षित छन् नारीहरू ? अनि विश्वास गरेर आफूसित आएकी फूलमायालाई सहयोग गरेको बहानामा गाउँले दाजुले प्रारम्भिक अवस्थादेखि नै कुदृष्टि राखेको कुरा गाडीमा चढ्दाखेरिको घटना र संवाददेखि नै छर्लङ्ग हुन्छ । सहयोग गरिरहँदा 'राम्री छे भनिदिएको छु' भन्ने अंशमा फूलमायाँ मख्ख परेके देखाइनुले नारीहरू रूपमा सुन्दर हुनु मेरिट हो भन्ने मान्यता किन स्थापित गर्न खोजिएको छ गीतबाट ? त्यही सुन्दर रूपलाई बेचेर नै तैँले जिन्दगी चलाउन सक्छेस् भन्ने किसिमको आशय किन प्रकट भएको छ सुरुमा नै ?
     
    आफू कुनै रेस्टुराँमा गीत गाउने कलाकारको रूपमा रहेको गाउँले दाजुले पनि सकम्बरीको यौनशोषण गरेको छ र उसमाथि अलिअलि गुन लगाएर एकाधिकार जमाउन खोजको छ । फेरि साहुले बलात्कृत गरेर पनि उसमाथि हैकम जमाउन खोजेका छ भने सहरिया धनाढ्यले पनि उसको फाइदा उठाएको नै छ । सुरुमा तिनै साहु धनाढ्यहरूसित नजिकिन उक्साउने गाउँले दाजु आफूबाट फूलमाया टाढिँदै गएपछि किन कुन्ठित बन्छ ? ऊ आफ्ना अघि फूलमाया विचरीको रूपमा सधैँ प्रस्तुत रहोस्, बरू आफूले गरेका गतिविधिहरूलाई गर्वका साथ होइन निरीहताका साथ प्रस्तुत गरोस् भन्ने चाहन्छ ?
     
    जसले फूलमायाको बाध्यतालाई अवसरको रूपमा प्रयोग गरेका छन्, तिनले हरेकले उसमाथि हैकम जमाउन खोजेको प्रस्ट हुन्छ । गाउँले दाजु, सहरिया धनाढ्य र निर्देशक आदि यसका प्रतिनिधि पात्र मात्र हुन् । नारीहरूलाई अलिअलि गुन, अलिअलि सहयोग र अलिअलि लालसा देखाएर आफ्नो निजी उपभोग्य वस्तुको रूपमा स्थापित गर्नु पितृसत्तात्मक चिन्तनको पराकाष्ठा नै हो । अन्तिममा गएर नारी अस्मिताको बचाउ गरेको देखाए पनि त्यसलाई बाध्यताको रङ्ग दिइएको छ । तिमीहरूले नै मलाई यस बाध्यतामा पारेका त हौ नि, भन्ने भनाइले नारीहरू आत्मरक्षाको सङ्घर्ष गर्न सक्दैनन् भन्ने गलत भाष्य स्थापित गर्न खोजेको छ यस गीतले ।
     
    झट्ट हेर्दा दाहिने दृष्टिको विचारसित धेरैको सहमति रहन्छ । किनकि धेरैजसोले स्थापित विचारलाई नै पछ्याएका हुन्छन् । किनकि त्यसो गर्नु सजिलो हुन्छ । 'वाह, क्या राम्रो, मन छुने, मार्मिक' भन्न सजिलो हुन्छ । तर यस्ता विचारले नारीहरूलाई उपभोग्य र पुरुषहरूलाई उपभोक्ताको रूपमा क्रमिक रूपमा स्थापित गरेको छ नै ।
     
    शिरीषको फूल उपन्यास हो । त्यो पनि स्तरीय पाठकका लागि लेखिएको किताब हो । जो विश्वविद्यालयीय स्तरहरूमा विज्ञ प्राध्यापकहरूबाट विश्लेषणका साथमा पढाइन्छ । यसमा नारी अस्मिताको चिन्तन कसरी प्रस्तुत भएको छ ? बुझाइन्छ ।
     
    प्रकाश सपूतको गीत त्यस्तो होइन । यसमा आलोचनात्मक दृष्टि सबैले पाउँदैनन् । यसले जनस्तरमा नै प्रभाव पारेको हुन्छ । हुन त नेपाली लोकगीतहरूदेखि चलचित्रका गीत, सुगम सङ्गीत, बलिउडका 'मैँ तो तन्दुरी मुर्गी हुँ यार घुट्काले सैयाँ अल्कोहलसे' जस्ता स्तरहीन तर सुपरहिट गीतहरूले नै बजार तताएका हुन्छन् । जनस्तरमा तिनीहरूको नै प्रभाव रहन्छ । सपूतको यो गीतले पनि जनस्तरमा नारीहरूलाई बिचराको रूपमा स्थापित गर्छ । अझ महत्त्वपूर्ण कुरा त के भने अधिकांश सामान्य स्तरबाट फूलमायाले नै गाली खान्छे गाउँले दाजुलाई धोका दिएको नाउँमा । 'जे पनि गर्नी ? इज्जतै फाल्दिनी ?' जस्ता कुरालाई अधिकांशले 'हो त नि !' भन्ने तवरबाट स्वीकृति दिएका हुन्छन् । गीतको बाह्य तहमा नारी अस्मिताको पक्षधरता देखिए पनि प्रभावोत्पादकता चाहिँ त्यसको विपरीत धारतर्फ गएको देखिन्छ । यो गीत हेरेर प्रभावित हुने गाउँले आमाहरूलाई छोरीहरूलाई सहर पठाउन डर लाग्नेछ झन् झन् । नारी सशक्तीकरणको उल्टो दिशातर्फ गएको देखिन्छ गीत कताकता । पुरुषको पनि इज्जत हुन्छ भन्ने प्रश्न बडो जायज छ, तर पुरुष र महिला समान रूपमा अराजक हुँदा फरक पर्दैन भन्ने मान्यता चाहिँ कताकता स्थापित हुँदै गएको छ कि ? भन्ने डर छ ।
     
    प्रकाश सपूत हुन्, उनले जानेका छन्, विवाद गर्ने ठाउँ दिनु व्यावसायिक सफलताको एउटा महत्त्वपूर्ण सूत्र हो । उनी प्रायः गीतहरूमा यस्तै मुद्दाहरू उठाउँछन् । सफल हुन पनि कहाँ सजिलो छ र ?


    प्रतिक्रिया दिनुहोस